सोमबार, वैशाख २४, २०८१
21:36 | ०२:२१

बेलायतको स्थानीय निर्वाचनमा नेपाली मूलका उम्मेदवारः तीन निर्वाचित, अरु असफल

नेपाली लिङ्क मे ५, २०२३

अल्डरसट र केन्टको मेडिस्टोनमा काउन्सिलर निर्वाचित धनबहादुर सार्की (बांया) र दिनेश खड्का

लण्डन । बेलायतको स्थानीय निर्वाचनमा विभिन्न क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिएका नेपाली मूलका उम्मेदवारहरुको नतिजा मिश्रित आएको छ ।

नेपाली लिंकलाई हालसम्म प्राप्त विवरणहनुसार विहिबार सम्पन्न निर्वाचनमा उम्मेदवार बनेका आधा दर्जन बढी नेपाली मूलका उम्मेदवारमध्ये तीन जनाले विजय हासिल गर्दा अन्य भने असफल भएका छन् ।

नेपालीहरुको उल्लेख्य बसोबास रहेको अल्डरसटको वेलिङटन वडामा लेबर पार्टीबाट धनबहादुर सार्की काउन्सिलर निर्वाचित भएका छन् । यसअघि कञ्जरभेटिभ पार्टीले जितेको उक्त क्षेत्रमा पहिलोपटक लेबर पार्टीबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका उनी विजयी भएका हुन् ।

सार्कीले ६ सय ५२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कञ्जरभेटिभ पार्टी उम्मेदवारले ४ सय १४ मत पाएकी छन् ।

त्यस्तै, केन्टको मेडिस्टोन बरोअन्तर्गत हाइ स्ट्रिट वडामा दिनेश खड्का पुनः काउन्सिलर निर्वाचित भएका छन् । लिबेरल डमोक्रयाट पार्टीका उम्मेदवार उनी यसअघि पनि एक कार्यकाल सो क्षेत्रका काउन्सिलर थिए।

खड्काले ६ सय ४१ मत प्राप्त गरेर जीत हासिल गरे भने उनका निकट प्रतिस्पर्धी लेबर उम्मेदवारले ४ सय १ मत मात्रै पाए ।

त्यसैगरी, हर्टफोर्डशायरको ह्यामल ह्याम्पस्टिड डिस्ट्रिक्टअन्तर्गत डेकोरम बरो काउन्सिलको ग्रोभ हिल वडाबाट कञ्जरभेटिभ पार्टीका उम्मेदवार गोवर्द्धन सिलवाल (सागर) निर्वाचित भएका छन् ।

जम्मा ६ सय ६ मत ल्याउँदै सिलवाल लगातार तेस्रो पटक उक्त क्षेत्रको काउन्सिलर निर्वाचित भएका हुन् । सन् २०१५ मा पहिलोपटक काउन्सिलर जितेका उनी सन् २०१९ मा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए ।

धेरैलाई असफलता 

अल्डरसटमा कञ्जरभेटिभ पार्टीबाट काउन्सिलरको चुनाव लडेकी सुमन पुन आफ्नो दोस्रो प्रयासमा पनि सफल हुन सकिनन् । सुमनले ४ सय ७० मत प्राप्त गर्दा विजयी लेबर उम्मेदवारको ९ सय ९४ मत आएको छ ।

बेजिङस्टोकमा लेबर पार्टीको पकड रहेको ब्राइटन हिल वडामा कञ्जरभेटिभ पार्टीबाट दोस्रोपटक चुनाव लडेकी पुनम गुरुङले पनि सफलता पाउन सकिनन् । विजयी लेबर उम्मेदवारले ८ सय ६८ मत पाउंदा पुनमको ३ सय ५ मत आएको छ ।

वाटफोर्डको होलिवेल वडामा कञ्जरभेटिभ पार्टीबाट उम्मेदवार सञ्जय पन्त पनि निर्वाचित हुन सकेनन् । ९ सय ४९ मतसहित लेबर उम्मेदवारले जित्दा पन्तले ४ सय २६ मतसहित दोस्रो स्थानमै चित्त बुझाउनु परेको छ ।

रेडिङको पार्क वडामा लेबर पार्टीबाट पहिलोपटक काउन्सिलरको टिकट पाएका रामबहादुर गलामी पनि चुनावी नतिजामा पछि परेका छन् । १ हजार ५ सय ३६ र १ हजार ४ सय ८ मत ल्याउने ग्रीन पार्टीका दुई उम्मेदवार विजयी बन्दा १ हजार ८७ मतसहित तेस्रो स्थानमा आएका गलामी निर्वाचित हुनबाट वञ्चित बने ।

त्यसैगरी, वकिङ काउन्सिलमा कञ्जरभेटिभ पार्टीका उम्मेदवार रहेका मेजर रिटायर्ड चित्रबहादुर राना पनि पराजित बनेका छन।

इंग्ल्यान्डका दुई सय ३० काउन्सिलअन्तर्गत करिब ८ हजार काउन्सिलरका लागि सम्पन्न यो स्थानीय निर्वाचनमा सत्तारुढ कञ्जरभेटिभ पार्टीले यसअघि जितेका सयौं सिट गुमाएको छ । कञ्जरेभेटिभले गुमाएका ४० वटा काउन्सिलहरुमा प्रमुख प्रतिपक्षी लेबर पार्टी र लिबरेल डेमोक्रयाटले जितेका छन् ।

(*थप क्षेत्रको नयाँ नतिजा आएसंगै यो समाचार अपडेट गरिएको छ – सम्पादक)

यो पनि पढौं: बेलायतमा तेस्रोपटक काउन्सिलर निर्वाचित भए गोवर्द्धन सिलवाल

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू