बिहीबार, साउन २६, २०७९
05:56 | १०:४१

राष्ट्रपति सीको हङकङ भ्रमणमा धेरै विदेशी पत्रकार रोकिए

रासस-एएनआई जुन २५, २०२२

राष्ट्रपति सी चिनफिङ । तस्बिर सिन्हवा

हङकङ, ११ असार-राष्ट्रपति सी चिनफिङ यहाँको भ्रमणमा आउने भएका छन् । बेलायतले हङकङ शहर चीनलाई हस्तान्तरण गरेको २५ औँ वार्षिकोत्सवका अवसरमा आगामी साता यहाँ आयोजना हुने बैठमा सहभागी हुन उनी भ्रमणमा निस्कन लागेका हुन् ।

कोभिड–१९ को महामारीपछि मुख्यभूमि चीनबाट उनको यो पहिलो भ्रमण हो । राष्ट्रपति सीको उपस्थितिमा हुने भव्य समारोहमा हङकङ शहर का नयाँ नेता जोन लीले शपथ लिने कार्यक्रम रहेको समाचार एजेन्सी सिह्वाले जनाएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी हङकङ विशेष प्रशासनिक क्षेत्रको छैटौं कार्यकालको उद्घाटन समारोहमा पनि सहभागी हुने छन् ।

हङकङका अधिकारीहरूले कोभिड–१९ महामारी प्रतिबन्ध र सुरक्षा कारण जनाउँदै नयाँ नेता लीको शपथ ग्रहण समारोहको समाचार संकलन गर्न केही सञ्चारगृहमाथि प्रतिवन्ध लगाएका छन् ।

यद्यपि यसरी प्रतिबन्ध लगाइएका सञ्चारगृहका प्रतिनिधि नियमित रूपमा आयोजना हुने सरकारी प्रेस सम्मेलनहरूमा भाग लिने गरेका छन् ।

अधिकारीहरूले सी जिनपिङको उपस्थितिमा हुने कार्यक्रममा जापान निक्की, असाही सिम्बुन र क्योडो न्यूज, ताइवानको सिटिभी, अमेरिकाको गेटी इमेजका साथै हङकङको इनमिडिया र हङकङ फ्रि प्रेसलाई प्रवेश निषेध गरिएको छ । हङकङ पत्रकार संघले प्रशासनको उक्त निर्णयप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।

संघले इच्छुक सञ्चारगृहका प्रतिनिधिलाई प्रवेशको अनुमति दिन आग्रह गरेको छ । जनतालाई जानकारी गराउने कर्तव्यबाट सञ्चारकर्मीलाई रोक लगाउन नहुने उसले बताएको छ ।

गत महिना राष्ट्रपति सीले नवनियुक्त हङकङ प्रमुख कार्यकारीलाई भेटेर अराजकताबाट सुव्यवस्थातर्फ हङकङ अघि बढेकामा उनलाई धन्यवादसहित बधाई दिएका थिए ।

नवनियुक्त ६४ वर्षीय नेता लीले वर्तमान प्रमुख कार्यकारी क्यारी ल्यामबाट आगामी शुक्रबार कार्यभार सम्हाल्ने छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू