शनिबार, वैशाख ८, २०८१
09:20 | १४:०५

नेटोले युक्रेनी आकाशलाई उडान निषेधित क्षेत्र घोषणा नगर्ने

रासस-एएफपी मार्च ४, २०२२

पूर्वी रोमानियाको आकाशमा उडिरहेको अमेरिकी नेभी फाइटर जेट । तस्बिर एपी

ब्रसेल्स, २० फागुन–रूसको यूक्रेनी भूगोलमा बमबारी रोक्न सहयोग गर्न युक्रेनी आकाशलाई विदेशी उडान निषेधित क्षेत्र लागू नगर्ने उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले बताएको छ ।

नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले शुक्रबार कीभले रूसको बमबारी रोक्न सहयोग गर्न आह्वान गरेपछि गठबन्धनले युक्रेनमाथि उडान निषेधित क्षेत्र लागू नगर्ने बताएका हुन् ।

उडान निषेधित क्षेत्र कार्यान्वयन गरेमा नेटो सैनिक विमानहरूलाई युक्रेनको आकाशमा पठाउनु र त्यसपछि रूसी विमानहरूलाई झार्नु पर्ने स्टोल्टेनबर्गले नेटो विदेश मन्त्रीहरूसँगको बैठकपछि बताए ।

“यदि हामीले त्यसो गरयौं भने हामीले यूरोपमा युद्धको अन्त गर्न सक्ने केही कुरा हुनेछैन । यूरोपमा थुप्रै राष्ट्रहरू समावेश छन् र यसले गर्दा यूरोपलाई पनि युद्धमा धकेल्ने छ र मानव दुःखकष्ट थप चर्किन सक्छ । त्यसैले हामीले यो अप्रिय निर्णय गर्नु परेको हो”, उनले प्रष्टयाए ।

युक्रेनी नेतृत्वले देशभरका शहरहरूमा अन्धाधुन्ध बम विस्फोट रोक्न सहयोग गर्न अपील गरेपनि अमेरिकी नेतृत्वमा रहेको समूह (नेटो) ले यूक्रेनबारे आफ्नो अडान राखेको हो ।

स्तोल्टेनबर्गले भने, “रूसी सशस्त्र फौजले भारी हतियार ल्याएर देशभरि आक्रमण गरिरहँदा मृत्यु, पीडा र विनाशको कारण आउने दिनहरू अझ खराब हुने सम्भावना छ ।”

युक्रेनी विदेश मन्त्री डिमिट्रो कुलेबाले किभको भिडियोलिंकमार्फत् सहयोगी नेटो गठबन्धनलाई सम्बोधन गरेका थिए ।

सम्बोधनपछि गरेको ट्वीटमा उनले नेटोलाई संकेत गर्दै भने, “धेरै ढिलो हुनुभन्दा पहिले अहिले नै निर्णय गर्नुहोस् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई सिरियाको अवस्थामा परिणत गर्नबाट रोक्नुहोस् । हामी लड्न तयार छौं । हामी लडिरहनेछौं । तर अहिले हामीलाई ठोस, दृढ र छिटो–छिटो मद्दत दिन हामी साझेदारहरूलाई आग्रह गर्न चाहन्छौं ।”

नेटो सदस्यहरूले गठबन्धनको घेरा बलियो बनाउन पूर्वी युरोपमा हजारौं फौज पठाएको छ । तर सैनिक नै उतार्न अस्वीकार गरिरहेको छ ।

स्टोल्टेनबर्गले थपे, “नेटो क्षेत्रको प्रत्येक इञ्चको सुरक्षा र रक्षा गर्न हामी जे गर्नुपर्छ त्यही गरिरहनेछौं । नेटो रक्षात्मक गठबन्धन हो । हाम्रो मुख्य काम हाम्रा ३० राष्ट्रहरूलाई सुरक्षित राख्नु हो । हामी यस द्वन्द्वको भाग होइनौं र युक्रेनभन्दा बाहिर यो बढ्दैन र फैलिंदैन भन्ने कुरा सुनिश्चित गर्ने हाम्रो दायित्व छ ।”

यदि नेटो युक्रेनी आकाशलाई उडान निषेधित गर्न इच्छुक छैन भने सहयोगी राष्ट्रहरूले रूसी हवाई आक्रमण रोक्न युद्धक विमान र वायु सुरक्षा प्रणालीको आपूर्ति गर्नुपर्ने धारणा व्यक्त भइरहेको छ ।

युरोपेली राष्ट्रहरूले अहिलेसम्म विमान वितरण नगर्ने र अधिकांश हातहतियारहरू हल्का हतियार केन्द्रित भएको बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू