शनिबार, साउन १२, २०८१
06:30 | ११:१५

लन्डनमा मेयर बालेनका प्रतिनिधि र उपमेयर रानाभाटबीच अन्तरक्रिया, सहकार्यबारे छलफल

नेपाली लिङ्क जुलाइ १४, २०२३


लन्डन- बेलायत भ्रमणमा आएको काठमाडौं महानगरको प्रतिनिधिमन्डलले लन्डनको रोयल ग्रीनवीच बरोका उपमेयर जीत रानाभाटसँग अन्तरक्रिया गरेको छ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) का स्वकीय सचिव नवीन भन्डारी नेतृत्वको महानगर टीम र उपमेयर रानाभाटबीच विहीबार बेलुका प्लमस्टिडस्थित नेपाल हाउसमा अन्तरक्रिया भएको हो।

त्यसअवसरमा दुई नगरबीचको भगिनी सम्बन्ध स्थापना, बेलायतमा नेपाली कला, संस्कृति प्रवर्द्धनलगायतका विषयमा सकारात्मक छलफल भएको अन्तरक्रिया पहलकर्ता एनआरएनए यूके युवा संयोजक उम्मेदवार वीरेन्द्र नेपालले जानकारी दिए।

उनीहरुबीच काठमाडौँ महानगरले प्रवर्द्धन गर्ने कुकुर तिहार पर्वदेखि बेलायतमा नेपाली कला र मौलिकता झल्किने मन्दिर स्थापनामा दुई नगरले खेल्न सक्ने भूमिकाबारे पनि छलफल गरिएको थियो। 

महानगर टीमसँगको अन्तरक्रिया रोचक र उपलब्धिपूर्ण भएको  ग्रीनवीच बरोका उपमेयर रानाभाटले बताए। ‘देश-विदेशमा रहेका सम्पूर्ण नेपालीमाझ मेयर बालेन शाह र उहांको टीमले अहिले आशा जगाउने काम गरेको छ। उहांहरुको राम्रो कार्यमा हाम्रो सधैं सद्भाव रहन्छ’, उनले नेपाली लिंकसंग भने, ‘ग्रीनवीच बरोका तर्फबाट हुन सक्ने कुनै पनि सहकार्य र सहयोगका लागि हामी तत्पर र उत्साहित छौं।’ 

अन्तरक्रियामा मेयर बालेन शाहका स्वकिय सचिव नवीन भण्डारी, स्वस्थ शहर काठमाडौं परियोजना प्रमुख रश्मी सेढाईं र सञ्जीव पाण्डे सहभागी थिए।

त्यस्तै, ग्रीनवीच बरो उपमेयर रानाभाटसंगै बेलायतका नेपाली विद्यार्थीहरुको संगठन मर्जिङ नेपसक्स् अध्यक्ष पवन कंडेल, एनआरएनए स्कटल्यान्ड उपाध्यक्ष उम्मेदवार मनिष खत्रीलगायत बेलायतस्थित युवाहरुको पनि कार्यक्रममा सहभागिता थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू