आइतबार, जेठ ६, २०८१
03:28 | ०८:१३

एनआरएनए यूके अध्यक्षमा हित काजी गुरुङको उम्मेदवारी घोषणा

नेपाली लिङ्क जुन १०, २०२३


लन्डन । तमुधिं यूकेका निवर्तमान अध्यक्ष हित काजी गुरुङले एनआरएनए यूके अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

शनिबार साँझ अल्डरसटमा एक औपचारिक घोषणासभा गरी उनले आफ्नो ‘शक्ति प्रदर्शन’ सहित सन् २०२३-२५ कार्यकालको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन्।

एनआरएनए आइसीसीका वर्तमान अध्यक्ष कुल आचार्य, एनआरएनए यूकेका पूर्व अध्यक्ष योगेन क्षेत्रीसहित काउन्सिलरहरु, थुप्रै एनआरएनए अभियन्ता तथा संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मी उपस्थित कार्यक्रममा अध्यक्ष प्रत्यासी गुरुङले एनआरएनए यूकेमा केही गरेरै छोड्ने अठोटसहित आफू अध्यक्षको उम्मेदवार बन्ने निचोडमा पुगेको सुनाए ।

‘मैले अहिले नै यो गर्छु, त्यो गर्छु भनेर नेताले जस्तो धेरै प्रतिबद्धता गर्न चाहन्न । तर बेलायतवासी नेपालीहरुले मलाई साथ, सहयोग दिनुहोस्, एनआरएनए यूकेको अध्यक्ष बनाउनुहोस् । अनी गतिलो काम गरेर देखाउनेछु’, उनले भने ।

एनआरएनए यूकेलाई सहि दिशामा लैजान सक्छु भन्ने पूर्ण आत्मविश्वास आफूमा रहेको गुरुङले बताए । उनले भने, ‘एनआरएनए यूके समस्यारहित छैन । तर कतिपयले बुझेजस्तो दुईवटा वा विभाजित भन्ने हैन । संस्थामा हामीले सिस्टमलाई मान्नुपर्छ । जुन सिस्टमअनुसार चलेको छ, उसैलाई हामीले मान्ने हो।’

गैरआवासीय नेपालीका लागि नेपाल सरकारले व्यवस्था गरेको एनआरएनए नागरिकतालाई सकारात्मक मान्न सकिने तर वंशजकै नागरिकता हुनुपर्छ भने मुख्य मागको पक्षमा पहल जारी राख्नुपर्ने गुरुङले बताए ।

सो अवसरमा एनआरएनए आइसीसीका अध्यक्ष कुल आचार्यले एनआरएनए यूकेको अध्यक्ष प्रत्यासी गुरुङलाई आफूले काम गरेर देखाउन सक्ने अभियन्ताका रुपमा चिनेको बताए । शुभकामना दिंदै अध्यक्ष आचार्यले गुरुङले एनआरएनए यूकेको हितमा काम गर्न सक्ने विश्वास व्यक्त गरे ।

त्यस अवसरमा एनआरएनए यूके पूर्व अध्यक्ष योगेन क्षेत्री, लन्डनको ग्रीनवीच बरोका उपमेयर जीत रानाभाट, एनआरएनए यूकेका पूर्व प्रमुख संरक्षक शेर सुनार, तमुधिं यूके अध्यक्ष हरि गुरुङ, आदिवासी जनजाती महासंघ बेलायतका अध्यक्ष कर्मा पहाडी शेर्पा, अन्तरराष्ट्रिय पर्वत समाजका निवर्तमान अध्यक्ष पुरन गिरी, सहारा यूके अध्यक्ष ले. कुसाङ गुरुङ, काउन्सिलर जीव बेल्वासे लगायतले एनआरएनए अध्यक्ष प्रत्यासी गुरुङलाई शुभकामना दिएका थिए ।

आगामी जुलाई २२ लाई तोकिएको एनआरएनए यूके निर्वाचनमा अध्यक्षमा उम्मेद्वारी घोषणा गर्ने गुरुङ नै पहिलो हुन्।

तस्विर- मिलन तमु/ सपनकुमार राई

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू