आइतबार, जेठ ६, २०८१
00:32 | ०५:१७

लण्डन दूतावासमा कीर्तिमानी सगरमाथा आरोहीहरु सम्मानित

नेपाली लिङ्क जुन १३, २०२३


लन्डन । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मानिसले पहिलोपटक पाइला टेकेको ७० वर्ष पुगेको अवसरमा लन्डनस्थित नेपाली दूतावासले विभिन्न आरोहीलाई सम्मान गरेको छ ।

दूतावासमा सोमबार सांझ आयोजित विशेष समारोहमा सगरमाथा आरोहणबाट कीर्तिमान राखेका ब्रिटिश र नेपाली आरोही सम्मानित भएका हुन् ।

ब्रिटिस गोर्खा सेनामा कार्यरत रहँदा युद्ध मैदानमा दुवै खुट्टा गुमाएपछि पनि कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका हरि बुढामगर, १७ पटक सगरमाथा आरोहण गर्ने बेलायती नागरिक केन्टन कुल, सगरमाथा चढ्ने पहिलो ब्रिटिश महिला रेबेका स्टेफेन्स, सबैभन्दा कम अवधि ६ महिना ६ दिनमा संसारका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाएका निर्मल पूर्जा निम्स दाई आदि सम्मानित भएका हुन् ।

सन् १९५३ मे २९ तारिखका दिन दुई साहसी पर्वतारोही नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमन्ड हिलारी सगरमाथाको चुचुरोमा पुगेका थिए । 

कार्यक्रममा स्वर्गीय तेञ्जिङ नोर्गेका सुपुत्र जेम्लिङ तेञ्जिङ र हिलारीका छोरा पिटर हिलारी, छोरी सारा हिलारी, उक्त आरोहणको नेतृत्व गरेका ब्रिटिश नागरिक कर्णेल जोन हन्टकी छोरी सु लेडेन आदिलाई पनि सम्मान गरियो । 

बेलायती राजपरिवारका सदस्य डुक अफ ग्लोस्टर एवं राजदूत ज्ञानचन्द्र आचार्यले उनीहरुलाई सम्मान गरेका हुन् । 

कार्यक्रममा पिटर, सारा र जेम्लिङले आफ्ना पिताले सगरमाथा आरोहण गर्दाको अवस्था चित्रण गर्दै उनीहरुले विश्व कीर्तिमान मात्र नराखी विश्व आरोहीका लागि सदैव प्रेरणाश्रोत बनेको जनाए । उनीहरुले जलवायू परिवर्तनको मार खेपिरहेको सगरमाथाको संरक्षण गर्नु नेपालको मात्र नभइ विश्वकै जिम्मेवारी भएको पनि उल्लेख गरे । 

आरोहीहरु हरि बुढामगर, केन्टन कुल र रेबेका स्टेफन्सले सगरमाथा आरोहण गर्दाको अनुभव सुनाए । आरोही हरि बुढामगरले कयौं चुनौतीलाई दृढ इच्छाशक्तिले जित्दै सफलता प्राप्त गरेको बताए। 

दुवै खुट्टा नभएका कारण आरोहण अनुमति नपाएपछि नीति परिमार्जन गराउन सर्वोच्च अदालतमा मुद्धा नै लड्नु परेको अनुभव उनले सुनाए।

सो अवसरमा ‘ड्युक अफ ग्लस्टर’ ले हिमालहरुको संरक्षण नेपालको मात्रै दायित्व नभएको भन्दै सारा विश्व यसप्रति प्रतिवद्ध बन्नुपर्ने बताए ।  

नेपाल भ्रमणका क्रममा हिमाली क्षेत्रमा पदयात्रा गर्दाका आफ्ना अविस्मरणीय क्षणहरु पनि उनले सुनाए।

बेलायतको विदेश मन्त्रालयकी डेपुटी डाइरेक्टर माया सिभगननमले बेलायत नेपाल द्विपक्षीय सम्बन्ध र गोर्खा योगदानको चर्चा गर्दै ब्रिटेन नेपालको प्रमुख विकास साझेदार रहेको स्मरण गरिन् । 

कार्यक्रमका सहभागीलाई स्वागत गर्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले सगरमाथा आरोहणको ७० वर्षलाई उपलब्धि मात्र नभइ प्रेरणाको अवसरका रुपमा पनि मनाउनुपर्ने धारणा राखे ।  

राजदूत आचार्यले पछिल्लो समय हिमालहरुमा पर्यावरणीय असरका कारण विभिन्न प्रकोप बढ्दै गएकोतर्फ सबैको ध्यान जान जरूरी रहेको उल्लेख गरे।

दूतावासकी नियोग उपप्रमुख रोशन खनालले सञ्चालन गरेको  उक्त कार्यक्रममा तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारी सगरमाथाको चुचुरोमा पुग्दाको ऐतिहासिक भिडियो प्रदर्शन गरिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू