शुक्रबार, वैशाख २१, २०८१
10:38 | १५:२३

किराया बेलायतले मनायो उभौली साकेला

नेपाली लिङ्क मे ९, २०२३

लन्डन ।किरात राइ यायोक्खा बेलायत संघीय सचिवालयले एक भव्य कार्यक्रमसहित किरात राईहरुको महान चाड उभौली साकेला मनाएको छ।

शनिबार आफ्नै जग्गा किरात हाउस ग्याम्बल लेन गिलफोर्डमा नाकछोङ किताबसेर राई र टोकाया जगत राईद्वारा सिमे भुमे मातृपूजा अराधानासहित मञ्चबाट सिलिमोमा सिलिमोपा लगायत झ्याम्टा ढोल बजाउदै साकेला नृत्य प्रदर्शन गर्दै साकेला थान प्रस्थान गरि उभौली पूजा बिधिवत रुपमा समापन गरिएको थियो।

कार्यक्रमको दोस्रो चरणमा उपस्थित अतिथिहरुलाई आसनग्रहण गराउदै संस्थाका उपमहासचिव प्रमिला लाबुङ राईले उभौली साकेलाको महत्वबारे प्रस्ट्याएकी थिइन् भने सेफ्टी ब्रीफ उपाध्यक्ष मेजर रिटायर्ड दिलकुमार राईले गराएका थिए ।

सिनियर पुर्खा रत्न बहादुर राई, प्रमुख अतिथि गिल्डफोर्ड बरो काउन्सिलका मेयर मासुक मिया, विशेष अतिथि गैरआवासीय  नेपाली संघ यूकेका अध्यक्ष प्रेम गाहामगर र अध्यक्ष चन्द्र बहादुर राईले संयुक्त रुपमा पानसमा दीप बालेर औपचारिक कार्यक्रम

उद्घाटन गरेका थिए।

कार्यक्रम संयोजक उपाध्यक्ष क्याप्टेन रिटायर्ड सुमन चन्द्र राईले उपस्थित अथितीहरुलाई स्वागत गरेका थिए । त्यस अवसरमा बेलायतका राजा चाल्स तृतीयले राज्याभिषेक गरेको शुभ उपलक्ष्यमा शुभकामना पनि दिइएको थियो।

कार्यक्रममा आफ्नै किरात भूमि नेपाललाई स्मरण गर्दै नेपाल र बेलायतको राष्ट्रिय गान बजाइएको थियो।  

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मेयर मिया र विशेष  अतिथि गाहामगरले साकेलाको शुभकामना दिंदै कार्यक्रम सफलताको कामना गरेका थिए ।

अध्यक्ष राईले उभौली साकेला पर्वको महत्वबारे जानकारी गराएर साकेला कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका थिए।

चन्द्र बहादुर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्य अतिथिहरु काउन्सिलर नेम थापा, काउन्सिलर जिब बेल्बासे, तमु पे ल्हु संघ यूकेका अध्यक्ष अमर गुरुङ, नेपाल जनजाति पत्रकार महासंघ यूकेकी अध्यक्ष गोमा राना, किरात याक्थुङ चुम्लुङ युकेका महासचिव जुरेन्द्र खजुम, मगर संघ यूकेका उपाध्यक्ष रुद्र थापा, धरान समाज यूकेका अध्यक्ष रमेश लिम्बु, फोल्कस्टन नेपाली समाजका पूर्व अध्यक्ष चन्द्र गुरुङ र एभरेष्ट टाइम्सका प्रबन्धक निर्देशक नगेन्द्र नेम्बाङको पनि उपस्थिति थियो ।  औपचारिक कार्यक्रम सचिव गंगाराज राई र उपमहासचिव प्रमिला लाबुङ राईले सञ्चालन गरेका थिए भने अतिथि सत्कारमा उपाध्यक्षहरु अनिता राई र  निलम राई तथा सदस्य दिलिप राई खटिएका थिए ।

औपचारिक कार्यक्रम समापनपछि बहुभाषिक किरात राई जातिको भाषिक संस्थाहरु साम्पाङ राई, चाम्लिङ राई, बान्तवा राई आदिले भाषागत थरगत सिली प्रदर्शन गरेका थिए भने  किराया बेलायतको स्थानीय समन्वय परिषद ग्रेटर रस्मोरको तर्फबाट पनि साकेला सिली प्रदर्शनी गरिएको थियो। 

साकेला उत्सवमा उपस्थित सबैले साकेला नाचेर भरपुर मनोरन्जन लिएका थिए । आयोजक संस्था किरात राई यायोक्खा बेलायत संघीय परिषद सचिवालयले यस वर्षको साकेलालाई नेपालको प्रदेश एकको नामाकरणको विरोधमा उठेको पहिचानको आन्दोलनलाई समर्थन गर्दै ‘नो कोशी’ थिममा आयोजना गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू