आइतबार, जेठ ६, २०८१
00:32 | ०५:१७

बेलायतका लागि नेपाली राजदूतले बुझाए आयरल्याण्डका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र

नेपाली लिङ्क जुन ८, २०२३

लन्डन । आयरल्याण्डका लागि समेत राजदूत रहेका बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले आयरल्याण्डका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

राजदूत आचार्यले बिहीबार विशेष समारोहबीच राष्ट्रपति माइकल डी हिगिन्ससमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका दूतावासले जनाएको छ ।

डब्लिनस्थित राष्ट्रपति कार्यालयमा ओहोदाको प्रमाणपत्र ग्रहणपश्चात राष्ट्रपति हिगिन्सले राजदूत आचार्यलाई बधाई दिंदै सफल कार्यकालको शुभकामना दिए ।

राष्ट्रपति हिगिन्सले आचार्यको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझै प्रगाढ हुने विश्वास समेत प्रकट गरे ।

समारोहमा राजदूत आचार्यले राष्ट्रपतिको सुस्वास्थ्य र आयरल्याण्डका जनताको उत्तरोत्तर प्रगतिका लागि नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सन्देश सुनाएका थिए ।

राष्ट्रपति हिगिन्सले पनि नेपालको शान्ति तथा राष्ट्रपति र नेपाली जनताको उत्तरोत्तर प्रगति एवं सुस्वास्थ्य र सम्बृद्धिको कामना गरेका थिए ।

राजदूत आचार्यले कोभिड महामारीका बेला आयरल्याण्डले नेपाललाई पुरयाएको सहयोगको प्रशंसा गर्दै नेपालको राजनीतिक, सामाजिक र आर्थिक विकास तथा वर्तमान सरकारका विकास प्राथमिकताबारे अवगत गराए ।

शिक्षा, सूचना प्रविधि तथा पर्यटनका माध्यमबाट नेपाल र आयरल्याण्डबीच अझै मजबुत सम्बन्ध बनाउन सकिनेमा पनि दुवै सहमत भएका छन् ।

उनीहरुबीच आयरल्याण्डमा रहेका नेपाली समुदायले गरेको योगदानबारे पनि कुराकानी भएको दूतावासको विज्ञप्तिमा छ ।

सो अवसरमा राजदूत आचार्य, धर्मपत्नी सुनिता आचार्य र दूतावासका द्वितीय सचिव रामबाबु नेपाल समेत उपस्थित थिए ।

तस्विर- नेपाली दूतावास लन्डन

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू