शनिबार, जेठ ५, २०८१
05:06 | ०९:५१

ब्रिगेड ब्वाइजले जित्यो स्वीन्डन कप

नेपाली लिङ्क जुलाइ २४, २०२२

लन्डन । नेपलिज एसोसिएसन अफ विल्सायर यूकेले गत २३ जुलाई शनिबार ‘स्वीन्डन कप २०२२’ फुटबल प्रतियोगिता गरेको छ ।

स्वीन्डनस्थित न्यू कलेजको खेल मैदानमा आयोजित प्रतियोगितामा मेन क्याटोगोरिजतर्फ ब्रिगेड ब्वाइजले रेडिङ युनिटीलाई पराजित गर्दै उपाधि हात पारेको छ । 

विजेता टिमलाई १५ सय पाउण्ड नगद तथा मेडल प्रदान गरियो भने रनर अपलाई एक हजार पाउण्ड तथा मेडल दिइयो । 

उता, भेट्रान क्याटोगोरिजतर्फ फाइनल खेलमा हिमालयन एफसीले ब्रिग्रेड ब्वाइजलाई पराजित गर्दै उपाधि हात पारयो । भेट्रान विजेता टिमलाई एक हजार पाउण्ड नगद तथा मेडल र रनरअपलाई ६ सय पाउण्ड नगद तथा मेडल प्रदान गरिएको थियो । 

युवा समूहबाट संजय थापा र  भेट्रान समूहबाट खुम गुरुङ बेस्ट प्लेअर घोषित भए । नेपलिज एसोसिएसन अफ विल्सायर यूकेका अध्यक्ष ज्ञानप्रसाद गुरुङ लगायत अतिथीले पुरस्कार प्रदान गरेका थिए ।  

भेट्रानतर्फ ९ टिम र युथहरुको टिमबाट २० वटा समूहले भाग लिएका थिए । भेट्रान ए बाट पाँच समूहले भाग लिनुपर्नेमा लमजुङ समाज एफसी अनुपस्थित भएपछि ४ समूहले मात्रै प्रतिस्पर्धा गरेका जनाइएको छ । 

गैर नेपाली रेफ्रीहरुले संचालन गरेको फुटबल खेल कुनै पनि विवाद र दुर्घटनाबिना अनुशासित तरिकाले सम्पन्न भएको अध्यक्ष गुरुङले जनाए । 

अध्यक्ष गुरुङले भविष्यमा नेपालीहरुले पनि स्थानीय अनि राष्ट्रिय टिममा खेल्ने वातावरण बनाउन स्वीन्डन कप गरिएको बताए । 

अध्यक्ष गुरुङले आर्थिक तथा भौतिक सहयोग गर्ने विभिन्न संघ संस्थाका प्रतिनितिधिलाई खादा लगाई प्रशंसा पत्र दिएका थिए ।

समाजका सचिव भवानी गुरुङले संचालन गरेको औपचारिक कार्यक्रममा प्रमुख अतिथी एमपी सर रोबर्ट बकल्यान्ड, अतिथिहरु विल्सायर एफए अध्यक्ष ओलिभर सेल्फी, स्वीन्डन बरो काउन्सिलका मेयर अमिन अब्दुल र उनकी धर्मपत्नी, एमपी रोबर्ट बक्ल्याण्ड, गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) का अध्यक्ष प्रेम गाहामगर, एनआरएनए यूके उपाध्यक्ष नारायण कंडेल, तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

प्रतियोगितामा विभिन्न खाना तथा पोशाकहरुको स्टल पनि राखिएका थिए ।

अर्को बर्षको स्वीन्डन कप ८ जुलाईमा हुने सोही भेन्यूमा गरिने भएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू