शुक्रबार, जेठ ४, २०८१
12:46 | १७:३१

साफ च्याम्पियनसिप फुटबलमा नेपालले पाकिस्तानलाई हरायो

रासस जुन २७, २०२३

काठमाडौं । भारतमा जारी १४औँ संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ ।

भारतको बैङ्गलोरस्थित कान्तिराव स्टेडियममा आज भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले पराजित गरेको हो । नेपालको जीतमा आशिष चौधरीले गोल गरे ।

उनले खेलको ८०औँ मिनेटमा गरेको एक गोल नै नेपालका लागि निर्णायक गोल सावित भयो । आशिषले पेनाल्टी क्षेत्र बाहिरबाट लाकेन लिम्बुको पासमा उत्कृष्ट गोल गरेका हुन् ।

समूह ‘ए’ मा रहेको नेपालको यो पहिलो जीत हो । नेपालले तीन खेलमा ३ अङ्क जोड्दै प्रतियोगिता टुङ्ग्याएको छ । यस जीतसँगै नेपाल अङ्क तालिकाको तेस्रो स्थानमा रह्यो । त्यस्तै पराजित पाकिस्तानले अङ्कविहीन रहँदै प्रतियोगिताको अन्त्य गरेको छ ।

पाकिस्तान अङ्क तालिकाको अन्तिम स्थानमा रह्यो । यस समूहबाट आयोजक भारत र कुवेत सेमिफाइनलमा पुगिसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू