शुक्रबार, वैशाख ७, २०८१
10:07 | १४:५२

न्यूयोर्कवासी लेखक/पत्रकार किशोरको दोस्रो पुस्तक ’जिरो माइल’ सार्वजनिक

नेपाली लिङ्क अप्रिल १९, २०२२

लन्डन । न्यूयोर्क निवासी संचारकर्मी लेखक/ पत्रकार किशोर पन्थीद्वारा अमेरिकी अध्यागमनका विषयमा नेपाली भाषामा लेखिएको पुस्तक ‘जिरो माइल’ प्रकाशित भएको छ।

खसोखासका प्रधानसम्पादक तथा लेखक पन्थीद्वारा लेखिएको पुस्तक ‘जिरो माइल’को लोकार्पण र आशिष फाउण्डेसन नेपालको उर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसालले शुभारम्भ गरेकी हुन् ।

नमस्ते मिडियाद्वारा शनिबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री भुसालले भनिन्, ‘देशको वास्तविकता बुझ्न नसकेका कारण कतै रुखमै डलर फल्छ कि ? भन्ने लाग्छ होला, खासमा अमेरिकामा भौतिक पूर्वाधारको विकास र विधिबाट चल्ने कुराको लागि हो, तर हाम्रो देश कम छैन र होइन, हामीले लामो समय राजनीतिक व्यावस्था परिवर्तनमै लागेका कारण भने जस्तो पूर्वाधरको विकास गर्न सकेका छैनौँ ।’

पुस्तक ‘जिरो माइल’मा अमेरिकामा आप्रवासी र गैर आप्रवासी भिसामा आउन चाहनेहरु र अमेरिका आइसकेकाहरुका लागिमात्र नभई अमेरिकाको अध्यागमन कानूनबारे उत्सुकहरुका लागि समेत जानकारीहरु समेटिएको छ । अमेरिकाको अध्यागमन कानूनको बारेमा सही जानकारी नहुँदा कैयौँ व्यक्तिले समस्या भोग्नु परेको र कैयौँ व्यक्ति दलालको फन्दामा परेर मानव तस्करीको शिकार समेत हुने गरेकाले उनीहरुलाई समेत पुस्तकले सही जानकारी प्रदान गर्ने लेखक पन्थीले बताए ।

पुस्तकमा अध्यागमनबारे मात्र नभई आप्रवासीहरुले ध्यान दिनुपर्ने अन्य विषयहरुमा समेत टिप्सहरु छन् । अमेरिकाको जटिल अध्यागमन कानूनलाई सरल तरिकाले व्याख्या गरेको हुँदा पाठकलाई बुझ्न निकै सजिलो रहेको लेखक पन्थीले बताए। नेपालको गुल्मीमा जन्मिएका किशोर पन्थी १२ वर्षदेखि न्युयोर्कमा रहेर पत्रकारिता गर्दै आएका छन्।

२ सय ८२ पृष्ठको पन्थीको पुस्तक जिरो माइल नमस्ते इन्टरनेशल मिडिया ग्रुप प्राइभेट लिमिटेडले प्रकाशित गरेको छ । पुस्तकको मूल्य नेपालमा ५ सय रुपैया र अमेरिकामा २० डलर छ । पुस्तक लेखकले आफ्ना स्वर्गीय भान्जा आशिष खनालप्रति समर्पित गरेका छन् । खसोखासकर्मी समेत रहेका खनालको गत मार्च २ मा २६ वर्षको उमेरमा असमायिक निधन भएको थियो ।

पन्थीका भान्जा आशिष खनालको स्मृतिमा आयोजित कार्यक्रममा ‘जिरो माइल’को विमोचन गरिनुका साथै अल्पायुमै निधन भएका २६ वर्षीय उनका भान्जा आषिस खनालको नाममा ‘आशिष फाउण्डेसन’ को उद्घाटनसमेत गरिएको थियो ।

जिरो माइलमा लेखक पन्थीले खसोखासमा रिपोर्टिंग गरेका दर्जनौं चर्चित रिपोर्ट समावेश गरेका छन्। यो कृतिमा नेपालबाट अमेरिका आउनु अघि र अमेरिका आईसकेपछि जान्नै पर्ने टिप्सहरू पनि समेटिएका छन्।

‘यो आप्रवासी र जिज्ञासुहरूका लागि लेखिएको पुस्तक हो, जटिल अमेरिकी आप्रवासन नियम र नियमहरू सरल भाषामा प्रस्तुत गरिएको छ’ विमोचनपछि पत्रकार पन्थीले भने । अमेरिकाको अध्यागमन कानूनको बारेमा सही जानकारी नहुँदा कैयौँ व्यक्तिले समस्या भोग्नु परेको र दलालको फन्दामा परेर मानव तस्करीको शिकार समेत हुने गरेकाले उनीहरुलाई समेत पुस्तकले सही जानकारी प्रदान गर्ने पनि लेखक पन्थीले बताएका छन् ।

अमेरिका विश्वभरका आप्रवासीहरुको आकर्षक गन्तव्य रहेको र अमेरिकाबाट आप्रवासीहरुको नयाँ यात्रा समेत सुरु हुने भएकाले जिरो माइलका रुपमा रहेकाले पुस्तकको नाम जिरो माइल राखिएको उनले बताए । यसअघि पन्थीको पहिलो पुस्तक ‘कम्पन’ बजारमा आइसकेको छ ।

लेखक पन्थी सामाजिक मुद्दा, आप्रवासन र राजनीतिका विषयमा कलम चलाउँछन् । अमेरिकी राज्य विभागद्वारा पहिलो मान्यता प्राप्त नेपाली पत्रकारका रुपमा उनले राष्ट्रपति लाइफटाइम अचिभमेन्ट अवार्ड पनि प्राप्त गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू