मंगलबार, चैत ६, २०८०
03:05 | ०८:५०

नेप्लिज सेफ एशोसिएसन यूकेमा नयाँ नेतृत्व, अध्यक्षमा ढकाल र महासचिवमा बोहोरा

नेपाली लिङ्क जुन २८, २०२२


लन्डन- नेप्लिज सेफ एशोसिएसन यूकेमा नयाँ चयन भएको छ । सोमबार लन्डन ह्यारोस्थित ब्लुरुम स्पोर्टस् भेन्यूमा सम्पन्न तेस्रो अधिवेशनले कोशलेश्वर ढकालको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

नवनिर्वाचित कार्यसमितिका तीन उपाध्यक्षमा मोहन ओली, शिव कंडेल र ठाकुर ढुंगाना छन् भने महासचिवमा राजु बोहोरा र सचिवमा यज्ञ खरालले जिम्मेवारी पाएका छन् ।  

त्यसैगरी,  कोषाध्यक्षमा धर्मागत चापागाईं र सहकोषाध्यक्षमा केबी गुरुङ निर्वाचित भएका छन्। कार्यसमिति सदस्यहरुमा गोकर्ण भुसाल, अभिषेक कुमार श्रेष्ठ, दलबहादुर खत्री, लालचन्द्र (रामजी) सापकोटा,  उपेन्द्र पौडेल, रामकृष्ण अर्याल, छम रेग्मी, राम प्रसाद सापकोटा, लिला राम निउरे, सुमन शर्मा, टिकादेवी चालिसे, शेषकान्त सापकोटा, चन्द्र बहादुर केसी, गोमा पौडेल, भानु घिमिरे, टिकाराम निउरे, दिनानाथ अर्याल र रामकृष्ण थापा चुनिएका छन्।

निर्वाचन समितिका संयोजक सोलिसिटर राजु थापाले नवनिर्वाचित कार्यसमितिको घोषणा गर्दै सम्पूर्ण पदाधिकारीहरुलाई शपथग्रहण गराएका थिए। 

एशोसिएसनका निवर्तमान समितिका अध्यक्ष दधि आचार्यको अध्यक्षतामा सम्पन्न अधिवेशनमा बेलायतका विभिन्न क्षेत्रमा कार्यरत डेढ सय बढि नेपाली सेफको सहभागिता थियो। 

अधिवेशनलाई शुभकामना दिंदै प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले खानामार्फत् नेपाली संस्कृति र पहिचानलाई विश्वमाझ पुर्‍याउन सक्ने सेफहरुको पेशा गौरवपूर्ण रहेको बताए।

एशोसिएसनले बेलायतमा कार्यरत नेपाली सेफहरुलाई संगठित गरी परोपकारी कार्यहरु गर्दै अहिले लगानीका लागि प्रेरित गर्ने चरणसम्म पुग्नु ठूलो उपलब्धि रहेको उनको भनाइ थियो। बेलायतमा नेपाली खानाको प्रवर्द्धनका लागि एशोसिएसनलाई थप सिर्जनात्मक रुपले अघि बढ्न सुझाव दिंदै राजदूत आचार्यले दूतावासको पूर्ण साथको प्रतिवद्धता जनाए।

कार्यक्रमका विशेष अतिथि गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुल आचार्यले एशोसिएसनले अहिलेसम्म उल्लेखनीय काम गर्न सफल भएकोमा प्रशंसा गरे।

रेष्टुरेन्टको सामान्य जागिरबाट करियर शुरु गर्ने धेरै नेपालीहरु अहिले सेफ हुँदै आफ्नै रेष्टुरेन्टको सञ्चालक बन्न सफल हुनु गौरवको विषय रहेको उनले सुनाए।

त्यसअवसरमा संविधानसभा सदस्य कुलप्रसाद नेपाल, एनआरएनए आइसीसीका उपमहासचिव रामशरण सिम्खडा र सचिव टिका गुरुङ, एशोसिएसनका संस्थापक अध्यक्ष कृष्ण तिमल्सेना, नेपाल पत्रकार महासंघ यूके अध्यक्ष ध्रुवराज अर्याल, तमुधिं यूके अध्यक्ष हित काजी गुरुङ, नेप्लिज क्याटरर्स एशोसिएसन अध्यक्ष विजय थापा, एनआरएनए अभियन्ता बिजन भट्ट लगायतले शुभकामना दिएका थिए।

कार्यक्रम सभापति एवम् अध्यक्ष दधि आचार्यले आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे । महासचिव भूपेन्द्र पाठकले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष रामप्रसाद न्यौपानेले स्वागत मन्तव्य दिएका थिए।

कार्यक्रममा नेपालबाट आएका कलाकारहरु कृष्ण अखेली, तुलसी क्षेत्री, रेशम निर्दोष, अस्मिता डल्लाकोटीलगायतले सांगीतिक प्रस्तुतिमार्फत् मनोरञ्जन गराएका थिए । स्थानीय कलाकारहरु कृतिका आचार्य र रिया खड्काले आकर्षक नृत्य देखाएका थिए भने अन्त्यमा डिजे हेम विष्टले नचाएका थिए।  

सोही अवसरमा  एशोसिएसनका तर्फबाट राजदूत, एनआरएनए आइसीसीका नवनिर्वाचित पदाधिकारी, एशोसिएसनका संस्थापक अध्यक्ष, कलाकारलगायतलाई सम्मान गरिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू