शुक्रबार, वैशाख २१, २०८१
17:40 | २२:२५

मिडल्यान्डमा एनआरएनए गोल्डेन एभरेष्ट क्रिकेट लिग शुरु, यूकेभरबाट टीम दर्ता आव्हान

नेपाली लिङ्क जुन १, २०२२

गत वर्षको विजेतालाई पुरस्कार प्रदान गरिंदै

लन्डन-बेलायतमा हुर्किंदै गरेको नेपाली युवा पुस्तालाई क्रिकेटमा सहभागी गराउने उद्धेश्यसहित मिडल्याण्डमा ‘एनआरएनए गोल्डन एभरेष्ट क्रिकेट लिग’ शुरु भएको छ।

सन् २०१९ देखि मिडल्यान्डका नेपाली खेलाडीको सहभागितामा सञ्चालन हुँदै आएको यो प्रतियोगितामा यस वर्षदेखि बेलायतभरका टीमलाई सहभागी हुन आव्हान गरिएको छ। 

एनआरएनए यूके समेतको सहयोगमा आयोजना हुन लागेको लिगलाई गोल्डन एभरेष्ट समूहले प्रायोजन गरेको छ। जसको संयोजन एनआरएनए यूके कार्यसमिति सदस्य तथा खेलकुद विभागअन्तर्गत क्रिकेट संयोजक दिपक सापकोटाले गरेका छन्। सापकोटाकै पहलमा सन् २०१९ मा यो प्रतियोगिता शुरु भएको थियो।

विगतमा मिडल्यान्डमा मात्र सिमित रहेको यो लिगलाई अब सिंगो बेलायतका खेलाडीहरुसम्म बिस्तार गर्न खोजिएको छ ।

लिग संयोजक दिपक सापकोटा

संयोजक सापकोटाले लिग शुरु भइसकेपनि अझै टीम दर्ता गर्न सकिने भन्दै बेलायतभरका नेपाली क्रिकेटरहरुलाई आफ्नो टीम दर्ता गराउन आव्हान गरेका छन्।

यसपटक खेलहरु मिडल्यान्डमै खेलाइने भएपनि आउंदा दिनमा सबैलाई समेट्दै बेलायतका विभिन्न स्थानमा खेलाइने योजना आयोजकले बनाएका छन्।  

आयोजकका अनुसार टीम दर्ता शुल्क १ सय ५० पाउन्ड छ । हरेक टीममा १८ जना खेलाडीको नाम दर्ता गरिनेछ भने एक खेलमा दर्ता भएकामध्ये कुनै पनि ११ जनालाई खेलाउन सकिनेछ।  

संयोजक सापकोटाका अनुसार अहिले प्रतियोगितामा नटिङहम समाजबाट २ टीम तथा बर्मिङहम, लेस्टर, ग्रान्थम र पिटरबरोबाट एकएक गरी जम्मा ६ टीम दर्ता भइसकेका छन्।

तीन महिनासम्म चल्ने यो लिगमा थप टिमहरु समेत दर्ता हुने आयोजकको अपेक्षा छ । लिगमा कम्तिमा २६ खेल खेलाइनेछ।  

लिगको समापनमा एक भव्य समारोह गरी खेलाडी र टिमलाई प्रोत्साहन गरिने  संयोजक सापकोटाले बताए ।

लिगका विजेतालाई नगद तथा ट्रफीसहितको पुरस्कार दिइनेछ। पुरस्कारको राशी निर्क्योल नभइसकेपनि गत वर्ष विजेतालाई १५ सय नगद प्रदान गरिएकोमा यसपटकको उक्त रकम बढाउने लक्ष्य आयोजकले राखेका छन्।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले विदेशमा पनि नेपाली युवाहरुको खेलप्रतिको लगाव देख्दा आफूलाई गर्व महशुस हुने बताउँदै लिगलाई सफलतापूर्वक सम्पन्न संस्थाको पूर्ण साथ रहने प्रतिवद्धता व्यक्त गरे।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू