शुक्रबार, चैत १६, २०८०
07:02 | १२:४७

युक्रेनका २ सय ४४ नेपाली सुरक्षित गन्तव्यमा

नेपाली लिङ्क फ्रेब्रवरी २८, २०२२

लन्डन । रुस–युक्रेन द्वन्द्वका कारण प्रभावित २४४ नेपाली सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा गठित ‘रुस–युक्रेन द्वन्द्वप्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ ले नेपाली सुरक्षित रुपमा गन्तव्यमा पुगेको जनाएको छ ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै समितिले युक्रेन छाडेर पोल्याण्डमा ६०, स्लोभाकिया र रोमानियामा १२÷१२, हंगेरीमा चार र मोल्डोवामा दुईजना सकुशल पुगेका जनाएको छ ।

सुरक्षित गन्तव्यमा जाने क्रममा पोल्याण्डको सीमामा १३०, स्लोभाकियाको सीमामा १२, रोमानियाको सीमामा १० र मोल्डोवा सीमामा दुई नेपाली दोस्रो मुलुक जान रोकिएका छन् ।

उनीहरुले आज साँझसम्म सीमा पार गर्न सक्ने अनुमान गरिएको छ । गैरआवासीय नेपाली संघ युक्रेनका अनुसार युक्रेनभित्र ४० परिवार स्थायी रुपमा बसोबास गर्दै आएका छन् । उच्चस्तरीय समितिका अध्यक्ष जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा आइतबार बसेको बैठकले युद्धका कारणले विस्थापित नेपालीलाई सुरक्षित स्थानान्तणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको थियो ।

बैठकमा राजदूत खड्काले युक्रेनबाट विस्थापित ३४ नेपालीलाई दूतावासले यात्रा अनुमतिपत्र जारी गरेको जानकारी गराएका थिए । उच्चस्तरीय समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा बद्री केसीले संघका अध्यक्ष कुमार पन्त नेपालीको उद्धारका लागि पोल्याण्डको सीमा क्षेत्रमा आफैँ परिचालित भएको जानकारी दिए ।

 

गैरआवासीय नेपाली संघ पोल्याण्डका अध्यक्ष जीवन केसीले धेरै जना नेपाली सीमा क्षेत्रमा रोकिएकोमा सोमवारदेखि सीमा क्षेत्र अयलक खुकुलो बनाएका कारण नेपालीहरु बाहिर निस्कन सहज भएको बताए ।

स्वास्थ्य समितिका संयोजक डा. बोधराज सुबेदीले सीमा क्षेत्रमा आफै पुगेर ११ जना नेपालीलाई उद्धार गरेर सुरक्षित स्थानमा पुराएको जानकारी दिए । उनले सीमा क्षेत्रमा महिला र बच्चाहरुलाई पुरुषको तुलनामा सहज भएको बताए । युक्रेन र पोल्याण्डको सीमा क्षेत्रमा नेपालीहरुको लागि खानाको कुनै समस्या नरहेको पनि उनले जानकारी दिए ।

एनआरएनए स्लोभाकियाका प्रतिनिधि जयप्रसाद सिवाकोटीले अप्ठ्यारोमा परेका ८ जना नेपालीलाई आफ्नै रेष्टुरेन्ट खाली गरेर खाना बस्न प्रवन्ध गरेको जानकारी दिए । उनले स्लोभाकिया पुगेका नेपालीहरुलाई सुरक्षित क्षेत्रमा पुरयाउन सकृय रुपमा लागि परेको बताए ।

रोमानियाका लागि नेपाली काउन्सिलर नवराज पोखरेलले १२ जना नेपाली सुरक्षित रुपमा रोमानिया भित्रिएको जानकारी दिए । उनले कयौ नेपाली रोमानियाबाट हङ्गेरी गैरकानूनी रुपमा छिर्न खोजेको बताए । उनले एउटा देशमा शरणार्थीको लागि आवेदन दिएपछि सो आवेदनको अन्तिम सुनवाई नभएसम्म अर्को देशमा जानु गैरकानूनी हुने जानकारी दिए ।

बैठकमा गैरआवासीय नेपाली संघ चेक रिपब्लिकका अध्यक्ष यदु पन्थी, एनआरएनए जर्मनीका अध्यक्ष मिलन पन्त, सुरेन्द्र श्रेष्ठ (हङ्गेरी), गोपाल राई, सोनाम शेर्पा (स्लोभाकिया), सञ्जय कार्की (हङ्गेरी) लगायतले आआफ्नो भनाइ राखेका थिए ।

उच्चस्तरीय समितिले सीमा क्षेत्रमा थप स्वयंसेवक परिचालन गर्ने, नेपाल फर्किन चाहनेहरुका लागि हवाई टिकट लिन समन्वय गर्ने, सीमा क्षेत्रमा आएका नेपालीलाई खाना बस्न व्यवस्था गर्ने, कानूनी परामर्शका लागि एनआरएनए राष्ट्रिय समिति परिचालन, उद्धारको लागि स्थानीय रुपमा संयन्त्र गठन गर्ने, स्वयंसेवकहरुका लागि आवश्यक परिचयपत्र प्रदान गर्ने, आर्थिक संकलन गर्ने जस्ता गतिविधिलाई अघि बढाएको छ ।

बैठकमा उच्चस्तरीय समितिका सदस्य सचिव चिरन्जिवी खड्काले समितिले विगत २४ घण्टामा गरेका गतिविधिबारे प्रकाश पार्दै स्थानीय रुपमा समन्वय समिति गठन गरेर नेपालीहरुको उद्धारको काम भइरहेको जानकारी दिए । समितिले युद्धबाट विस्थापित नेपालीहरुको तथ्यांक समेत संकलन गर्ने तयारी गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू