बुधबार, वैशाख १२, २०८१
04:39 | ०९:२४

तीन तहकै निर्वाचनसम्म गठबन्धन रहन्छः प्रचण्ड

रासस मार्च २४, २०२२

निर्वाचन क्षेत्रमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन बिहीबार चितवन आएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भरतपुर विमानस्थलमा । तस्वीर- नारायण अधिकारी, रासस

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनै तहको निर्वाचनसम्म गठबन्धन जारी रहने बताएका छन् ।

माडी नगरपालिका–९ राईडाँडामा कुसुमखोला नमूना चेपाङ बस्तीको आज उद्घाटन गर्दै उनले आन्तरिक शक्ति बलियो बनाउन लाग्नुपर्नेमा जोड दिए ।

स्थानीय, प्रदेश र संघीय निर्वाचनमा अहिलेको सत्ता गठबन्धनसँगै अघि बढ्ने भन्दै प्रचण्डले गठबन्धन हुँदै गर्दा पनि आन्तरिक शक्ति बलियो हुनुपर्ने बताए ।

आउँदो निर्वाचनमा पार्टीलाई बलियो सावित गर्न गाउँ तहमा संगठन बलियो बनाउनुपर्नेमा उनको जोड थियो । गएको निर्वाचनमा आफूले गरेको बाचा पूरा हुने चरणमा गएको भन्दै उनले बाँकी रहेका केही योजना एक वर्षभित्रमा सम्पन्न हुने बताए । माडी उनको निर्वाचन क्षेत्र हो ।

पूर्वाधारका धेरै काम सम्पन्न भएको प्रचण्डको भनाइ थियो । प्रचुर सम्भावना बोकेको माडीको विकासमा आफू लागिपरेको दाहालले बताए ।

सो स्थानमा ८६ घर छन् । संसद् विकास कोष, माडी नगरपालिका र दाताहरूको सहयोगमा ती घर निर्माण गरिएका हुन् । यसअघि प्रचण्डले रु पाँच करोड ३७ लाखमा सम्पन्न माडी नगरपालिका–२ को पाँच किलोमिटर लामो चिरौली सडक उद्घाटन गरेका थिए । गत वर्ष उनले सो सडक शिलान्यास गरेका थिए ।

संघीय सरकार र माडी नगरपालिकाको बजेटबाट सडक निर्माण गरिएको हो । दाहालले आजै माडी नगरपालिका–७ र ८ जोड्ने हुलाकी सडकमा निर्माण गरिएको परुईखोलाको पुल उद्घाटन गरेका थिए । दाहालको निर्वाचन क्षेत्र हेर्दै आएकी निशा न्यौपानेका अनुसार सो सडकमा निर्माणाधीन १३ वटा पुलमध्ये गत साल एउटा सम्पन्न भएको थियो । बाँकी ११ पुल निर्माणाधीन अवस्थामा छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू