शुक्रबार, वैशाख १४, २०८१
06:46 | ११:३१

मानहानी मुद्दामा कांग्रेस आइका वरिष्ठ नेताको सांसद पद खारेज

रासस/एएफपी मार्च २४, २०२३

नयाँ दिल्ली, १० चैत–फौजदारी मानहानी मुद्दामा दुई वर्ष जेल सजाय सुनाइएका भारतका वरिष्ठ विपक्षी नेता राहुल गान्धीको सांसद पद खारेज गरिएको छ ।

गुजरातस्थित एउटा स्थानीय अदालतले गान्धीलाई दोषी ठहर गरेको एक दिनपछि भारतीय संसद्को तल्लो सदनको कार्यालयले उक्त निर्णय सुनाएको हो ।

गान्धीलाई गुजरात राज्यको एउटा अदालतले सन् २०१९ मा प्रधानमन्त्री नरेन्द्र मोदीको थरलाई लिएर चुनावी रयालीमा दिएको प्रतिक्रिया सन्दर्भमा दोषी ठहर गरेको थियो ।

न्यायाधीशले आदेश सुनाउँदा कंग्रेस पार्टीका सांसदसमेत रहेका नेता गान्धी अदालतमा उपस्थित थिए ।

गान्धी दक्षिणी राज्य केरेलाको वायानाड राज्यबाट सांसद निर्वाचित भएका थिए । उनी हाल ३० दिनका लागि जमानतमा छन् र अदालतको निर्णय विरुद्ध पुनरावेदन गर्ने बताएका छन् ।

यसैबीच गान्धीको भारतीय काङ्ग्रेसले उक्त आदेश ‘त्रुटिपूर्ण भएको र त्यो कायम नरहने’ प्रतिक्रिया दिएको छ ।

आदेशको विरोधमा काङ्ग्रेसको नेतृत्वमा शुक्रवारदेखि विपक्षी नेताहरूसमेत सहभागी जुलुस राजधानी नयाँ दिल्लीमा निकालिएको छ । उनीहरू ‘लोकतन्त्र खतरामा छ’ भन्ने नारा लेखिएको व्यानर बोकेर जुलुसमा सहभागी भएका थिए ।

कंग्रेसका अध्यक्ष मल्लिकार्जुन खर्गेले गान्धीले शुक्रवार संसद्मा बोल्न अनुमति मागेको तर त्यसलाई अस्वीकार गरिएको प्रदर्शनलाई सम्बोधन गर्ने क्रममा बताएका थिए ।

जुलुसका सहभागीलाई सम्बोधन गर्दै उनले भने, “यदि अवस्था यस्तै रहिरह्यो भने यो देशमा छिट्टै निरङ्कुशता र तानाशाही आउनेछ ।”

प्रदर्शनमा सहभागी केही सांसदलाई नियन्त्रणमा लिइएको भारतीय टेलिभिजनले उल्लेख गरेका छन् । प्रदर्शनकारीहरू राष्ट्रपति भवनतर्फ रयाली लिएर जाने प्रयास गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू