शुक्रबार, वैशाख ७, २०८१
12:56 | १७:४१

कैद सजाय माफीपछि रेशम चौधरी रिहा

रासस मे २९, २०२३

काठमाडौं, १५ जेठ– कैलालीको टीकापुर घटनामा कैद सजाय पाएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी आज गणतन्त्र दिवसका अवसरमा जेलमुक्त भएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीसहित १९ व्यक्तिलाई कैद सजाय माफी गर्नुभएपछि उनी डिल्लीबजारस्थित सदरखोरबाट रिहा भएका हुन् ।

चौधरीको रिहाइपछि उहाँसम्बद्ध पार्टीका नेता कार्यकर्ता एवं सुभेच्छुकले स्वागत गरेका थिए । जेलमुक्त भएपछि चौधरीले माइतीघरमण्डलामा पुगेर नेता कार्यकर्तामाझ खुसी आदनप्रदान गरे । उनी भेटघाटका लागि केहीबेर अघि कैलाली पुगेका छन् ।

विसं २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको प्रदर्शनका क्रममा हिंसात्मक झडप हुँदा आठ प्रहरी र एक नाबालकको ज्यान गएको थियो । सोही घटनाको दोषी ठहर गर्दै चौधरीलाई जम्मकैदको सजाय हुनेगरी अदालतले फैसला गरेको थियो ।

राष्ट्रपति पौडेलले यही जेठ १२ र १४ गते मन्त्रिपरिषद्को बैठकको सिफारिसअनुसार टोपबहादुर बुढासमेत १९ जनालाई कैद सजाय माफी दिएका हुन् । विभिन्न अदालतबाट विभिन्न समयमा भएका फैसलाबमोजिम उनीहरुको कैद सजाय माफ गरिएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू