शनिबार, वैशाख ८, २०८१
12:43 | १७:२८

दक्षिण कोरियाली र अमेरिकी राष्ट्रपतिबीच पहिलो शिखर वार्ता

रासस–सिन्ह्वा मे २१, २०२२

तस्बिर एपी

सोल, ७ जेठ–दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल र अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार सियोलमा पहिलो शिखर वार्ता गरेका छन् ।

सो शिखर सम्मेलन सियोलको केन्द्रीय जिल्ला योङ्सानस्थित दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा भएको थियो ।

राष्ट्रपति युनले मे १० मा पदबहाली गर्दा राष्ट्रपतिको कार्यालयलाई ब्लू हाउसबाट सो स्थानमा स्थानान्तरण गरेका थिए ।

संयुक्त विज्ञप्तिमा जनाइए अनुसार उक्त वार्तामा दुई देश बीचको गठबन्धन गहिरो र व्यापक रणनीतिक सम्बन्धमा परिपक्व हुँदै गएको धारणा व्यक्त गरिएको थियो ।

दुई राष्ट्रपतिले सेमीकन्डक्टर, इको–फ्रेन्डली इलेक्ट्रिक वाहन ब्याट्री, आर्टिफिसियल इन्टेलिजेन्स, क्वान्टम टेक्नोलोजी, बायोटेक्नोलोजी र स्वायत्त रोबोटिक्सका साथै साइबर सुरक्षा लगायत महत्त्वपूर्ण र उदीयमान प्रविधिहरूमा आपसी सहयोगलाई गहिरो र फराकिलो बनाउने वाचा समेत व्यक्त गरेका छन् ।

राष्ट्रपति युन र बाइडेनले रक्षा उद्योगमा द्विपक्षीय सहयोगको बढ्दो सम्भावनालाई आत्मसात् गर्दै रक्षा क्षेत्र आपूर्ति शृङ्खला, संयुक्त विकास र निर्माण जस्ता क्षेत्रमा साझेदारीलाई बलियो बनाउन सहमत भएको जनाइएको छ ।

यसैगरी अन्तरिक्ष अन्वेषणमा संयुक्त अनुसन्धानलाई बढावा दिन सहमत भएको र संक्रामक रोगको खतरालाई रोक्न, तयारी गर्न र प्रतिक्रिया दिन बहुपक्षीय प्रयासहरूलाई बलियो बनाउन सहयोग गर्ने वाचा व्यक्त गरेका छन् ।

राष्ट्रपति बाइडेन तीन दिने भ्रमणका लागि शुक्रबार यहाँ आइपुगेका हुन् । अमेरिकी राष्ट्रपतिले कोरियाली राष्ट्रपतिलाई उचित समयमा वासिङ्टन भ्रमणको निम्तो दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू