बिहीबार, कार्तिक ८, २०८१
17:53 | २२:३८

रहेनन् वाङ्मय शताब्दी पुरुष सत्यमोहन, पार्थिव शरीर ललितपुरमा

रासस अक्टोबर १६, २०२२

ललितपुर इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल परिसरमा राखिएको वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्दै सर्वसाधारण । तस्बिर चन्द्रकला क्षेत्री/रासस

ललितपुर । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पुल्चोकस्थित ललितपुर महानगरपालिका भवन प्राङ्गणमा राखिएको छ ।

पुरातत्वविद् जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।

यसअघि उनको पार्थिव शरीर १२ बजेसम्म श्रद्धाञ्जलिका लागि कलेज प्राङ्गणमा राखिएको थियो । त्यहाँ राजनीतिक दलका स्थानीय नेता, संस्कृति विद् तथा शुभेच्छुले श्रद्धाञ्जलि अर्पण गरे ।

प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीगणलगायत पार्टी नेता एवं समाजका विभिन्न क्षेत्रका तह र तप्काका व्यक्ति महानगरपालिका पुगेर उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ ।

पार्थिव शरीर यहाँ अपराह्न ४ बजेसम्म रहने महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।

को हुन् सत्यमोहन जोशी ?

पिता शङ्करराज जोशी र माता राजकुमारीका सुपुत्रका रूपमा विसं १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मिएका सत्यमोहन जोशीको आज २०७९ असोज ३० गते ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा निधन भएको छ । जोशीले विसं. २०१३ मा लोकसंस्कृति ग्रन्थमा मदन पुरस्कार प्राप्त गरेका थिए ।

दोस्रो पटक नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थमा विसं २०१७ मा र ‘कर्णाली लोकसंस्कृति’ नामक ग्रन्थका लागि विसं २०२८ मा मदन पुरस्कार प्राप्त गरेका जोशी विसं २०१५ मा पुरातत्व र संस्कृति विभागको पहिलो निर्देशक भएका थिए ।

जोशीले विसं २०१६ मा पाँचौँ शताब्दीदेखि बीसौँ शताब्दीसम्मको मुद्राको विस्तृत विवरणसहितको ‘नेपाली मुद्रा’ नामक पुस्तक प्रकाशित गरेका थिए ।

नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, संवर्धन र विकासमा लागि परेका हुनाले उनको योगदानको कदरस्वरूप जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौँ विश्वविद्यालयले विद्यावारिधिको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ ।

नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको छ । तीन पटकसम्म ‘मदन पुरस्कार’ जित्न सफल जोशीका प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथा संग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित छन् ।

शताब्दी पुरुष जोशीले जीवनभर साहित्य, कलासंस्कृति र रङ्गमञ्चमा गरेका योगदानका विविध आयाम समेटेर कवि तथा लेखक अनिल पौडेलद्वारा लिखित ‘जुरेली दर्शन’ पुस्तक प्रकाशनमा छ । यस कृतिमा उहाँको जीवनी, भाषा, साहित्य, लोकसंस्कृति अन्वेषणलगायतका विषय समेटिएका छन् ।

उनका संस्कृतिसम्बन्धी १० पुस्तक प्रकाशित छन् । उनले दुई काव्य, पाँच कथा सङ्ग्रह, १० नाटक र केही नेवारी भाषाका कृति लेखेका छन् । समालोचकले उनले ५० पुस्तक प्रकाशित भएको जनाएका छन् । तीमध्ये उनका २० पुस्तक महत्वपूर्ण पुस्तक मानिएको छ ।

जोशीको एक सय वर्षको जन्मोत्सवमा नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले वाङ्मय शताब्दी पुरुष जोशीको तस्बीर अङ्कित चाँदीको सिक्का निस्काशन गरेको थियो । रु दुई हजार पाँच सयका २५ हजार थान, रु एक हजारका २५ हजार थान र रु एक सयका १० हजार थान सिक्कामा एकातिर जोशीको तस्बीर र अर्कोतिर सगरमाथाको तस्बीर छ ।

काठमाडौँ विश्वविद्यालयबाट मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्राप्त गरेका वरिष्ठ साहित्यकार जोशीलाई विसं २०६९ मा ‘पद्मश्री साधना सम्मान पुरस्कार’ प्रदान गरिएको थियो ।

नेवारी परिवारमा जन्मिएका जोशीले १० वर्षसम्म नेपाली बोल्न जानेका थिएनन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू