मंगलबार, चैत ६, २०८०
01:59 | ०७:४४

बेलायतका प्राध्यापक सुवेदीलाई विनोद रोका न्याय प्रतिक सम्मान पुरस्कार

नेपाली लिङ्क जनवरी २१, २०२३

लन्डन । बेलायतको लिड्स विश्वविद्यालयमा अन्तरराष्ट्रिय कानूनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीले सर्वोच्च अदालत बार एशोसिएशनको ‘विनोद रोका न्याय प्रतिक सम्मान पुरस्कार’ प्राप्त गरेका छन् ।

होटल अलोफ्ट ठमेलमा शनिबार आयोजित सर्वोच्च अदालत बार एशोसिएशनको ४८ औं वार्षिक साधारणसभा तथा पदभार हस्तान्तरण कार्यक्रममा प्राध्यापक सुवेदीलाई ५१ हजार रुपैयांको उक्त पुरस्कार प्रदान गरिएको हो ।

सुवेदी अनुपस्थित रहेकाले उनको तर्फबाट अधिवक्ता सरोजकृष्ण घिमिरेले पुरस्कार ग्रहण गरे ।

कानूनी राज, स्वतन्त्र न्यायपालिकासम्बन्धी अध्ययन, अनुसन्धान, अध्यापन, लेखरचना, पुस्तक प्रकाशन गरि उत्कृष्ट योगदान पुरयाउने व्यक्तिलाई प्रदान गरिने उद्देश्यले बारका पूर्व सचिव अधिवक्ता विनोद रोकाद्धारा उक्त पुरस्कार स्थापना गरिएको थियो ।

पुरस्कार प्राप्त गरेपछि हर्षित हुंदै प्राध्यापक सुवेदीले आफ्नो दायित्व थप बढेको बताए । उनले देश र जनताका लागि आफ्नो योगदान निरन्तर रहने जनाउंदै पुरस्कार दाताप्रति आभार समेत व्यक्त गरे ।

को हुन् प्राध्यापक सुवेदी ?

बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. सुवेदी लमजुङको एक सामान्य परिवारमा जन्मिएका हुन् । तर, लमजुङदेखि बेलायतसम्मको जीवनयात्रामा उनले कैयौं उपलब्धि हासिल गरेका छन् ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो नेपाली हुन् उनी । अक्सफोर्डबाटै कानूनमा महाविद्यावारिधि जस्तो प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि हासिल गर्ने व्यक्ति पनि उनी पहिलो हुन् ।

प्राज्ञिक र कानूनी दुवै क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्ने उनी बेलायतकै शीर्षस्थ व्यक्तित्वभित्र पर्छन् ।

उनले लिड्स, लन्डन र अक्सफोर्ड विश्वविद्यालयसहित संसारका सातवटा विश्वविद्यालयमा प्राध्यापन गरेका छन्।

उनले आफू बेलायतमा रहेर पनि नेपाललाई महत्वपूर्ण योगदान दिएका छन् ।

भारतीय नाकाबन्दीका बेला कूटनीतिक समाधान पहिल्याउन होस् वा अमेरिकी परियोजना एमसीसी पारित गर्न सकस परिरहेका बेला होस्, अप्ठेरो परिस्थितिमा नेपालका शीर्ष नेताहरुलाई सुझाव सल्लाह दिंदै संकटको गांठो फुकाउंदै आएका सुवेदी बेलायतको परराष्ट्रमन्त्रीका सल्लाहकार समेत भइसकेका छन् ।

सुवेदीले नेपालमा गरेको योगदानवापत तत्कालिन राजा र राष्ट्रपतिबाट उच्चस्तरका कैयौं मान–पदवी उपाधि पाएका छन्।

उनले अन्तर्राष्ट्रिय कानूनका प्रायः सबै आयाममा १२ वटा विश्वस्तरका ग्रन्थ र ६० भन्दा बढी अनुसन्धात्मक लेख संसारका ख्यातिप्राप्त जर्नलहरुमा प्रकाशित गरेका छन् भने नेपाल र बेलायत लगायत चीन, नेदरल्यान्ड्स, भियतनाम, इन्डोनेसिया, लाओस र कतार गरि १० वटा देशलाई कानूनी सल्लाह दिएका छन्।

मानव अधिकार र अन्तर्राष्ट्रिय कानूनको क्षेत्रमा उत्कृष्ट योगदान दिएको भन्दै बेलायतकी महारानीले उनलाई मानार्थ ओबीई र मानार्थ क्विन्स काउन्सेलजस्ता विशिष्ट कानूनविदहरुलाई दिइने उच्च उपाधि प्रदान गरेकी थिइन्।

प्रा सुवेदीको विद्वत्ताको कदर गर्दै अक्सफोर्ड विश्वविद्यालय र बेलायतको रोयल एसियाटिक सोसाइटीले उनको नाममा वार्षिक पुरस्कार स्थापना गरि उनलाई एक किसिमको बौद्धिक अमरत्व पनि प्रदान गरेका छन्।

प्राध्यापक सुवेदीले गत सातामात्र बेलायत र युरोपेली संघबीच विवादको मध्यस्थता गर्न भूमिका पाएका छन् ।

युरोपेली संघबाट बेलायतको बहिगर्मन (ब्रेक्जिट) पछि युरोपेली संघ र बेलायतबीच भविष्यको सम्बन्ध नियमन गर्ने एक सम्झौता भएको थियो।

‘व्यापार र पारस्परिक सहयोग’ नाम भएको उक्त सम्झौतामा युरोपेली संघ र बेलायतबीच कुनै विवाद उठेमा त्यस्ता विवाद दुवै पक्षले मन्जुर गरेका अन्तरराष्ट्रिय कानूनका प्रबुद्ध विद्वानहरुको मध्यस्थता (आरबीट्रेसन) बाट निराकरण गर्ने सहमति भएको थियो।

त्यही प्रावधान अनुसार युरोपेली संघ र बेलायतले अन्तरराष्ट्रिय कानूनका शीर्षस्थ विद्वानहरुको सूची तयार गर्ने क्रममा प्रा. सुवेदीले प्राध्यापकको रूपमा अन्तरराष्ट्रिय कानूनमा दिएको योगदान र वरिष्ठ ब्यारिष्टरको रूपमा गरेको कामको कदर गर्दै उनको नाम पनि समावेश गर्ने निर्णय गरेको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू