आइतबार, जेठ ६, २०८१
03:10 | ०७:५५

च्यारिटी मिसन पुरा गरेर एभरेष्ट म्याराथनबाट लन्डन फर्किइन् अन्जु

नेपाली लिङ्क जुन ६, २०२३

लन्डन । लन्डन नर्थहोल्टकी ४९ वर्षीया अन्जु रेग्मी सिग्देलले एभरेष्ट म्याराथनमा दौडिएर आफ्नो च्यारिटी मिसन पुरा गरेकी छन् ।

सीमान्तकृत एवं गरिवीले आक्रान्त वादी समुदायका वालबालिकाको सहयोगका लागि उनले च्यारिटी रन गरेकी हुन् ।

मे २९ तारिख एभरेष्ट वेसक्याम्पबाट शुरु भएर नाम्चे बजारमा अन्त भएको एभरेष्ट म्याराथनमा भाग लिन उनी लन्डनबाट गएकी थिइन् ।

सुदुर पश्चिमको सुर्खेतस्थित वादी समुदायका बालबालिकाको सहयोगार्थ उक्त म्याराथनमा सहभागी उनले ५ लाख रुपैयां पूर्व घोषित समुदायलाई हस्तान्तरण समेत गरेकी छन् ।

नेपाल गएका बेला सुर्खेत पुगेर उनले बादी सरोकार मञ्च नेपालका हिक्मत वादीलाई ५ लाख रुपैयांको चेक हस्तान्तरण गरिन् ।

हिक्मत वादी र उनकी श्रीमतिले सुर्खेतमा विभिन्न क्षेत्रबाट वादी समुदायका एकसय १० जना किशोर किशोरीलाई होस्टलमा राखेर पालनपोषण गरिरहेका छन् । तर, आर्थिक अवस्थाका कारण होस्टल सञ्चालनमा कठिनाइ भइरहेको छ ।

‘गो फण्डमी’ मार्फत दाताहरुले उनको अभियानमा सहयोग गरेका थिए । यही शनिबारसम्म अपिल जारी रहने र उठेको सबै रकम नेपालमा दिने अठोट अन्जुको छ ।


‘एभरेष्ट म्याराथनमा दौड्न बडो चुनौति थियो तर सफलतापूर्वक पार गरेर वादी समुदायलाई सहयोग गर्न पाउंदा निकै आत्मसन्तुष्टि मिलेको छ’, उनले लन्डन फर्किएपछि बताइन् ।

खेलकुदले स्वास्थ्यमा खेल्ने अहंम भूमिकाको प्रचार प्रसार र महिलालाई यसप्रति प्रेरित गर्नु पनि उनको उद्देश्य थियो । नेपाल गएका बेला उनलाई लायन्स क्लव अफ नारायणगढले सम्मान समेत गरेको छ ।

नेपाल गएका बेला उनलाई लायन्स क्लव अफ नारायणगढले सम्मान समेत गरेको छ ।

भरतपुर ४ पोख्रेली टोल लंकु चितवन घर भई हाल लन्डन नर्थहोल्ट बस्ने अन्जुले व्यस्तता वावजुद हालसम्म ७ वटा फुल म्याराथन पुरा गरिसकेकी छन् ।

बेलायतको च्यारिटी संस्था नेपलिज ब्रिटिश कम्युनिटी यूके कार्यसमितिमा आवद्ध भएर विभिन्न सहयोगमूलक कार्यमा संलग्न उनले लण्डन स्थित नेपाल रन यूकेको सदस्य भएर अरुलाई पनि हौसला बढाउने प्रयासमा लागिपरेको बताइन् ।

सन् २०१८ नोभेम्बरदेखि दौड्न शुरु गरेकी उनले ५ के, टेन के रन र केही हाफ म्याराथन गरेपछि सन् २०२० बाट फुल म्याराथन शुरु गरेकी हुन् ।

सन् २०२४ सम्म उनले विश्वका सबै ६ प्रमुख म्याराथनमा भाग लिने लक्ष्य राखेकी छन् । अब सिकागो र टोकियो बांकी छ ।

उनको पहिलो फुल म्याराथन लन्डन म्याराथन २०२० थियो जुन कोभिड महामारीका कारण ’भर्चुअल’ गरिएको थियो ।

उनले लण्डन म्याराथन २०२१, बर्लिन म्याराथन २०२२, लण्डन म्याराथन २०२२, न्यूयोर्क म्याराथन २०२२, बोस्टन म्याराथन २०२३ र केही दिनअघिमात्र लण्डन म्याराथन २०२३ मा सहभागिता जनाइसकेकी छिन् ।

उनलाई सहयोग गर्न-

https://gofund.me/282ec7b7

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू