मंगलबार, चैत ६, २०८०
05:05 | १०:५०

बेलायतका व्यवसायी धमाधम तपोवनतिर

नेपाली लिङ्क फ्रेब्रवरी १, २०२३


लन्डन । गैर आवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले ओशो तपोवनमा ९ दिने ध्यान पुरा गरेका छन् ।

पूर्व अध्यक्ष भवन भट्ट ‘स्वामी आनन्ददेव’ सँगै उनी ओशो तपोवनमा ध्यान साधनामा सहभागी भएका हुन् । एनआरएनए यूकेका उपाध्यक्ष दीपक श्रेष्ठले पनि तपोवनमै ९ दिने मिस्टिक रोज ध्यान पुरा गरेका छन् ।

केही समय अघि गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्ट आफूले आफैंलाई चिन्न, आफैंलाई बुझ्न र आफ्नो मार्ग पहिल्याउन तपोवनमा साधना गर्दै स्वामी आनन्द देव बनेका थिए ।

त्यस्तै राष्ट्रिय जनमत पार्टीका सभापति एवं सांसद सिके राउतले पनि स्वामी आनन्द अरुणबाट दीक्षा लिएर ओशो सन्न्यासी बनेका थिए । सन्यासपछि राउतले नयाँ नाम पाए– ‘आनन्द मैत्रेयु ।’

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्राधिकरणका पदाधिकारीको टोली लिएर ओशो तपोवनमा ध्यान साधनामा सहभागी भएका थिए।

अचेल नेता हुन् या बुद्धिजीवी, कलाकार, व्यवसायी तथा युवा, विद्यार्थी पनि ओशो तपोवनमा पुगेर ध्यान गर्ने गर्दछन् ।

ओशो दर्शनप्रति यति धेरै आकर्षण छ । सन्यास धारण गरेपछि सबै कुरा त्याग्नुपर्छ ? गैर आवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यका अनुसार ओशो दर्शनले आफूभित्रको तनाव, कुण्ठा, घमण्डबाट मुक्त हुन मार्गदर्शन प्रदान गर्दछ । सन्न्यास धारण गर्दैमा कसैले पनि गरिरहेको राजनीति, बन्द व्यवसाय वा नोकरी छाड्नु पर्दैन ।


ओशो दर्शनमा सन्न्यासको अर्थ आफू भित्रैबाट जाग्ने, बुद्धत्व र अध्यात्मको खोज गर्ने र बाहिर जस्तो काममा लागिरहेको छ त्यसलाई अझ परिष्कृत गरेर लैजाने हो ।

‘अहिले नेपालमा मात्रै हैन, संसारभरि नै तनाव बढ्दै गएको छ । सुखी, शान्त, हँसमुख र स्वस्थ्य रहन पनि ध्यान अनिवार्य रहेको मेरो बुझाइ छ । म सबै साथीहरुलाई आफ्नो लागि पनि केहि समय निकाल्न र आफ्नो शारिरीक तथा मानसिक स्वास्थ्यको बारेमा सचेत रहन अनुरोध गर्दछु’- आचार्यले भने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू