आइतबार, जेठ ६, २०८१
04:15 | ०९:००

लण्डनका वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहलाई स्वर्ण पदक

नेपाली लिङ्क जुन ७, २०२३

सुरेशजङ्ग शाह

लण्डन- बेलायतको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेले परिषद्का संस्थापक वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहलाई ‘एनएलडिसी स्वर्ण पदक’ द्वारा सम्मान गर्ने निर्णय गरेको छ ।

परिषद्का वरिष्ठ सल्लाहकार डा. राघवप्रसाद धिताल ‘ओबीइ’ प्रमुख निर्णायक रहेको पुरस्कार छनोट समितिको निर्णय अनुसार परिषद्का अध्यक्ष कोमल मल्लको अध्यक्षतामा बसेको परिषद्को बैठकले अनुमोदन गरी आगामी जुलाईमा हुने ११०औ भानु जयन्तीका अवसरमा शाहलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । आगामी जुलाईमा परिषद् स्थापना भएको २८ वर्ष पुरा हुँदैछ ।

परिषद्को स्थापनाकाल सन् १९९५ मा नै स्थापना गरिएको २४ क्यारेटको एक तोला सुन र पाँच तोला शुद्ध चाँदीमा बनेको स्वर्ण पदक परिषदमा आवद्ध भएर साहित्य सिर्जना र सेवाले विशिष्ट योगदान पुरयाएका सर्जकहरूलाई दिने गरिएको छ । नगद लिन चाहे जुनसुकै बेला एक लाख रूपिया परिषदबाट लिन सक्ने प्रावधान पनि परिषदमा छ । 

यस अघि एनएलडिसी स्वर्ण पदक पुरस्कार सन् २००५ मा साढे दश वर्षको उमेरमा नै ‘गार्डेन अफ फ्लावर’ र ‘रोजेज् एण्ड पेटल्स्’ नामक दुई कवितासङ्ग्रह प्रकाशित गर्ने प्रतिभाशाली बाल कवियित्री प्रेरणा थापालाई प्रदान गरिएको थियो ।

यसैगरी सन् २००९ मा वरिष्ठ कवि कोमल मल्ल र कवि तथा गीतकार घनबहादुर थापालाई, सन् २०१६ मा कवि तथा समाजसेवीद्वय ध्रुव केसी र हिरिविभोर कार्की र सन् २०१७ मा परिषद्को नेपाल च्यप्टरका प्रमुख सल्लाहकार वरिष्ठ कवि गोपाल पराजुलीलाई प्रदान गरिएको थियो ।

बेलायतमा तीन दशक बढी समयदेखि नेपाली साहित्य, पत्रकारिता र समाजसेवामा सक्रिय वरिष्ठ साहित्यकार तथा समाजसेवी सुरेशजङ्ग शाहका डेढ दर्जन कथा, कविता, नाटक, उपन्यास, जीवनीका मौलिक कृतिहरू प्रकाशित छन् भने फुटकर लेख रचना र पुस्तक समालोचना पनि विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन् ।

शाहका रचनाका तीन दर्जन भन्दा बढी गीत रेकर्ड भएर नेपाल तथा बेलायतमा रहेका विभिन्न कलाकारले गाएका छन् । 

सन् १९९२ मा बेलायत आए लगत्तै शाहले सगरमाथा टाइम्स पत्रिका प्रकाशन सम्पादन आरम्भ गरेर सन् १९९६ सम्म सम्पादक बनेका थिए । इन्टरनेट आइनसकेको त्यो जमानामा नेपालका समाचार बेलायतमा रहेका नेपाली समुदायको घरदैलोमा पुरयाउन उक्त पत्रिकाको महत्त्वपूर्ण योगदान थियो ।  

शाहले सन् १९६० मा स्थापना भएको यती नेपाली एसोसिएसन यूकेको संस्थागत पत्रिका ‘यती पत्र’ को सन् १९९४ देखि सन् २००६ सम्म प्रधान सम्पादक भएर त्रैमासिक रुपले नियमित प्रकाशन गरे ।

यसैगरी सन् १९८६ मा स्थापना भएको कोसेली नेपाली सांस्कृतिक परिवार यूकेको संस्थागत पत्रिका ‘कोसेली ‘ को सन् २००३ देखि सन् २००६ सम्म प्रधान सम्पादक भए उनी । 

शाहले सन् २००३ देखि सन् २००४ सम्म ‘लन्डन पोष्ट’ म्यागेजिन र यस अघि सन् १९९८ मा ‘भ्रमण बर्ष ९८’ पर्यटन म्यागेजिनको प्रधान सम्पादक भएर पनि काम गरे । 

यसैगरी शाहले सन् १९९५ मा नेपाली साहित्य विकास परिषद् यूके स्थापना गरी विभिन्न साहित्यिक गतिविधि सञ्चालन गर्नुका साथै ‘लाली गुराँस’ साहित्यक पत्रिका परिषद्को स्थापनाकाल सन् १९९५ बाटै आरम्भ गरी हालसम्म प्रधान सम्पादक भएर नियमितरूपले प्रकाशन गर्दै आएका छन् । 

यी छापा पत्रिकाबाहेक पनि शाह केशव श्रेष्ठ प्रधान सम्पादक तथा प्रकाशक रहेको ‘यूके चैतारी डट कम ‘ अनलाइन पत्रिका र गोपाल पौडेल प्रधान सम्पाक तथा प्रकाशक रहेको ‘ग्लोबल नेपाली न्यूज डट कम ‘ अनलाइन पोर्टलमा समेत सम्पादक थिए ।

समाजसेवाको क्षेत्रमा पनि शाहको सक्रियता प्रशंसनीय छ । सन् १९९४ मा तत्कालिन समयका जागरूक युवाहरू कोमल मल्ल, चिरञ्जीवी ढकाल, गोपाल पौडेल, राजु थापा, ग्याल्साङ्ग लामा, राजकुमार थापा, कुशल बस्नेत, रामहरि रायमाझी, विजय थापा, प्रकाश थापा, भरत थापा, राजेन्द्र भुजु लगायतको सहभागितामा बेलायतमा पहिलोचोटी शाहको संयोजनमा युवा भेला गरेर समाजसेवामा युवा सहभागिता र अतिरिक्त विकासका लागि युवा एकता अभियान अगाडि सारिएको थियो   

यसै वर्ष टेवल टेनिस, ब्यडमिन्टन, भलिबल, स्नुकर, बुद्धिचाल, बागचाल आदि १२ वटा खेल सम्पन्न गरिएको थियो । सन् १९६० मा स्थापना भएको युरोपकै पहिलो सामाजिक संस्था यती नेपाली एसोसिएसन यूकेको पहिलोपटक इङ्ग्ल्याण्ड, स्कटल्यान्ड, म्यानचेस्टर, नटिङ्घम आदि क्षेत्रबाट बृहद सहभागितामा बेलायतब्यापी प्रत्यक्ष निर्वाचन भएको थियो र उक्त निर्वाचनमा शाह महासचिव निर्वाचित भएका थिए ।

अध्यक्ष डा. धितालको नेतृत्वमा निर्वाचित यती संस्थाको उक्त १७औँ कार्यसमितिले सामाजसेवाका विविध क्षेत्र र सञ्चारका क्रियाकलाप ह्वात्तै अगाडि बढाएको थियो । 

यसै गरी वरिष्ठ कलाकार मदन थापा संस्थापक अध्यक्ष रहेको  सन् १९८६ मा स्थापित बेलायतको दोस्रो पुरानो सामाजिक सांस्कृतिक संस्था ‘कोसेली नेपाली सांस्कृतिक परिवार यूके’ को सन् १९९८ मा सम्पन्न सम्मेलनबाट महासचिव भएर नेपाली लोक संस्कृति तर्फका गतिविधि बढाउने तथा कलाकारहरूलाई पुरस्कार र सम्मानले प्रोत्साहन पुरयाउने कार्यमा शाहको योगदान प्रशंसनीय थियो । 

यसप्रकार बेलायतमा नेपाली भाषा साहित्य, कला लोकसंस्कृति, नेपाली पत्रकारिता र समाजसेवाको क्षेत्रमा  सक्रिय योगदान साथै करिव डेढ दर्जन मौलिक कृति प्रकाशन गरेर नेपाली पहिचान फैलाउन अविच्छिन्न लागिपरेका शाहलाई उनको विशिष्ट योगदानको उच्चतम मूल्याङ्कन गर्दै परिषद्ले ‘एनएलडिसी स्वर्ण पदक पुरस्कार’ र ताम्रपत्रद्वारा अभिनन्दन गर्न लागेको परिषद्का अध्यक्ष कोमल मल्लद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

उक्त पुरस्कार आगामी जुलाई ९ तारिख हुने भानु जयन्ती समारोहमा प्रदान गरिने छ । यसका साथै उक्त समारोहमा नइ प्रकाशन नेपालबाट बेलायतका सर्जकहरूलाई प्रदान गरिएको ‘नइ कीर्ति अलङ्कार पदक’ पनि परिषद्का संरक्षक राजदूत ज्ञानचन्द्र आचार्यबाट सुशोभन गरिने कार्यक्रम छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू