शनिबार, वैशाख ८, २०८१
15:04 | १९:४९

बेलायतका नेपाली निर्देशकको ‘ह्यारीकी प्यारी’मा जीतुलाई साम्राज्ञी

फिल्म हिन्दी, बङ्गाली, पञ्जाबी र मराठी भाषामा समेत प्रदर्शन हुने

रासस जनवरी ११, २०२३

काठमाडौँ । हास्यकलाकार तथा अभिनेता जीतु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहेको फिल्म ‘ह्यारीकी प्यारी’ आगामी माघ २० मा प्रदर्शन हुँदैछ ।

यसै फिल्मको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कलाकार नेपालले आफ्नो जोडी अभिनेत्री साम्राज्ञीसँग नयाँ देखिएको बताए ।

“अभिनेत्री साम्राज्ञीसँग बाँधिएको जोडी धेरैलाई सहज थिएन, यद्दपि हामी कथावस्तुमा ठिक छौँ”, नेपालले भने, “हास्यकलाकारको रूपमा स्थापित परिचयलाई बदल्दै कलाकार बन्न चाहन्छु, यसमा मैले आफ्नो कलाकारिता देखाउने अवसर पाएँ ।”

अभिनेत्री साम्राज्ञीले स्क्रिप्ट पढेपछि अभिनेता नेपालको नाम सुन्दा आश्चर्य लागेको बताइन् ।

“मैले जोडी थाहा पाउँदा केही भन्नै सकिन्, तर कथाअनुसार हामीलाई कास्टिङ गरिएको थियो, त्यसैले म फिल्म गर्न तयार भएँ”, साम्राज्ञीले भनिन्, “कथा र पात्रले मलाई फिल्मसँग जोडिन आकर्षित गर्छ ।”

उनले अभिनय गरेको यो पहिलो रोमान्टिक कमेडी फिल्म हो । अभिनेता नेपालले केही फिल्म, टेलिफिल्ममा काम गरे पनि मुख्य भूमिकामा अभिनय गरेको यो पहिलो फिल्म हो । हरि नामक पात्र कसरी ह्यारी बन्छ र जीवनको सपना पूरा गर्छ भन्ने संघर्षलाई फिल्ममा देखाइने बेलायतवासी निर्देशक डा. कपिल रिजालले बताए ।

उनी डा. भोला रिजालको पुत्र हुन् । “केही वर्षको सिकाइ र प्रतीक्षापछि निर्देशनमा पाइला टेकेको छु, म हाम्रो कला र संस्कृतिलाई अन्य भाषामार्फत विश्वभर लैजाने सोचमा छु”, निर्देशक रिजालले भने ।

फिल्म नेपालीसहित हिन्दी, बंगाली, पञ्जाबी र मराठी भाषामा समेत प्रदर्शन हुने भएको छ । बिआर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्ममा अन्य कलाकारहरु विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको अभिनय छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू