बिहीबार, वैशाख ६, २०८१
15:17 | २०:०२

गुडिरहेको बसमा आगलागी

रासस मार्च २५, २०२२

काठमाडौँका लागि शुक्रबार कालीकोटको जितेगाड बजारबाट छुटेको ना ८ ख २३५६ नम्बरको क्षतिग्रस्त यात्रुबाहक बस । तस्वीर-शुरबहादुर सिंह, रासस

कर्णाली । कालीकोटबाट काठमाडौँका लागि छुटेको छुटेको ना८ख २३५६ नंको यात्रुवाहक बसमा आगलागी हुँदा पूर्ण रुपले नष्ट भएको छ । बस आज बिहान ७:३० बजे कालीकोटको जिते बजारबाट छुटेको थियो ।

कालीकोटदेखि सुर्खेत–नेपालगन्ज हुँदै काठमाडौँका लागि जाँदै गरेका बस गुडिरहेको अवस्थामा बराहताल गाउँपालिका–८ सुर्खेत ओदाल तालस्थित दिउँसा ३:४५ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

तार सट भएर आगलागी हुँदा बस पूर्ण रूपले नष्ट भएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए । “जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रहरी टोली बस जलेको सूचना पाउने बित्तिकै वीरेन्द्रनगर नगरपालिकाको दमकल लिएर त्यहाँ पुगेको थियो”, उनले भने, “दमकलले आगो निभाए पनि बस पूर्णरुपले जलेको छ ।”

आगलागी भएलगत्तै बसमा सवार यात्रु झरेपछि मानवीय क्षति नभएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए । बस चालक सुरेन्द्र थापाले ओदालतालस्थित सडकको उकालो सकिने अन्तिम मोडमा बस चल्दाचल्दै केही पड्किएको जस्तो आवाज आएको बताए ।

“घुम्तीमा बस मोड्ने क्रममा केही पड्किएको आवाज आयो । हत्तपत्त ह्यान्ड ब्रेक लगाएँ र झरेर हेर्दा गेयरबक्स र इन्जिनको बीचमा सानो आगो बलेको थियो”, चालक थापाले भने, “यात्रुहरू सबै झर्नुभयो । सेक्टा भाँचेर आगो निभाउन खोज्दै थियौँ तर आगोले एकैचोटि माथि भेट्यो ।”

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू