शनिबार, माघ १४, २०७९
04:36 | १०:२१

माछापोखरीमा हङकङको साग

नेपाली लिङ्क जनवरी १३, २०२३

यसपाली नेपालको बसाइ धेरै हदसम्म अविष्मरणीय रह्यो । यसमा पनि माछापोखरीको तरकारी पसल मेरो नेपाल यात्राको आकर्षण केन्द्र बन्यो । मेरो सम्पूर्ण मन मस्तिष्क हरबखत त्यही स्थानले  तानेको छ। अझै पनि त्यही बिहानीको यादमा मेरा दिनहरु बित्दै छन् आजभोलि । आजको यो बिहानी पनि त्यही पलको स्मरण गर्दै अक्षरी सम्झनाहरु उतार्दै छु।

बिहान करिब ५ बजे मेरा दाजु सुदर्शन सिम्खडा माछापोखरी तरकारी किन्न जान तयार हुदाँ मलाई पनि संगै जान अनुरोध गर्नु भयो र म उहाँ संगै पछि पछि लागें। उज्यालोको संकेत थिएन आकाशमा । कुकुरका भुकाई, क्षितिजतिर चरा भाले बासेका आवाजहरु सुनिन्थ्यो। लाग्थ्यो मनुष्य जगाउन आफ्नो ड्युटी इमान्दार संग गरिरहेका छन् कुखुराको भालेहरु । परतिर मन्दिरको घण्टी र गाडीको आवाज सुन्दै थिएं । मानिसको दैनिकीसुरु भइसकेको थियो ।

दाजुको पछि पछि हिंड्दै गर्दा बिहान सबेरै कतै मन्दिरको घन्टी बजाउंदै गरेका भक्तहरु देखिन्थे, कोही घर अगाडि पूजाका लागि सरसामान सफा गर्दै गरेका थिए, कहीं जीवनभर खाएर उछिट्टिएको जस्तो भूंडी घटाउन दौड्दै गरेका भद्र भलाद्मी हरु भेटिन्थे । ब्रहम मुहुर्तका त्यो सुन्दर कर्म अनि आफ्नै संस्कार, आफ्नै जीवन शैलीमा रमाएका त्यो विविधता देखेर मलाई पनि उर्जाशील बनायो ।

हरेक गल्लीका फरक फरक चहलपहल देखिन्थ्यो। तातो-तातो दुनोट हरर बासना आइरहेका थियो भने कतै दुध बेच्नेहरु भ्याइनभ्याइ दुध बेच्दै गरेका देखिन्थ्यो । घर अगाडि भर्खर पूजा सकिएको तर धुपको धुवाँ अनि बासनाले उक्त स्थान पवित्र र बासनामय बनेको आभास हुन्थ्यो । कतै भजन का सुन्दर आवाजहरु सुन्थ्यौं हामी । आहा कति रमाइलो जीवन्त जीवन, अजीवनको सम्पूर्णता झल्किएको सुन्दर, अलौकिक ब्रह्म मुहुर्त ।

आहा हामीलाई जीवनले जे गर्न र जे बन्न  पनि स्वतन्त्रता दिएको छ। आफ्नो आस्था, आफ्नो विश्वास, आफ्नो मान्यता, आफ्नो ज्ञान, आफ्नो अनुभव अनुसार आफ्नै मौलिक जीवन चलाई 
रहेका र चलिरहेका छन् । एउटाको काममा अर्को व्यक्तिको कतै कुनै टिका टिप्पणी छैन्, चाहे ब्रह्म पुजुन्, चाहे विष्णु पुजुन्, चाहे शिव, चाहे पिपल पुजुन्, चाहे सूर्य, चाहे देवी पुजुन् । चाहे राधा । सनातन धर्मको सौन्दर्य नै यही हो । चाहे चर्च जाउ, चाहे मन्दिर, चाहे मस्जिद जाउ । चाहे भट्टी, चाहे हिमालय जाउ, चाहे सदन आ–आफ्नो संस्कारबाट प्रेरित छन् ।

यी विविधताबाट एक स्वरुप अद्वैतमा पुग्छन्, आकारबाट निराकारमा  पुग्छन्, सगुनबाट निर्गुणमा पुग्छन्, अन्तिम परम सत्य नै त्यही हो । कस्तो मिठो सामानजस्यता, कस्तो सुमधुर आत्मीयता । यो नै होला अनेकतामा एकता, यो नै होला अस्तित्वको चमत्कार ।

यसरी अनेकौं रमाइला दृश्य हुंदै माछापोखरी पुग्यौं । अहो त्यहाँ पो रहेछ रमाइलो मेला, पृथ्वी माताका पूजारीका मेला, किसानका पसिनाको बजार, माटोको प्रदर्शनी। उत्पादक र उपभोक्ताको मिलन केन्द्र माछापोखरी । वरीपरिका गाउँमा फलाएका तरकारी, फलफूलहरुको रमाइलो बजार । भूपति, भुवनपति अनि भोक्तानोपतिको सम्पूर्ण मिलन ।

अजिता सिम्खडा

अघिल्लो दिन बारीबाट टिपेर मुठा पारी डोको, झोला वा बोरामा हालेर उक्त स्थानमा ताजा तरकारी पस्कंदै थिए शहरवासीलाई ती कर्मठ किसानहरु । यो दृश्यले मलाई आश्चर्यचकित गरायो र म प्रश्न गर्न थालें, ‘कति खेर याहाँ आइपुग्नु भो ?’ उहाँहरु भन्दै हुनुहुन्थ्यो- ‘३ बजे, हामी दुई बजे उठेर आएका हौं ।’ र, त्यहाँ सानो उमेरका भाइबहिनीहरु पनि थिए । उनीहरु भन्दै थिए घर फर्केर स्कूल जानु छ ।

यसले मलाई मेरो बचपनमा पुरयायो । म पनि एक भारी घाँस काटेर मात्र स्कुल जान्थें तर दुई बजे चाहिँ कहिल्यै  उठ्थिन । म पनि किसानको छोरी थिएँ सूर्य र प्रकृतिसंग जीवन चल्थ्यो । बर्खा लाग्यो खेती लगाउ, हिउँद लाग्यो खेती थन्काउ । मौसम अनुसार हाम्रो जीवन निर्धारण हुन्थ्यो । नयाँ लुगा पनि मौसम अनुसार र चाडबाडमा मात्र मिल्थ्यो ।

म त्यो ताजा फलफूल देखेर के किनौं के नकिनौं भएं । यहाँ (बेलायत) मा कति महिना पुरानो तरकारी खाइ राखेको । त्यो माहौलले ‘सल्यानटारको गोरुले ह्यापिङ खोलाको पानी खाएको’ भनेर हजुर मुमा उखान गर्नु हुन्थ्यो मलाई त्यही भयो । उखानको प्रसंग जोड्दा दुई विशाल नदी एक बूढी गण्डकी र अर्की नेत्रावतीको बीचमा समथर सल्यानटार तर पानी भने अभाव थियो रे धेरै पहिले । सल्यानटारको एकापट्टि पाखामा ह्यापिङ खोला छ तर त्यति ठूलो पानी  हुन्थेन, त्यसलाई खोल्चा भन्नुपर्छ । जोतिसकेर तिर्खाएको गोरु सास नफेरी त्यो खोल्चामा पानी खान्थ्यो रे, त्यसैबाट उखानमा परिणत भएको रहेछ भनिन्छ ।

तरकारी बजारमा ग्राहक तान्ने आफनै आफ्नै कला रमाइलो पक्ष लाग्यो । किसानहरु भन्दै हुनुहुन्थ्यो “सस्तो ताजा ताजा“ । हुन पनि सस्तो र ताजा दुबै थिए । तर मेरो ध्यान एक हंसिली सुन्दर महिलामा आकर्षित भयो । कुनै सौन्दर्य सामग्री बिना नै पूर्ण चन्द्र जस्तै झल्किएकी उक्त महिला साधारण थिइन्, भोला थिइन् तर मिस नेपाल जस्तै सुन्दर थिइन् । उनी भन्दै थिइन् ‘हङकङको साग’, ‘हङकङको साग ।’

उनको अनुहारको चमकता, ग्राहक आकर्षक गर्ने कला, नरम अनि मधुर वाणी, उर्जा, उत्साह अनुहारको खुशी देख्दा उनको जीवनमा पूर्णता झल्किन्थ्यो । जीवन एक कहानी हो र जन्मिएदेखि मृत्युसम्म हेर्ने हो भने सबैको आफ्नो  आफ्नो कथा, व्यथा छन् । कुनै व्यक्ति, पशुपंक्षी, बोटबिरुवा, पहाड, नदी नाला सबैको आफ्नो इतिहाँस छन्, कथा छन् । नगण्य मात्रमा लिखित छन् र धेरै जीवन कथाहरु चिताका धुवाँ संगै आकाशमा विलय हुन्छन् ।

हङकङको त्यो साग रायोको साग थियो । साग राम्रो थियो र मैले हतार हतार भीड हटाउंदै किन्न सफल भएँ । ति महिलाको शैली र आकर्षक व्यक्तित्वले ग्राहकको भीड लागिरहेको थियो । यस दुनियामा हामी सबै खुशी खोज्दै हिंडेका छौं । कोही मिठो मुस्कान दोबाटोमा देख्दा पनि आनन्दित हुन्छौं ।

हामीमध्ये धेरै थकित छन् यस धर्तीमा । कोही कतै यस्तै सुन्दर मुस्कान, उर्जाले अर्को व्यक्तिलाई  बाच्ने प्रेरणा जगाएको हुन्छ । सकारात्मक व्यक्तिको उर्जाले उनका वरपरका व्यक्ति मात्र नभई वातावरण उर्जामय भएको हुन्छ । व्यक्ति एक उर्जाको खानी हो । यस संसार उर्जाको प्रवाह हो त्यसैबाट यो ब्रम्हाण्ड चलायमान छ । हामी पनि सानो ब्रम्हाण्ड हौं र यसैबाट चलिरहेका छौं । यो संसार रहस्यमय छ र जादुमय छ । यो संसारको अनुभूति गर्ने सुअवसर मिलेकोमा म परमात्माप्रति अनुग्रहित छु ।

त्यस्तै दिवा पक्ष पनि छ त्यही बजारको । करिव बिहानको सात बजेपछि त्यो मेला सकिन्छ । आ–आफ्नो सामान बिक्री गरेर घर फर्किन्छन् ति परिश्रमी आदरणीय पालकहरु । त्यसै स्थानमा चिया पसल खुल्छ र चियाको घुट्की संगै सानो सदन सुरु हुन्छ ‘विषय राजनीतिको’, मन्त्री कस्तो हुनुपर्छ, काम कसरी गर्नु पर्छ भन्दै चर्चा–परिचर्चा गर्न धेरै विशेषज्ञ जम्मा हुन्छन् । श्रीमतीलाई भान्छा कुराएर, ढलेको सिन्को उठाउन नचाहने तर महिला अधिकारको चर्को वहस गर्छन् त्यही चिया पसलमा  ।

आफ्नो पति धर्म, पुत्र धर्म, पिता धर्मबारे पूर्ण अनभिज्ञ छन् तर धर्मको ब्याख्या गर्छन् । त्यही माछापोखरी समय अनुसार दृश्य, विषय, परिवेश फरक हुन्छ । त्यही स्थान कति सुन्दर र सकारात्मक उर्जाले भरिपूर्ण थियो, केहि समय पछि नै नकारात्मक माहौल सुरु भयो । त्यसैले एक असल पात्रले उर्जाशील, स्वर्ग बनाउंछ भने अर्कोले टिका टिप्पणी र निराशावादी वातावरणको निर्माण गर्छ । त्यसैले स्वर्ग र नर्क हामी आफैंले बोकेर हिंडेका छौं । आनन्दित छौं र आनन्द बाँडेका छौं भने स्वर्ग उही हो । नकारात्मक दृष्टिकोण छ निराशावादी छौं भने नरक आफैं भित्र छ ।

अन्तिममा म ति हङकङको रायोको साग बेच्ने बहिनीलाई अस्तित्वबाट ऊर्जा अझै मिलोस् भन्ने कामना गर्न चाहन्छु । मेरा दाजुसंग भला कुसारी गर्दै हिंडेका त्यो पल प्रति आभारी छु । त्यो बिहानीले मलाई जीवनको अर्को आयाम दियो । म बसेको सानो घर मात्र संसार होइन, यो जगत विशाल छ । ‘समुन्द्रमा म र ममा समुन्द्र’ उही हो । ‘ममा ब्रह्माण्ड र ब्रह्माण्डमा म’ उही हो । दृश्य फराकिलो पार्न झ्याल पर्याप्त हुंदैन, ढोका खोलेर  निस्कनु नै पर्छ । मेरो नेपाल बसाइको सुन्दरतम पक्ष नै त्यही रह्यो । त्यही उर्जाले म दंग पर्दै यात्रारत छु । धर्ती माता तिम्रो शक्ति, नेपाल आमा तिम्रो ममता अनि मातृवात्सल्य । यस पृथ्वीका सम्पूर्ण कृषकहरुमा नमन गर्दै अक्षरी कलम यहीं बन्द गरें ।

अजिता सिम्खडा, हाल यूके

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू