सोमबार, वैशाख १७, २०८१
12:32 | १७:१७

बेलायतमा नेपाली सेनाले जित्यो सैन्य प्रतिस्पर्धा

रासस अक्टोबर ११, २०२२

नेपाली सेना । फाइल तस्बिर रासस

काठमाडौं । नेपाली सेनाले संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा यही असोज २२ देखि २४ गतेसम्म सञ्चालन भएको ‘अभ्यास क्याम्ब्रीयन पेट्रोल २०२२’ मा रजत पदक प्राप्त गरेको छ ।

बेलायती सैनिकसहित २४ देशका १११ सैन्य टोली सहभागिता रहेको उक्त अभ्यासमा सेनानी बलबहादुर आलेको नेतृत्वमा १० सदस्यीय टोलीले प्रतिस्पर्धा गरेको थियो ।

युद्धकालीन विशेष परिस्थितिको कल्पना गरी शत्रुपक्षको गतिविधि समेटेर सञ्चालन गरिने उक्त विश्वस्तरीय सैन्य अभ्यासमा सहभागी हुने टोलीको शारीरिक सहिष्णुता र पेशागत दक्षताको मूल्यांकन गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

अत्यन्त कठिन भौगोलिक इलाकामा सञ्चालन हुने त्यस अभ्यासमा सहभागीले दुई दिनमा हतियार करिब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्रीसहित लगभग ५० किलोमिटर दूरी पार गर्नुपर्छ ।

लडाइँको तयारी, नक्सा र कम्पासको भरमा दिन र रातमा गर्ने निर्धारित स्थानसम्मको यात्रा, खोला एवं अन्य अवरोध पार गर्ने क्षमता, खबर सङ्कलन, घाइते–बिरामीको व्यवस्थापन, विस्फोटक पदार्थको पहिचानलगायत रासायनिक, जैविक र आणविक हतियार प्रहार भएको अवस्थामा अपनाउने सतर्कताका आधारमा मूल्यांकन हुने सेनाले जनाएको छ ।

उक्त अभ्यासमा सेनाको पेशागत प्रतियोगिताको मर्यादाक्रमको आधारमा गण, गुल्म र बाहिनीबाट छानिएका फौज सम्मिलित टिम सहभागी हुँदै आएको छ ।

सन् १९६० देखि वार्षिकरूपमा हुँदै आएको उक्त प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आएको छ । विभिन्न अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा व्यावसायिक, समर्पित, साहसी, संयमित र अब्बल प्रमाणित गर्दै आएको सेनाले यस पटक रजत पदक जित्न सफल भएबाट नेपालको प्रतिष्ठा बढाएको सेनाले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू