मंगलबार, वैशाख ११, २०८१
10:10 | १४:५५

आफ्नो जन्मदिनमा दिपक मैथानले ल्याए आमाप्रति समर्पित म्यूजिक भिडियो

नेपाली लिङ्क जुलाइ १७, २०२२

लन्डन । लन्डनका एक उदयीमान कलाकार तथा मोडल दिपक थापा मैथाने मगरले आफ्नो जन्मदिनमा आमाप्रति समर्पित एक म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।

शुक्रबार सांझ उनले साउथ हयारोस्थित चौतारी रेष्टुरेन्टमा सञ्चारकर्मी, साथीभाइ र आफन्तजनमाझ ‘मेरी आमा’ म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् ।

‘मेरी आमा’ भिडियो रिलिज भएपछि मन्तव्य दिने क्रममा इनास ग्लोवल उपाध्यक्ष तथा बेलायतका चर्चित कलाकार, निर्माता एवं निर्देशक मनिष श्रेष्ठ निकै भावुक भए । कोभिड महामारीका कारण आमा गुमाउंदाको पीडा भोगिरहेका श्रेष्ठले म्यूजिक भिडियो हेरेर भावुक बन्दै आमाले जस्तो प्रेरणा, माया र शक्ति अरु कसैले नदिने बताए ।

कलाकार नजिक मैथानेसंग नजिक भएर काम गर्न पाएको स्मरण गर्दै अभिनेता श्रेष्ठले दीपक कलाकारिताको एउटा उज्जवल नक्षत्र र केही गर्ने अभिलाषा बोकेको प्रतिभा भएको टिप्पणी पनि गरे ।

‘मेरी आमा’ का निर्देशक कुशल श्रेष्ठले नेपालमा रहेकी दीपककी आमाको श्रव्यदृश्य र लन्डनमा बांकी छायांकन एवं निर्देशन केही चुनौतिपूर्ण भएपनि ‘टिम वर्क’ ले सहज भएको बताए ।

निर्देशक श्रेष्ठले आफूलाई हरेक प्रोजेक्ट कसरी सफल बनाउने भन्ने कुरामै बढी चिन्ता लाग्ने जनाउंदै दिपक विदेशमा बसेर पनि कलाकारिताप्रति केही गर्न उत्सुक श्रष्टा भएको धारणा समेत राखे ।

आफ्ना सन्तानको लागि आफ्ना सम्पूर्ण रहर, सपना र खुशी त्याग्न सक्छिन् आमा । आफ्ना सन्तानको खुशीका लागि आफू बांचुन्जेल हांसी हांसी दुःखको भारी बोक्न सक्छिन् आमा । पहिलो पाठशाला, गुरु, देउता र पूजा पनि आमा नै हुन् भन्ने सन्देशसहित सबै महान आमाप्रति समर्पित छ गीत ।

दिपक आफैंले लेखेका हुन् उक्त गीत । स्वर नेपाल आइडल सिजन ४ विजेता भूपेन्द्र थापा मगरले दिएका छन् भने कम्पोज मिक्सिङ राजकुमार बगर र एरेन्जर राजु कार्की छन् ।

मैथाने इन्टरटेनमेन्टको प्रस्तुति उक्त म्यूजिक भिडियोमा दिपक मैथाने, चमेली थापा र पारु थापाको अभिनय छ ।

मगर संघ यूके मिडिया सेक्रेटरी किशोर राना र यमुना पुनले सञ्चालन गरेको उक्त कार्यक्रममा नेपालबाट आएका गायक तथा एरेन्जर बिलन थापा मगर, हास्य कलाकार निर आले मगर र गायिका भूमिका शाह तथा लन्डनस्थित व्यवसायी मिन दर्लामी, मोडल रोशना कार्की, आस्था जोशी, मनिषा डंगोल श्रेष्ठ, अमिका क्षेत्री, निर्देशक कुशल श्रेष्ठ, कलाकार मनिष श्रेष्ठ, पत्रकारहरु शिव भण्डारी, नवीन पोखरेल लगायत सहयोगी र प्रायोजकलाई सम्मान गरिएको थियो । मगर संघ यूके महासचिव गुमानसिंह थापा लगायतले सम्मान प्रदान गरेका थिए ।

कार्यक्रममा गायिका भूमिका शाहले गायन प्रस्तुत गरेकी थिइन् । सो अवसरमा दीपककै प्रस्तुति रहेको बैगुनी म्यूजिक भिडियोबाट क्वालिटी अवार्ड जितेका निर्देशक कुशल श्रेष्ठ र अभिनेता मनिष श्रेष्ठलाई नेपालबाट आइपुगेको अवार्ड प्रदान गरियो ।

च्यारिटी काममा समेत सक्रिय दीपकको चर्चित मोडल तथा डान्सर रिना थापामगरसंग खेलेको ‘चुल्ठी हल्लाउंदै’ म्यूजिक भिडियो पनि 
रिलिजको तयारीमा छ ।

गत वर्ष पनि उनले आफ्नो जन्मदिनकै अवसरमा एक म्यूजिक भिडियो सार्वजनिक गरेका थिए । तस्बिर- शिव भण्डारी

म्यूजिक भिडियो हेर्नुहोस्ः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू