आइतबार, जेठ ६, २०८१
03:59 | ०८:४४

बेलायतमा २१ वर्षीया विद्यार्थीको निधन, अन्त्येष्टिका लागि उठ्यो झण्डै १५ लाख

नेपाली लिङ्क जुन ४, २०२३

स्वर्गीय सदीक्षा तामाङ

लन्डन । पढ्न यूके आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया सदीक्षा तामाङको अन्त्येष्टी र परिवारका लागि उल्लेख्य चन्दा संकलन भएको छ ।

एनआरएनए यूकेले सदीक्षाको परिवारबाट अन्त्येष्टीमा सघाउन अनुरोध भए लगत्तै चन्दा आव्हान गरेको थियो ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले सदीक्षाको मृत्यु भएको गत १० मे बाटै अभियान शुरु गरिएपछि स्वतस्फूर्त रुपमा १७८ व्यक्ति र ७ संस्थाले कुल ९,१४२.३६ (करिब १५ लाख रुपैयां) प्रदान गरेका जनाए ।

तामाङ समाज यूकेले १६०९ पाउन्ड, गोर्खा नेपलिज वेलफेयर सोसाइटी यूकेले ११६२ पाउन्ड, ब्रिटिश गोर्खा एन्ड नेपलिज क्याट्रिक कम्युनिटीबाट ७१८. ९९, गोर्खा अभियन्ता पिटर गुरिङले ३१९ पाउन्ड, क्षेत्री समाज यूकेले १०१, सिर्जनशील नेपाली समाज यूके २२०किरात सुनुवार वेलफेयर सोसाइटी यूकेले १०० पाउन्ड प्रदान गरेका छन् । 

पार्वती गुरुङ (माइला), माया गुरुङ (कान्छा), अर्चना गुरुङ र अन्यले २१ मेको एनआरएनए यूके विशेष महाधिवेशनमा २६५ पाउन्ड दिएका थिए ।  

संकलित रकम परिवारलाई बेलायतमै हस्तान्तरण गरिने पनि गाहामगरले बताए । अध्यक्ष गाहामगरले सहयोगदाता सबैप्रति आभार समेत व्यक्त गरेका छन् ।

सदीक्षाको शव नेपाल लगेर धार्मिक परम्परा अनुसार अन्त्येष्टी गर्ने परिवारको चाहना थियो । तर, उनमा भएको भाइरसका कारण अस्पतालले अन्तर्राष्ट्रिय उडानमा शव लैजान नमिल्ने बताएपछि अन्त्येष्टी बेलायतमै गर्न लागिएको छ । आउंदो ७ जुलाईमा अल्डरसट पार्क क्रिमेटोरिएममा फ्यूनरल सर्भिसको कार्यक्रम तय भएको हो ।

तामाङ सोसाइटी अफ यूकेका अध्यक्ष ज्ञान तामाङ र महासचिव मणी तामाङले अन्त्येष्टीमा संयोजन गरिरहेका छन् ।

एनआरएनए यूकेले छोरीको अन्त्येष्टीमा आउन सदीक्षाका बुबा कृष्णकुमार थोकर तामाङको सबै कागजात मिलाएको छ ।

निमोनिया भएपछि मिल्टन केन्स यूनिभर्सिटी हस्पिटलमा भर्ना भएको भोलिपल्ट नै सदीक्षाको गत १० मेमा निधन भएको थियो । सदिच्छा गत २६ डिसेम्बर २०२२ मा मात्र बेलायत आएकी थिइन् ।

ऋृण जोरजाम गरी झन्डै २० लाख खर्चेर पढ्न बेलायत आएकी सदीक्षाले अकालमै ज्यान गुमाउनु परेपछि न्यून आयस्तर भएको उनको परिवार थप प्रताडित छ ।

वि.सं. २०५८ साल चैत ३ मा दोलखामा जन्मिएकी सदीक्षाका बाबु कृष्णकुमार थोकर लामा गुरु र शैलुङ रिग्सुम गुम्बा सेवा समाजका महासचिव हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू