शुक्रबार, चैत १६, २०८०
09:54 | १५:३९

बेलायतमा प्रधानमन्त्री दौडः ट्रसको लोकप्रियता बढ्दै

नेपाली लिङ्क अगस्ट ११, २०२२

लन्डन । बेलायतको सत्तारूढ कन्जरभेटिभ दलको नयां नेताका लागि ऋषि सुनाक र लिज ट्रसबीच अन्तिम प्रतिस्पर्धा जारी छ । दुई प्रतिस्पर्धी अहिले विभिन्न शहरमा मतदातामाझ टिभी वहसमा व्यस्त छन् ।

प्रतिस्पर्धीमध्येबाट एक जना बेलायतको भावी प्रधानमन्त्री बन्ने भएकाले यी दुईको प्रतिस्पर्धालाई निकै चासोकासाथ हेरिएको छ । 

आगामी सेप्टेम्बर ५ मा कन्जरभेटिभ पार्टीको नेता घोषणा हुनेछ । कन्जरभेटिभ पार्टीले २ सेप्टेम्बर सांझ ५ बजेसम्म मतदानको समयसीमा तोकेको छ । पार्टी सदस्यहरूले पोस्टल र अनलाइन भोटिङमार्फत पनि मत दिन सक्नेछन् ।

कन्जरभेटिभ पार्टी सदस्यहरुको पछिल्लो मत सर्वेक्षणमा पूर्व अर्थमन्त्रीसमेत रहेका ऋषि सुनाकले अप्ठेरो स्थिति सामना गर्नुपर्ने देखिएको छ । ऋषिलाई उनकै निकट ठानिने साजिद जाविदले पनि साथ छोडेका छन् ।  

कनहोम सर्भेमा ट्रसले सदस्यहरुको ५८ प्रतिशत समर्थन पाउंदा सुनाकलाई जम्मा २६ प्रतिशत मत छ । यूगोभ सर्भेमा ट्रसले ६० प्रतिशत समर्थन पाएकी छन् । 

लिजले आफ्नो नीतिमा महंगी (कष्ट अफ लिभिङ) घटाउने वाचा गरेकाले मतदाता उनीप्रति बढी आकर्षित भएका विश्वास गरिन्छ । 

तथापि अहिले नै मत सर्वेक्षणमा विश्वास गरिहाल्न सकिने अवस्था छैन् । किनकि निर्णयको अन्तिम चाबी झन्डै २ लाख सदस्यहरुको हातमा छ ।

सुनाकले आफूलाई समर्थन गर्ने सदस्यहरुलाई मनाउन सफल हुने उनका समर्थकको दावी छ । सुनाक समर्थकहरुले चुनावी अभियानमा सहभागी हुने मनस्थिति नभएकाहरुको समर्थन प्राप्त गर्ने आशा गरेका छन् । 

पार्टीका ३ सय ५८ सांसदमध्ये सुनाकले १ सय ३७ मत पाएर पहिलो स्थान बनाएका थिए भने ट्रसले १ सय १३ मत पाएकी थिइन् । सदस्यहरुमाझ भने सुनाकभन्दा ट्रसले मन जितिरहेकी छन् । 

दुई प्रतिस्पर्धीले यसअघि सार्वजनिक गरेका भन्दा अहिले खासै फरक नीति ल्याएका छैन् । 

पछिल्लो पटक लिजले इनर्जी कम्पनीलाई लगाइने ग्रीन लेभी (एक खालको कर) हटाउंछु भनेकी छन् । उनको यो नीति कार्यान्वयन हुंदा ग्राहकको वार्षिक ८ प्रतिशत वचत हुन्छ । 

सुनाकले भने इनर्जीमा लाग्ने भ्याट ५ प्रतिशत हटाउने प्रतिवद्धता व्यक्त गरेका छन् जसबाट जनताले केही राहत पाउन सक्छन् ।

सुनाकले यसअघि कर्पोरेसन करको दायरा १९ बाट २५ प्रतिशत पुरयाउने, बन्दरगाह रहेको स्थानमा व्यापारिक केन्द्र बनाउने, बैंक तथा वित्तीय संस्थाहरूको पुनःसंरचना, स्वास्थ सेवामा थप लगानी, मुद्रास्फीति नियन्त्रणमा आएपछि सन् २०२४ को अन्तमा कर कटाउनेलगायत एजेन्डा अघि सारिसकेका छन् । 

ट्रसले भने ३० अर्ब पाउन्ड बराबरको कर तुरुन्त घटाइ जनजीविका सहज पार्ने, ब्रेक्जिटमा भइरहेको उत्तरी आयरल्यान्डको झमेला अन्त्य गर्ने, कर्पोरेसन कर वृद्धिले लगानी कम र रोजगारी घट्ने हुंदा कर कटाउने, १.५ प्रतिशत एनआइ र इनर्जी कर पनि घटाउने योजना ल्याएकी छन् ।

बेलायतको युनिभर्सिटी अफ द वेष्ट अफ इंग्ल्याण्डमा अन्तर्राष्ट्रिय व्यापारका सहप्राध्यापक डा. बुद्धि पाठक बेलायती जनताले भोगिरहेको महंगी (कष्ट अफ लिभिङ) सम्वोधन गर्ने नेताले नै जित सुनिश्चित गर्न सक्ने सम्भावना देख्छन् जुन मुद्दा भने सहज छैन् । 

डा. पाठककै भनाइमा यसअघि बेलायतको एक घरधुरीको उर्जा बील मासिक १२०० पाउण्ड हाराहारी थियो । अप्रिलदेखि बढेको यो शुल्क अक्टोबरमा फेरि बढेर ३५०० पाउण्ड र जनवरीमा ४२०० पाउण्ड पुग्दैछ । 

‘बैंक अफ इंग्ल्याण्डले २५ प्रतिशत ग्यासको मूल्य वृद्धि हुंदा एक प्रतिशत मुद्रास्फीति बढ्ने र कुल ग्राहस्थ उत्पादन ०.६ प्रतिशत घट्ने बताएको छ । केही समयपछि उर्जा बील ८० प्रतिशत बढ्दा मुद्रास्फिति करिब ३ प्रतिशत बढ्ने देखिन्छ’, पाठकले भने । 

बैंक अफ इंग्ल्याण्डले यस वर्षको अन्त्यतिर बेलायत आर्थिक मन्दी (रिसेसन) मा जाने प्रक्षेपण गरिसकेको छ । मुद्रास्फीति यसअघि अनुमान गरिएभन्दा धेरै १५ प्रतिशत पुग्ने आकलन छ । 

बेलायती पूर्व प्रधानमन्त्री गोर्डन ब्राउन नेतृत्वको एक समूहले गरेको अनुसन्धानले बेलायतको कम्तीमा एक करोड तीस लाख (१३ मिलियन) जनसंख्या उर्जा गरिवीको रेखामुनी छ । यसको अर्थ त्यो जनसंख्या उर्जा बिल तिर्न सक्ने अवस्थामा छैन् । 

पूर्व प्रधानमन्त्री ब्राउनले कोब्रा बैठक बोलाइ तत्काल राहत प्याकेज ल्याउन सरकारलाई सुझाव दिएका छन् । तर लिज र सुनाकको यसबारे केही नीति आइनसकेको पाठकले बताए ।

युरो जोन, अमेरिका, चीन, जापान जस्तै बेलायतमा पनि मुद्रास्फीति वृद्धि र आर्थिक मन्दी आउन थालेपनि यहां बेरोजगार दर भने नबढ्नु सकारात्मक पक्ष भएको पाठकको बुझाइ छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू