शुक्रबार, चैत १६, २०८०
23:50 | ०५:३५

पत्रकार महासंघ यूकेले दशौँ स्थापना दिवस मनाउने, जुलाइ १० मा विशेष कार्यक्रम

नेपाली लिङ्क मार्च २७, २०२२

लन्डन। नेपाल पत्रकार महासंघको बेलायत शाखा स्थापनाको दशौँ वार्षिकोत्सव मनाइने भएको छ । आगामी जुलाई १० तारिख एक विशेष समारोह आयोजना गरी स्थापना दिवस मनाउन लागिएको हो ।  

आइतबार शाखा अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा सम्पन्न कार्यसमिति बैठकले स्थापना दिवस कार्यक्रमको संयोजकमा महासचिव नरेन्द्र बस्नेत र सहसंयोजकमा उपाध्यक्ष प्रमिला लावुङ राईलाई चयन गरेको छ । 

त्यस्तै, कार्यक्रमको लागि आर्थिक कोष व्यवस्थापनको जिम्मा कोषाध्यक्ष एसके गुरुङ र सहकोषाध्यक्ष सुरेन्द्र इङ्नामलाई प्रदान गरिएको छ। 

शाखाको दुई साताअघि सम्पन्न कार्यसमिति बैठकले अबदेखि हरेक वर्षको जुलाइ १० लाई स्थापना दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । शाखाले यस वर्ष पहिलोपटक स्थापना दिवस मनाउने तयारी थालेको हो ।  

दशौँ स्थापना दिवस समारोहमा एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार वितरण, शाखाका अग्रजहरुको सम्मान, दशौँ वार्षिकोत्सव विशेष स्मारिका प्रकाशनसहित विभिन्न नेपाली सांस्कृतिक कार्यक्रमहरु समेत गरिने शाखाले जनाएको छ । 

कार्यक्रममा पत्रकारिता तथा सञ्चार जगतसँग सम्बन्धित राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका अतिथिहरुको साथै बेलायतस्थित नेपाली समुदायका प्रतिनिधिहरुको सहभागिता रहनेछ ।

कार्यक्रमका लागि भेन्यू, समय, कार्यक्रम तालिकादेखि जिम्मेवारी विभाजनलगायतका कार्य केही साताभित्रै टुंगो लागाइने कार्यक्रम संयोजक एवम् शाखाका महासचिव बस्नेतले जानकारी गराए । कार्यक्रम सफल पार्ने उद्धेश्यले शाखाका अग्रज एवम् संस्थापकहरु, पूर्व अध्यक्षहरु, सल्लाहकारहरुसहित समुदायका सरोकारवाला विभिन्न पक्षसँग सल्लाह र परामर्श समेत गर्ने योजना बनाइएको उनले बताए ।  

नेपाल पत्रकार महासंघको वैदेशिक शाखाका रुपमा सन् २०११  मा बेलायत शाखा स्थापना गरिएको थियो । नवीन पोखरेल संस्थापक अध्यक्ष रहेको शाखालाई चिरन शर्मा र नरेश खपांगीमगर हुँदै अहिले ध्रुवराज अर्यालले नेतृत्व गरिरहेका छन्।  

शाखाले बेलायतमा क्रियाशिल नेपाली पत्रकारहरुको सीप, क्षमता अभिविद्धिका साथै बेलायत, तथा नेपालमा कार्यरत पत्रकारहरुको प्रोत्साहन र सहयोगका लागि विभिन्न कार्य गर्दै आएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू