आइतबार, जेठ ६, २०८१
03:37 | ०८:२२

‘एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार’ का लागि सिफारिस समिति चयन

नेपाली लिङ्क जुन १२, २०२३


लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले वर्षेनी प्रदान गर्दै आएको ‘एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार’ का लागि सिफारिस समिति चयन गरिएको छ ।

जुलाई ९ तारिख अल्डरसटमा आयोजना हुने शाखाको १२ औं वार्षिकोत्सव तथा च्यारिटी कार्यक्रमको अवसरमा प्रदान गरिने यस वर्षको पुरस्कारका लागि शाखाले डा बच्चुकैलाश कैनीको संयोजकत्वमा तीन सदस्सीय सिफारिस समिति गठन गरेको छ ।

शाखाको शुक्रबार बसेको बैठकले डा कैनी संयोजक तथा नवीन पोखरेल र लक्ष्मी राई ‘लारा’ सदस्य रहेको पुरस्कार सिफारिश समिति गठन गरेको महासचिव नरेन्द्र बस्नेतले जानकारी दिए ।

समितिका संयोजक डा कैनीसँग बेलायतको राष्ट्रिय स्वास्थ सेवा (एनएचस) व्यवस्थापन, राजनीति, साहित्य र प्राध्यापनको अनुभव छ। डाटफोर्ड काउन्सिलका पूर्व काउन्सिलर उनले विगतमा लेबर पार्टीबाट बेलायतको संसदीय निर्वाचन लडेका थिए । उनी पत्रपत्रिकामा नियमित रुपमा लेखिरहने पनि गर्दछन् भने उनका पुस्तकहरू पनि प्रकाशित छन् ।

त्यस्तै, समितिका सदस्य पोखरेल दुई दशकभन्दा लामो समयदेखि नेपाली पत्रकारितामा सक्रिय छन् । कान्तिपुर दैनिकका बेलायत संवाददाता तथा बेलायतबाट सञ्चालित नेपालीलिंकका प्रधान सम्पादक उनी नेपाल पत्रकार महासंघ बेलायतका संस्थापक अध्यक्ष पनि हुन् । उनले गत वर्ष एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार समेत प्राप्त गरेका थिए।

पुरस्कार सिफारिश समितिकी अर्की सदस्य लक्ष्मी राई (लारा) पेशाले सोसल वर्कर हुन् । युनिभर्सिटी कलेज लण्डन (युसीएल) बाट शिक्षा विषयमा स्नातकोत्तर गरेकी लारासित साहित्य र च्यारिटीमा लामो अनुभव छ । उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतकी पूर्व अध्यक्ष हुन् ।

महासचिव नरेन्द्र बस्नेतका अनुसार शाखाले पुरस्कारका लागि जुन मसान्तभित्र आवेदन तथा सिफारिशहरु संकलन गर्नेछ । संकलित आवेदनहरुमध्ये सिफारिश समितिको सिफारिशका आधारमा विजेता छनोट गरी पुरस्कार वितरण गरिनेछ।

५ सय दुई पाउण्ड नगदसहितको एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार यसअघि सन् २०२१ मा श्रीभद्र खनाल तथा सन् २०२२ मा नवीन पोखरेल र खेमराज रानाभाटले संयुक्त रुपमा प्राप्त गरेका थिए ।

बेलायतमा कार्यरत नेपाली पत्रकारहरुलाई गहन र खोजी पत्रकारिता गर्न प्रोत्साहन गर्ने उद्देश्यले शाखाले वार्षिक रुपमा यो पुरस्कार प्रदान गर्दै आएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू