शनिबार, जेठ ५, २०८१
06:47 | ११:३२

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु

रासस जुन १३, २०२३

मलेसियाबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा मङगलबार बिहान अवतरण गरिएको नेपाल वायु सेवा निगमको विमान । तस्बिर- राधेश्याम विश्वकर्मा/रासस

लुम्बिनी, ३० जेठ–गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १३ महिनापछि नेपाल वायुसेवा निगमले व्यावसायिक उडान सुरु गरेको छ ।
आज बिहान ९:४५ बजे निगमको एक सय ५८ सिट क्षमताको न्यारोबडी जहाज मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।
मलेसियाबाट ९० यात्रु बोकेर आएको राष्ट्रिय ध्वजावाहक जहाज भैरहवास्थित विमानस्थलमा ३१ जना यात्रु ओरालेर काठमाडौँका लागि उडान भरेको नेपाल वायु सेवा निगमका सहप्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिए । मलेसियामा रोजगारी गरी फर्केका र मलेसियाका पर्यटन व्यवसायीहरु भैरहवा विमानस्थलमा ओर्लिएको सहप्रवक्ता घिमिरेको भनाइ छ ।
भैरहवास्थित यस विमानस्थलमा नेपाल वायुसेवा निगमको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएकाले यात्रुहरुलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र राज्यमन्त्री सुशीला शिर्पालीले विमानस्थलमा स्वागत गरे ।
राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइनसको गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडानको शुभारम्भ गर्दै पर्यटन मन्त्री सुदन किरातीले यसको निरन्तरता चुनौतीपूर्ण भएको बताए ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विशेष निर्देशनमा व्यावसायिक उडान सुरु भएकाले यसको नियमितताका लागि सरकारी तथा निजी क्षेत्र सबै लाग्नुपर्ने बताए ।
उनले नेपाल एयरलाइन्सलाई आगामी दिनमा स्थायित्व, प्रभावकारी सञ्चालन र बजारीकरणका लागि प्रचारप्रसारमा जोड दिन निर्देशन दिए । “बुद्व सर्किटकै बजारीकणका लागि यो विमानस्थल निर्माण भएको हो । भैरहवाबाट पनि जहाज उडान सकिन्छ भन्ने विश्वास दिलाउनु पर्छ”, उनले भने, “यस विमानस्थलबाट दिल्लीलगायत अन्य गन्तव्यमा पनि उडान गर्ने प्रयास जारी छ ।”
मन्त्री किरातीले निगमलाई पूर्ण व्यावसायिकरुपमा सञ्चालन गर्न र दुर्गमका जनतालाई समेत सेवा प्रदान गर्न नयाँ जहाज किन्नुपर्ने आवश्यकता रहेको बताए । उनले सरकारले निगमका लागि पारदर्शी ढङ्गले जहाज किन्ने प्रक्रियामा रहेको बताए । उनले दुर्गम क्षेत्रमा सेवा दिनका लागि घाटा भए पनि जहाज किन्नुपर्नेमा जोड दिए ।
मन्त्री किरातीले प्रधानमन्त्री दाहालको हालैसम्पन्न भारत भ्रमण इतिहासमा कोशेढुङ्गा साबित भएको बताउँदै यस्तो ऐेतिहासिक सफलतालाई ओझेलमा पार्ने प्रयास भएको बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री सुशीला सिर्पालीले लुम्बिनी प्रदेशको पहिचान, धरोहर, बुद्वलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले  विमानस्थल निर्माण भएकाले यसको नियमित व्यावसायिक सञ्चालनमा सरकारको जोड रहेको बताए ।
उनले विमानस्थत नियमित सञ्चालन नहुँदा धेरै तर्फबाट प्रश्न उठेको बताउँदै सञ्चालन निरन्तरता हुन नसक्नुमा राजनीतिक अस्थिरतापनि मुख्य रहेको बताए ।
कार्यक्रममा पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र नं ३ का सङ्घीय सांसद दीपक बोहोराले राष्ट्रिय ध्वजावाहक जहाजले व्यावसायिक उडान सुरु गर्दा गौतमबुद्ध विमानस्थलको प्रभावकारी सञ्चालन हुनेमा आशा पलाएको बताए ।
उनले त्रिभुवन विमानस्थलबाट हुने हरेक अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीलाई एक–एक उडान भैरहवाबाट गर्नुपर्ने नीति बनाउन सरकारलाई सुझाव दिए ।
मन्त्रालयका सचिव सुरेश अधिकारीले मलेसिया उडानको सुरुआत हुनु महत्वपूर्ण उपलब्धि रहेको बताए । उनले महेन्द्रनगर नाकाबाट अवतरण गर्ने प्रक्रियाका लागि सरकारका तर्फबाट प्रयास भइरहेको बताउँदै अन्य विमान सेवा कम्पनीलाई यस विमानस्थलबाट उपलब्ध हुने सेवा र रूटसँग सम्बन्धित विषयमा आश्वस्त पार्नुपर्ने बताए ।
सचिव अधिकारीले भैरहवा क्षेत्रका पर्यटन व्यवसायीको मागबमोजिम आगामी आर्थिक वर्षदेखि भैरहवामा पर्यटन बोर्डको शाखा स्थापना गरी सेवा सञ्चालन हुने जानकारी दिए ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगममा जहाज थपिएपछि व्यावसायिकरूपले नियमित उडान गर्न सकिने बताए । उनले लुम्बिनीबाट बुद्ध धर्मालम्बी भएका मुलुकलाई जोडन भैरहवाको उडानलाई नियमित गर्नु आवश्यकता रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका लुम्बिनी प्रदेश संयोजक कृष्णप्रसाद शर्माले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन हुन नसक्दा  निजी क्षेत्र विस्थापित हुने अवस्थामा पुगेको गुनासो गरे । विमानस्थल निर्माण गर्दा सरकारले रु ४० अर्ब र विमानस्थललाई हेरेर निजी क्षेत्रले रु ८० अर्बभन्दा बढी लगानी गरेको उनको भनाइ छ ।
विसं २०७९ जेठमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थल उद्घाटन गरेका थिए । तत्कालीन समयमा निगमका न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरे पनि व्यावसायिक उडान भने कुबेतको अल जजिरा एयरलायन्सले गरेको छ ।
जजिरापछि हिमालय एयरलायन्सले कात्तिकमा मलेसियाको चार्टर उडान गरे पनि हाल यी दुवै कम्पनीका जहाजले नियमित तथा चार्टर उडानलाई निरन्तरता दिन सकेका छैनन् ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू