शनिबार, साउन १२, २०८१
02:49 | ०७:३४

हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन

रासस जुलाइ ११, २०२३

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठक । तस्बिर- रासस

काठमाडौं, २६ असार–सरकारले मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले घटनाप्रति दुःख व्यक्त गर्दै छानबिन समिति गठन गरेको हो ।

मन्त्रिपरिषद्ले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सरकारको प्रवक्ता समेत रहेकी शर्माले भनिन्, “मेक्सिकोका नागरिकहरू बोकेको मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ, मन्त्रिपरिषद्ले सबै मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ, पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा एउटा छानबिन समिति गठन गरिएको छ ।”

आज बिहान सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको एयरको ९–एन–एमभी कलसाइन हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना हुँदा मेक्सिकोका पाँच जना यात्रु र एक नेपाली पाइलटको मृत्यु भएको थियो । दुर्घटनामा ज्यान गुमाएका सबै जनाको शव काठमाडौँ ल्याइएको छ ।

सोलुखुम्बुको सुर्केबाट बिहान काठमाडौँ उडान भरेको उक्त हेलिकोप्टर दिउँसो सोलुखुम्बुकै लिखुपिके गाउँपालिका–५ लाम्जुरापास नजिक दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

शवहरु काठमाडौं पठाइदैं । तस्बिर सिन्हवा

सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं ५ स्थित लाम्जुरापास क्षेत्रमा मङ्गलबार बिहान दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टर । हेलिकोप्टर दुर्घटनामा छ जनाको निधन भएको छ । तस्बिर सौजन्य- नेपाल नागरिक उड्डयन प्राधिकरण/रासस

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू