बुधबार, वैशाख १२, २०८१
20:59 | ०१:४४

सुमनले लन्डनमा बनाइन् रोमाण्टिक म्यूजिक भिडियो

नेपाली लिङ्क मार्च २७, २०२३

लन्डन । बेलायतको स्थानीय राजनीतिमा पाइला चाल्दै गरेकी सुमन पुनको नेपाली कलाकारिताप्रति पनि उत्तिकै मोह छ ।

फार्नबरो क्षेत्रबाट काउन्सिलर पदमा लडिसकेकी सुमनले निर्माण गरेको एउटा रोमाण्टिक भिडियो आइतबार सार्वजनिक भएको छ ।

साउथ इष्ट लन्डनस्थित क्याप्रीकर्न मेम्बर्स क्लवमा आयोजित एक विशेष समारोहबीच ‘यस्तो एउटा संसार’ बोलको गीतमा बनेको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

म्यूजिक भिडियो निर्देशन तथा छायांकन लन्डनका लोकप्रिय सञ्चारकर्मी कुशल श्रेष्ठले गरेका हुन् । उनले निर्देशन गरेका दर्जनौं म्यूजिक भिडियो भन्दा यो केही पृथक छ ।

कुशलले यसपटक भिडियोमा पुराना नायक ध्रुव दत्तसहित रोजिना ढकाललाई ‘डेब्यू’ गराएका छन् । मन्तव्यका क्रममा मोडल रोजिनाले आफ्नो पहिलो म्यूजिक भिडियो भएपनि निर्देशक कुशल श्रेष्ठसहित टिमको पूर्ण सहयोग र हौसलाले अभिनयमा सहज भएको अनुभव सुनाइन् ।

‘यस्तो एउटा संसार’ गीतमा गंगाराज राई र सुनिता थेगिमको स्वर तथा संगीत गंगाराजकै छ । संयोगवश नेपालकी चर्चित गायिका थेगिम म्यूजिक भिडियो लोकार्पण समारोहमा प्रत्यक्ष उपस्थित थिइन् । उनी सुनगाभा म्यूजिकल टुरका लागि यतिखेर बेलायतमा छन् ।

गीत रचना जानु काम्बाङ लिम्बुले गरेकी हुन् । कोरियोग्राफी एवं मेकअप दिपिका श्रेष्ठ, असिस्टेन्ट क्यामेरा गेहेन्द्र शाक्य, एरेन्ज उदयराज पौडेल र मिक्सिङ किशोर थापाले गरेका छन् ।

मिसेस् नेपाल यूके २०१७ आस्था जोशीले सञ्चालन गरेको कार्यक्रममा निर्मात्री सुमन पुनले गायिका, गीत र समस्त टिम मन परेपछि भिडियो निर्माण गरेको बताइन् । उनले भविष्यमा पनि नेपाली कला संस्कृति र गीत संगीतको प्रवर्धनमा लाग्ने अठोट व्यक्त गरेकी थिइन् ।

गायक गंगाराजले सबैप्रति आभार व्यक्त गर्दै गीत, भिडियो सुनेर हेरेर हौसला दिन आग्रह गरे ।

भिडियो रिलिज कार्यक्रममा सबै कलाकारहरु प्रत्यक्ष सहभागी थिए । निर्देशक श्रेष्ठले कलाकार, प्राविधिक सबै एकै ठाउंमा रहेर भिडियो रिलिज हुनु सुःखद संयोग भएको बताउंदै यसबाट आफू झन् उत्साहित भएको बताए ।

सो अवसरमा पासा पुचः गुथि यूके पूर्व अध्यक्ष कुमार श्रेष्ठ र हेल्प नेपाल नेटवर्क यूकेका अध्यक्ष सचिन श्रेष्ठले कलाकारहरुलाई पुष्पगुच्छा तथा खादाले सम्मान गर्दै बधाइ दिएका थिए ।

भिडियो लोकार्पणपछि सोही स्थानमा सुनगाभा म्यूजिकल कन्सर्ट भयो । उक्त कार्यक्रममा नेपालबाट आएका गायक-गायिका कमल खत्री, सुनिता थेगिम र बेलायतका स्थानीय कलाकारहरु दीपक थापा एवं 
सृजना निङलेकुले दमदार प्रस्तुति दिएका थिए ।

म्यूजिक भिडियो हेर्नुहोस्ः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू