शुक्रबार, चैत १६, २०८०
14:25 | २०:१०

बेलायती सर्जकको ‘पद्मिनी’ पढेपछि…

पुस्तक समीक्षा:

नेपाली लिङ्क जनवरी ५, २०२३

समिक्षक सुरेशजंग शाह

कथा कविता गीत गजल नियात्रा र उपन्यास आदि साहित्यका सबै विद्यामा कलम चलाउने नेपाली साहित्य विकास परिषद् यूकेका पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार कवि हरिसिंह थापाका करिब एक दर्जनजति कृति प्रकाशित भइसकेका छन् ।

यस अघि नियात्रा विद्यातर्फ उत्तराखण्ड चारधाम यात्रा संस्मरण र बेलायतदेखि चारधाम यात्रासंसमरण प्रकाशित छन् । कविता विद्यातर्फ मधुरस, गराँस फुलेन र करेसाको फूल कवितासंग्रहहरू र मन उड्यो गीत एल्बम् प्रकाशित छन् भने कथा विद्यातर्फ नम्रताको कार्डिगन कथासंग्रह र उपन्यास विद्यातर्फ सुन्तली उपन्यास प्रकाशित छन् ।

थप यस वर्ष प्रकाशित दुई कृति ‘पद्मिनी’ उपन्यास र ‘थेम्स नदीका नागबेलीहरू’ कवितासंग्रह हालै लन्डनमा सम्पन्न ११४औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती समारोहमा परिषद्का पदेन संरक्षक महामहिम राजदूत ज्ञानचन्द्र आचार्यबाट र नेपालमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीबाट विमोचित भएका हुन् ।

परिषदबाट प्रकाशित भएका पुस्तकहरूको समीक्षा प्रकाशन गर्ने परिषद्को कार्यनीति रहेकाले यसैको निरन्तरताकारूपमा नेपाली साहित्य विकास परिषद् यूके र परिषद्को नेपाल च्याप्टरबाट यस वर्ष प्रकाशित गरिएका तीन वटा कृतिमध्ये परिषद्की उपाध्यक्ष कवयित्री डा. सुधा श्रेष्ठको नवीन कृति ‘थेम्स नदीका दुई किनारा’ कवितासंग्रहको समीक्षा यस अघि नै प्रकाशित गरिसकेको छु ।

क्रमैले यसपटक वरिष्ठ कवि हरिसिंह थापाका यी दुई कृतिबारे पुस्तक समीक्षा पाठक समक्ष प्रस्तुत गर्नु अघि यहीँनिर यस नेपाली साहित्य विकास परिषद् यूके र नेपाल च्याप्टरबाट प्रकाशित यी कृतिहरू नेपालमा रत्न पुस्तक भण्डार वागबजारमा र बेलायतमा नेपाली साहित्य विकास परिषद् यकेको सचिवालय वा स्वयं लेखकहरूबाट प्राप्त गर्न सकिने अवगत पाठक वर्गमा गराउंदछु ।

”होइन ! सालीमैञालाई दाउराको भारी गाह्रो भए म बोकी दिउँ कि क्या हो ! धेरै दिन पछि भेटेको रजनीसँग ठट्टा गर्दछ ध्यानबहादुर ।

अब हाम्रै गाउँमा पाहुना भएर आउनु भएको भिनाजुलाई पनि भारी बोकाएर हिँडाइयो भने त हामी यही खोलामा हामफालेर मरे भइगो नि ! रजनीले ध्यानबहादुरको मुखतिर पुलुक्क हेर्दै मायालु शैलीमा प्रतिउत्तर गरिन् ।

ओ हो ! हाम नफालौँ, साली मैञा ! यति राम्री मान्छेले हामफाल्यौ भने संसारै अँधेरो हुन्छ । तिमीलाई देखे पछि आँखामा वसाउँ कि फूलदानीमा राखेर सजाउँ जस्तो लाग्छ मलाई त !” 

वरिष्ठ साहित्यकार उपन्यासकार कवि हरिसिंह थापाको प्रस्तुत कृति ‘पद्मिनी उपन्यास’ भित्रबाट यहाँ उधृत गरिएको एउटा रोमान्टिक संवादको अंश हो अर्थात परिवार र पर्यावरणको पक्षमा उभिएको सामाजिक उपन्यास ‘पद्मिनी’ लेखनको क्रममा लेखकले विषय वस्तुको प्रस्तुति केही वर्णन, केही मनोवाद, केही संवादलाई कतै ठट्यौली, कतै रोमान्टिक र कतै वेदना आदिको समिश्रण गरेर पाठक वर्गहरूमा पढ्दा मनमा कौतुहल्ता, रोचकता र रोमान्चित मनको सेरोफेरो भित्र पुस्तक कतिखेर पढेर सकियो पत्तो नै नहुने गरेर सन्तुलित आनन्द दिलाउने उपन्यासकारको प्रयत्न छ जुन प्रशंसनीय छ ।

समग्रमा ‘पद्मिनी’ उपन्यास वंश वृद्धि र सृष्टिको निरन्तरताको पक्षमा उभएको छ । मानवीय प्रदुषणका कारण वातावरणमा परेको प्रतिकुल असरकाबारेमा बोलेको छ । पर्यावरण संरक्षणको माग गरेको छ । वन जंगल संरक्षण र संवर्धनको पक्षमा चेतना जगाउने प्रयत्न गरेको छ ।

पुरातन रूढीवादी सोचको परिवर्तनको कुरा उठाएको छ । ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य उपचार केन्द्रहरूको दयनीय स्थितिलाई उजागर गर्दै सुधारको आवाज उठाएको छ । विकास निर्माण र समृद्धिको पक्षमा हुन गएका त्रुटीहरू औंल्याएको छ ।

राजनीति र कर्मचारीतन्त्रलाई नैतिकता र इमान्दारिताको पक्षमा उभिन आग्रह गरेको छ । समग्रमा मानवीय कमजोरीहरूलाई सटिक व्यङ्ग गर्दै वास्तविकतालाई उजागर उपन्यासले गरेको छ ।

पुस्तकको नाम समर्पण गरिएकी पद्मिनी यस उपन्यासकी नायिका हुन् । केही व्यङ्ग्य र केही बिम्बको प्रयोग बाहेक लेखनमा आलङ्कारिता भन्दा सटिक विषयवस्तुहरूको उठान गर्न तर्फनै लेखकको ध्यान केन्द्रित भएको पाइन्छ ।

उपन्यासकार हरिसिंह थापा

विषयवस्तुलाई तन्काएर उपन्यास लामो बनाउने भन्दा पनि भएको घटनाक्रमलाई सटिकरूपमा प्रस्तुत गरेर चेतनाको सन्देश दिने प्रयत्नमा नै लेखकको सोच लघुकृत गर्नेतिर केन्द्रित भएको पाइन्छ । लेखकले भावविहोल र खुसीका साथ उपन्यासको कथावस्तु सुखान्तरूपमा टुङ्ग्याएका छन् ।

पुस्तकभित्र नेपाली साहित्य विकास परिषद् यूके का अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्ल र परिषद्की नेपाल च्याप्टर अध्यक्ष इल्या भट्टराईले आफ्नो शुभकामना मन्तव्य र प्रकाशकीय मन्तव्यमा पद्मिनी उपन्यास सामजिक चेतनाको पक्षमा उभिएको गाउँले जनजीवन र पर्यावरणको मिश्रणमा मायाप्रीति फुलेको सन्तुलित उपन्यास भएको उल्लेख गर्नु भएको छ ।

नेपाली साहित्य विकास परिषद् यूकेका पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार लेखक हरिसिंह थापाको दसौँ कृति ‘पद्मिनी’ उपन्यासमा गाउँले परिवेश र जीवनशैली समेटिएको मन छुने कथावस्तु रहेको छ ।

यसले पाठक वर्गहरूको मन छुने विश्वास मेरो छ । म एकचोटी उक्त उपन्यास पढ्न हुन सल्लाह दिन्छु । लेखकमा शुभकामना !

-सुरेशजंग शाह

(समिक्षक शाह नेपाली साहित्य विकास परिषद् यूकेका संस्थापक तथा निवर्तमान अध्यक्ष हुन् ।)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू