शुक्रबार, वैशाख ७, २०८१
07:24 | १२:०९

बेलायतबाट दुई कृति लोकार्पण

नेपाली लिङ्क जुन १३, २०२२

लन्डन – कोरोना महामारीले विश्व आतंकित बन्यो । लाखौं मानिस मरे, संक्रमितको संख्या बेहिसाव छ । अहिले महामारी केही हदसम्म साम्य छ तर त्यसले मानिसलाई धेरै पीडा छाडेको छ । सबैका आफ्नै कथा व्यथा छन्  ।

महामारीका कथा अब पुस्तककारमा आएको छ । 

बेलायतमा यो सप्ताहन्त दुई कृति एकै साथ लोकार्पण भए । 

नेपाल सेन्टर इन्टरनेशनलद्वारा प्रकाशित ‘कोभिड १९ कथाहरु’ र ‘अ जोर्नी अफ इनोसेन्स’ नामक कृति लोर्कापण गरिएको हो ।

बेलायतको वेष्ट बाइफ्लीटस्थित न्यू हवेली रेष्टुरेन्टमा आइतबार एक समारोहबीच कार्यक्रमका प्रमुख अतिथी यती नेपाली एसोसिएसन यूके अध्यक्ष ध्रुव केसी, विशेष अतिथी एनआरएनए यूके उपाध्यक्ष सुनिलबाबु खड्का एवं नेपाल सेन्टर इन्टरनेशनलका संस्थापक निर्मलकुमार थापाले संयुक्त रुपमा ति कृति विमोचन गरे ।

विमोचित ‘कोभिड १९ कथाहरु’ मा २६ विभिन्न कथा समावेश छन् जहां कोभिड १९ महामारीको चपेटा र तीतामिठा भोगाइ समेट्ने प्रयास गरिएको छ ।

कोरोनाले उपलब्ध गराइदिएको समयमा उब्जिएको सृजनाका रुपमा यो पुस्तक तयार भएको प्रकाशकले जनाएका छन् ।

उक्त संग्रहमा प्रवास र नेपालका अनुभवी लेखकहरुको अनुभव र भोगाइ छ । कोभिड व्यथा पीडा, क्षति र यसको दीर्घकालिन असरबारे लेखकले विभिन्न कोणबाट मूल्यांकन गरेका छन् । पुस्तक भावी पुस्ताका लागि पनि मार्गदर्शन बन्ने अपेक्षा छ ।


पुस्तक विमोचन कार्यक्रममा प्रमुख अतिथी ध्रुव केसीले ‘कोभिड १९ कथाहरु’ पठनीय र सन्देशमूलक पुस्तक भएको बताए । केसीले नेपाल सेन्टर इन्टरनेशनलले नेपाली कला संस्कृति, भाषा र साहित्यलाई प्रवासमा प्रवर्धन गरेर ठूलो योगदान गरेको भन्दै प्रशंसा गरे ।

विशेष अतिथी एनआरएनए यूके उपाध्यक्ष सुनिलबाबु खड्काले च्यारिटी र नेपाली कला संस्कृति प्रवर्धनका कार्यक्रमलाई आफूले विगत देखि नै सहायता गर्दै आएको जनांउदै श्रष्टाहरुलाई बधाइ दिए ।

खड्काले प्रवासमा रहेका नेपालीले आफ्नो तर्फबाट स्वदेशका लागि केही योगदान गर्ने दायित्व कहिल्यै भुल्न नहुने बताए ।

नेपाल सेन्टर इन्टरनेशनलका संस्थापक निर्मलकुमार थापाले आफ्नो संस्थाको उद्देश्यबारे प्रकाश पारे । नेपाल सेन्टर इन्टरनेशनलका बेलायत, क्यानाडा, अमेरिका, अष्ट्रेलिया, मेक्सिको, भारत, चीन र नेपालमा शाखा छन् ।

उक्त संस्थाले विदेशमा नेपाली संस्कृतिको प्रवर्धनसम्बन्धि विविध गतिविधि गर्दै आएको छ ।

कार्यक्रममा ‘कोभिड १९ कथाहरु’ कृतिबारे संगीता स्वेच्छा र ‘अ जोर्नी अफ इनोसेन्स’ पुस्तकबारे स्नेहा श्रेष्ठले समिक्षा गरेका थिए ।

कार्यक्रममा न्यू हवेली रेष्टुरेन्टले दिवाभोज प्रायोजन गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू