शनिबार, साउन १२, २०८१
03:10 | ०७:५५

यतीको नेपाल हाउस परियोजना अघि बढ्दै, मोक्तानको नेतृत्वमा गठन भयो संयोजन समिति

नेपाली लिङ्क जुलाइ १७, २०२३

लन्डन। बेलायतकै पहिलो नेपाली संस्था यती नेपाली एशोसिएसनले आफ्नो भवन खरिदको प्रक्रियालाई अब गति दिने भएको छ।

संस्थाकी अध्यक्ष पिपला देवानको अध्यक्षतामा आइतबार सम्पन्न कार्यसमिति, सल्लाहकार र ट्रस्टीहरु समेतको संयुक्त बैठकले यती नेपाल हाउस संयोजन समिति गठन गरेको छ। 

संस्थाका पूर्व अध्यक्ष उमेशराज मोक्तानको संयोजकत्वमा गठित सामितिलाई भवन स्थापनासम्बन्धि सम्पूर्ण अधिकार प्रदान गरिएको छ।  

समितिको सदस्यसचिवमा आरके त्रिपाठी र सदस्यहरुमा पिपला देवान, टंक भट्टराई, भिम तामाङ, डा श्याम चन्द, काउन्सिलर लक्ष्य गुरुङ, विजय थापा र अन्य एक जना ट्रष्टीबाट रहने निर्णय गरिएको छ।

नवगठित समितिका संयोजक मोक्तानले नवगठित समितिका संयोजक उमेश मोक्तानले छिट्टै पूर्ण बैठक बोलाउने र ‘एक्सन प्लान’ बनाएर काम शुरु गर्ने जानकारी दिए।

बैठकका सहभागीहरुले यती नेपाल हाउसको मोडलसम्बन्धी आआफ्ना धारणा गरेका थिए।  

सोही क्षेत्रमा लामो अनुभवी सल्लाहाकार डा श्याम चन्दले विभिन्न सम्भावनाहरुबारे चर्चा गरेका थिए।  ग्रीनवीच बरो उपमेयर काउन्सिलर जीत रानाभाट र काउन्सिलर लक्ष्य गुरुङले काउन्सिलबाट प्राप्त हुन सक्ने सम्भावित आर्थिक श्रोत र अन्य सहयोगबारे जानकारी गराएका थिए। 

यति लण्डन वेलफेयर ट्रस्टसँग  हालसम्म १ लाख ७३ हजार पाउण्ड जम्मा भएको र उक्त रकम यति नेपाल हाउसमा लगानी गर्न ट्रस्टीहरुले सहमति जनाएका छन्। ट्रष्टीहरुले नेपाल हाउसको लागि प्रस्ताव आएपछि प्रक्रियागत रुपमा रकम उपलब्ध गराउने प्रतिबद्धता गरेका थिए। 

यती लन्डन वेल्फेयर ट्रस्टको विधान परिवर्तन गरी एशोसिएसनका अध्यक्ष र अर्को एक जना ट्रस्टको पदेन सदस्य रहने व्यवस्था गर्न ट्रस्टीहरुलाई सुझाव दिइएको छ। 

त्यसैगरी, संस्थाका आर्थिक कारोबारहरु अडिट गराउने तथा अधिकतम कारोबार बैंकिङ् प्रणालीबाटै सञ्चालन हुने व्यवस्था मिलाउन अध्यक्ष देवान र ट्रस्टी विजय थापालाई जिम्मेवारी तोकिएको छ ।  

त्यस अवसरमा सल्लाहकार तथा ट्रस्टी डा राघव धितालले संस्थाले विगतदेखि वर्तमानसम्म गरेका कार्यहरुबारे जानकारी गराएका थिए । पूर्व महासचिव एवम् ट्रष्टी सुरेशजंग शाहले संस्थाका पछिल्ला गतिविधिले नेपालीपन बढाएको भन्दै वर्तमान कार्यसमितिले प्रशंसायोग्य काम गरेको बताए। ट्रष्टी विजय थापाले अहिले सम्म गरिएका प्रयासहरुबारे जानकारी गराएका थिए।  

अध्यक्ष देवानले बैठकमा उपस्थित ट्रस्टी, सल्लाहकार एवम् कार्यसमितिका पदाधिकारीलाई धन्यवाद ज्ञापन गरिन्।  संस्थाले नेपाली कला, भाषा संस्कृतिको जगेर्ना गर्न विभिन्न कार्यक्रमहरु गरिरहेको उनले जानकारी दिइन्।  

सो अवसरमा यती नेपाली एशोसिएसन यूके भिजन २०२४ कार्यशाला गोष्ठी पनि भएको थियो ।

कार्यक्रम संचालन गर्दै  संस्थाका महासचिव टंक भट्टराईले छलफलमा एजेण्डाहरु प्रस्तुत गरेका थिए ।

झन्डै ४ घण्टा चलेको गोष्ठीका निर्णयहरु महासचिव भट्टराईले एकत्रित गरेर प्रस्तुत गरे । करिव पांच महिना अघि कार्यभार सम्हालेको कार्यसमितिले ४ वटा मुख्य बैठक, २ वृहत कार्यक्रम अनि लगभग १० भन्दा बढी सानातिना अनौपचारिक छलफल गरिसकेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू