शनिबार, वैशाख ८, २०८१
03:31 | ०८:१६

पूर्व अन्तर्राष्ट्रिय खेलाडी भट्टराईलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

रासस जुन २८, २०२२

कास्की-पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेशबहादुर 
भट्टराई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित हुने भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले अग्रज खेलाडी भट्टराईलाई उनले नेपालको खेल क्षेत्रमा पुरयाएको योगदानको कदर गर्दै सो सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।

मञ्चको आयोजनामा यही असार १८ गते पोखरा सभागृहमा सञ्चालन हुने छैटौँ संस्करणको ‘पोखरा स्पोटर्स अवार्ड–२०७८’ का अवसरमा भट्टराईलाई सो अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिए ।

अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी भट्टराई सन् १९९० मा पाकिस्तानमा भएको चौथो दक्षिण एशियाली खेलकुदमा ‘सिल्भर मेडलिस्ट’ हुन् । उनी सन् १९८९, १९९० र १९९१ मा लगातार बक्सिङमा राष्ट्रिय च्याम्पियन भएका थिए ।

सन् १९८७ मा पहिलोपटक जुनियर राष्ट्रिय प्रतियोगितामा सहभागी भट्टराईले पहिलो सहभागितामै जुनियर च्याम्पियनको उपाधि हासिल गरे । सन् १९८८ मा पनि जुनियर राष्ट्रिय च्याम्पियनसीपमा उनले स्वर्ण पदक जिते ।

नेपालले सन् १९९८ मा काठमाडौँमा भएको सागमा दुई स्वर्ण, पाँच रजत र दुई कास्य पदक जित्दा उनी नेपाली टोलीको व्यवस्थापक थिए । फुटबल खेलसँग समेत संलग्न भट्टराई अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय सदस्य हुँदै उपमहासचिव बने ।

यसअघि मञ्चले यहाँका अग्रज खेलाडी प्रा डा वीरेन्द्रसिंह गुरुङ, कृष्णबहादुर थापा, खड्गबहादुर रानाभाट, चित्रबहादुर गुरुङ र आनन्द रञ्जितलाई सो अवार्डबाट सम्मानित गरिसकेको छ ।

मञ्चले छैटौँ पोखरा स्पोटर्स अवार्ड–२०७८ को तयारी अन्तिम चरणमा पुगिसकेको जनाएको छ । अर्वाडअन्तर्गत विभिन्न विधामा पुरस्कार प्रदान गरिनेछ । वर्ष खेलाडी पुरुष र महिलाले इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कारस्वरुप प्राप्त गर्नेछन् ।

वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघ, उत्कृष्ट खेल पत्रकारलाई नगद रु ३५ हजारको साथमा ट्रफी प्रदान गरिने मञ्चका महासचिव राजाराम पौडेलले बताए ।

अवार्ड कार्यक्रम भव्य बनाउन विभिन्न समिति तथा उपसमितिमार्फत कामलाई तीव्रता दिएको छ । मञ्चले खेल र खेलाडीलाई प्रोत्साहनका लागि विसं २०७२ देखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू