शनिबार, साउन १२, २०८१
02:17 | ०७:०२

वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. रुइतलाई लन्डन दूतावासमा सम्मान

नेपाली लिङ्क जुलाइ १०, २०२३


लन्डन- नेपाली राजदूतावास लन्डनमा आयोजित एक समारोहमा वरिष्ठ नेत्र रोग विशेषज्ञ डा सन्दुक रुइतलाई सम्मान गरिएको छ। दूतावाससंगको सहकार्यमा नेप्लिज डक्टर्स एसोसिएसन यूके (एनडीए यूके) द्वारा आइतबार आयोजित समारोहलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले डा. रुइतले नेपाल लगायत विश्वका विभिन्न मुलुकका विपन्न समुदायका व्यक्तिहरुको आँखाको शल्यक्रिया गरी उदाहरणीय मानवीय सेवा गरिरहेको स्मरण गरे। उनले डा रुइतले देशविदेशमा प्राप्त गरेको सम्मानले सम्पूर्ण नेपालीलाई गौरवबोध गराएको बताए  ।

एसोसिएसनका अध्यक्ष डा. कमल अर्यालले डा. रुइतको मार्ग निर्देशन र उत्प्रेरणाले गर्दा चिकित्सा शास्त्र पढाइ हुने दक्षिण पूर्वी एसियाकै सबैभन्दा पुरानो संस्था कोलकता मेडिकल कलेजमा अध्ययन गरेर चिकित्सक बनेको स्मरण गरे। उनले नेपालमा महाभूकम्प तथा कोभिड महामारीका बेला एसोसिएसनले पुराएको सेवाबारे पनि उल्लेख गरे। 

बेलायत निवासी समाजसेवी तथा व्यवसायी तेज कोहलीले डा. रुइत फाउन्डेशनसँगको सहकार्यमा पछिल्ला केही वर्षमा ५० हजार बिरामीको आँखाको सफल उपचार गरेको जानकारी दिए ।

उनले रुइत फाउण्डेसनसंग मिलेर आफ्नो फाउन्डेशनले सन् २०३० सम्ममा विकासशील मुलुकहरुमा बसोबास गर्ने झन्डै दश लाख मानिसको नेत्र परीक्षण गरी तीनदेखि पांच लाख बिरामीहरुको मोतियाबिन्दुको शल्यक्रिया गर्ने लक्ष लिएर काम गरिरहेको बताए। 

उक्त समारोहमा बोल्दै डा. रुइतले एउटा व्यक्तिको आँखाको उपचार हुँदा उनको स्वास्थ्य मात्रै नभै उनको पारिवारिक सम्बन्ध र आर्थिक अवस्थामा पनि सुधार आएको तथ्यलाई मार्मिकरुपमा प्रस्तुत गरे। उनले गरीब समुदायका व्यक्तिहरुको दृष्टि पुनर्बहाली गर्न सघाउन सबैलाई आग्रह पनि गरे। 

उक्त कार्यक्रमबाट उठेको सहयोग रकम रुइत फाउन्डेशनलाई प्रदान गरिने एनडीए यूकेले जनाएको छ। कार्यक्रमको संचालन एनडीए यूके कार्यसमिति सदस्य डा आरती हमालले गरेकी थिइन्।

यसै साता ब्रिटेनको एङ्ग्लिया रस्किन विश्वविद्यालयले डा रुइतलाई मानार्थ डक्टर इन साइन्स (डिएससी) को उपाधि प्रदान गर्न लागेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू