आइतबार, जेठ ६, २०८१
00:48 | ०५:३३

एर्दोगानले लिए तेस्रो कार्यकालको शपथ ग्रहण

रासस/सिन्ह्वा जुन ३, २०२३

राष्ट्रिपति पहिलो पंक्तिमा बायांबाट तेश्रो । तस्बिर सिन्हवा

अङ्कारा, २० जेठ–टर्कीको राष्ट्रपति रेसेप तैयप एर्दोगानले तेस्रो कार्यकालका लागि शनिबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

टर्कीको आर्थिक संकट चर्किरहेका बेला आफ्नो दुई दशक लामो शासन लम्ब्याउन एर्दोगान तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

उनले टर्कीको उन्नतिका लागि सबै देशवासीको मन जित्नेगरी निष्पक्ष रूपमा आफ्नो कर्तव्य पूरा गर्ने बताएका छन् । उनले शपथ ग्रहणपछि पत्रकारसँग भने, “राष्ट्रपतिको रूपमा महान टर्की राष्ट्रको अगाडि म मेरो सम्मान र निष्ठाको कसम खान्छु । राज्यको अस्तित्व र स्वतन्त्रताको रक्षा गर्न मैले सबै शक्तिको साथ काम गर्न र निष्पक्ष रूपमा मेरो कर्तव्य पूरा गर्न लागि पर्नेछु ।”

संसदको उद्घाटनपछि राजधानी अङ्कारास्थित राष्ट्रपतिको कार्यालयमा विश्वका दर्जनौं नेताको सहभागितामा भव्य समारोहबीच उनले पदबहाली गरेका हुन् ।

गत फेब्रुअरीमा गएको विनाशकारी भूकम्पका कारण ५० हजारभन्दा बढी मानिसको मृत्यु भएको, कोभिड तथा युक्रेन युद्धका कारण व्याप्त वैश्विक आर्थिक सङ्कट र आक्रोशका बाबजुद एर्दोगानले शक्तिशाली विपक्षी गठबन्धनविरुद्ध मे २८ मा भएको निर्वाचनमा विजय हासिल गरेका थिए ।

एर्दोआनले ५२.१८ प्रतिशत मत प्राप्त गरेका थिए भने उनका धर्मनिरपेक्षवादी प्रतिद्वन्द्वी केमल किलिकडारोग्लुले ४७.८२ प्रतिशत मत प्राप्त गरेका थिए ।

टर्कीका सबैभन्दा लामो समयसम्म सत्तामा रहेका नेताले आफ्नो तेस्रो कार्यकालमा सुस्त अर्थतन्त्र र पश्चिमा मुलुकसँगको तनावलगायत महत्वपूर्ण तात्कालिक चुनौतीको सामना गर्नुपरेको छ ।

बीसीए रिसर्चका प्रमुख भूराजनीतिक रणनीतिकार म्याट गर्टकेनले एर्दोगानका चुनौतीबारे भने, “भूराजनीतिक दृष्टिकोणबाट हेर्दा यो निर्वाचनले टर्कीको स्वतन्त्र विदेश नीतिको पछिल्लो प्रयासलाई बलियो बनाउनेछ । यो नीतिको उद्देश्य पूर्वीय र निरंकुश राज्यहरूबाट अधिकतम आर्थिक र रणनीतिक लाभ प्राप्त गर्नु हो र अझै पनि पश्चिमी लोकतन्त्रहरूसँगको सम्बन्धमा स्थायी दरार आउनबाट रोक्नु हो । पश्चिमा मुलुकसँगको तनाव भने फेरि बढ्नेछ ।”

देशको आर्थिक समस्याहरूलाई सम्बोधन गर्नु एर्दोगानको पहिलो प्राथमिकता हुनेछ । आंशिक रूपमा विकासलाई प्रोत्साहित गर्न ब्याज दरहरू कटौती गर्ने उनको अपरम्परागत नीतिको कारण टर्कीमा मुद्रास्फीति ४३.७० प्रतिशत पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू