शनिबार, वैशाख ८, २०८१
01:54 | ०६:३९

भवन आगलागीमा २७ को ज्यान गयो

रासस/सिन्ह्ववा मे १४, २०२२

तस्बिर एएफपी

नयाँ दिल्ली, ३१ बैशाख- भारतको नयाँ दिल्लीस्थित एक भवनमा भएको आगलागीमा परी कम्तीमा पनि २७ जनाको ज्यान गएको छ ।
भारतीय राजधानी नयाँ दिल्लीको मुन्डका मेट्रो स्टेशनमा रहेको एक भवनमा शुक्रबार राति आगो लागेको थियो ।

त्यस आगलागीमा परी अरु कम्तीमा पनि ४० जना जलेर घाइते भएका छन् । ती घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको बताइएको छ ।

उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । भर्ना भएकाहरुको अवस्था कतिपयको गम्भीर रहेकाले यस दुर्घटनामा परेर ज्यान जानेको संख्या बढ्न सक्ने पनि अधिकारीहरुले जनाएका छन् ।

सो भवन ठूलो थियो र यहाँ कयौं कम्पनीका कार्यालय पनि छन् । यो भवनको दोस्रो र तेस्रो तल्लाबाट मात्र २० ओटा शव फेला पारिएको छ भने अरुतिर खोजी कार्य हुदैछ ।

यहाँ कम्तीमा पनि २४ ओटा अग्निनियन्त्रक परिचालन गरिएको छ । ठूलो भवन र धेरै नागरिकहरु त्यहाँ रहेकाले यस आगलागीबाट ठूलो क्षति पुग्नसक्ने बताइएको छ । आगलागीको कारण भने पत्ता लागेको छैन ।

विद्युत सर्ट भएकाले आगो लागेको हुनसक्ने प्रारम्भिक जानकारी प्रहरीले दिएको छ । तर यसको कारणका बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

भारतका राष्ट्रपति रामनाथ कोभिन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले सो आगलागीको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू