आइतबार, जेठ ६, २०८१
10:13 | १४:५८

नवयुवा क्लब लगातार दोस्रो वर्ष ब्रिटिश गोर्खाली क्रिकेट लिग च्याम्पियन

नेपाली लिङ्क अगस्ट १७, २०२२

लन्डन। नवयुवा क्रिकेट क्लब लगातार दोस्रो वर्ष ब्रिटिश गोर्खाली क्रिकेट लिग च्याम्पियन बनेको छ। आइतबार अल्डरसट क्रिकेट क्लबको मैदानमा सम्पन्न फाइनल खेलमा ‘क्वीन गोर्खा सिंग्नल्स् क्रिकेट क्लब’ लाई हराउँदै नवयुवाले उपाधि जितेको हो।

विजेता नवयुवाले ७ सय पाउन्ड नगद पुरस्कारसहित ९ सय पाउन्ड बराबरको च्याम्पियन ट्रफी प्राप्त गर्‍यो। यसअघि गत वर्ष पनि सो ट्रफी जितेको नवयुवाले आगामी वर्ष तेस्रो पटक पनि जित्न सके ट्रफी कब्जा गर्नेछ।

लिगको उपविजेता क्वीन गोर्खा सिंग्नल्स् क्रिकेट क्लबले ३ सय पाउन्ड नगदसहित डेढ सय पाउन्ड बराबरको ट्रफी प्राप्त गर्‍यो।

लिगका फाइनल खेलहरु बेलायतको सरे क्रिकेट एसोशिएसन र ह्याम्पशायर साउथ कोस्ट एशोसिएसनआबद्ध प्रोफेसनल अम्पायरहरुले सञ्चालन गरेका थिए।

विगत तीन वर्षयता वर्षेनी आयोजना हुँदै आएको प्रतियोगितामा यस वर्ष बेलायतभरका ८ टीमले प्रतिस्पर्धा गरेका थिए। गत मे महिनादेखि लिगका खेलहरु शुरु भएका थिए।

ब्रिटिश गोर्खाली क्रिकेट लिग बेलायतका विभिन्न स्थानीय क्रिकेटसम्बन्धी निकायहरुसँगको सहकार्यमा बेलायतमा आयोजना हुने एक मात्र नेपाली क्रिकेट लिग रहेको आयोजक बताउंछन्।

बेलायतका ह्याम्पशायर क्रिकेट बोर्ड, नेश्नल एसियन क्रिकेट काउन्सिल, क्लब क्रिकेट कन्फरेन्स, एमसीसी फाउन्डेसन तथा इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डलगायतसँग ब्रिटिश गोर्खाली क्रिकेट लिगको समन्वय र सहकार्य रहंदै आएको लिग आयोजक समूहका सचिव ज्ञाम गुरुङले बताए ।

लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई नेश्नल एसियन क्रिकेट र क्लब क्रिकेट कन्फरेन्समा खेल्न पठाउने गरिएको छ। जुन प्लेटफर्ममार्फत् उनीहरुले बेलायतका काउन्टी क्रिकेट क्लब र एसोशिएट राष्ट्रका टीमका विरुद्ध खेल्ने राम्रो अवसर प्राप्त हुने आयोजकको भनाइ छ।

यस वर्ष पनि ब्रिटिश गोर्खाली क्रिकेट लिगबाट दुई खेलाडीहरु आशिष कुर्मी र प्रकाश विष्टलाई नेश्नल एसियन क्रिकेट काउन्सिलका खेलहरु खेल्न लन्डनको प्रतिष्ठित लर्ड्स पठाइएको गुरुङले जानकारी दिए। जहाँ गतिलो प्रदर्शन गर्न सके उपल्लो स्तरका प्रतिस्पर्धा हुँदै इंग्ल्यान्डका काउन्टी टीमहरुसम्मको यात्रा तय गर्न सहज हुने उनले बताए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू