शुक्रबार, चैत १६, २०८०
07:17 | १३:०२

रूसी आक्रमणपछि तीन लाख ७० हजार यूक्रेनी विदेशी शरणमा

रासस/एएफपी फ्रेब्रवरी २७, २०२२

हंगेरीको सिमामा आइपुगेका युक्रेनी शरणार्थी । तस्बिर एएफपी

पेरिस, १५ फागुन–रूसले बिहीबार आक्रमण गरेयता दशौँ हजार युक्रेनी देश छोडेर भागेका छन् । संयुक्त राष्ट्रसंघ शरणार्थी निकाय, यूएनएचसीआरले बताएअनुसार अहिलेसम्म कम्तीमा तीन लाख ७० हजार मानिसहरू यस युद्धबाट बच्न विभिन्न विदेशी मुलुकमा शरण लिन पुगेका छन् ।

यदि स्थिति थप खराब बनेको खण्डमा यूएनएचसीआरले ४० लाखसम्म यूक्रेनी शरणार्थीलाई व्यवस्थापन गर्ने योजना बनाएको छ । पोल्याण्ड, रोमानिया, हङ्गेरी र माल्दोभामा यूक्रेनी नागरिकहरूले शरण लिएका प्रारम्भिक सूचना छ ।

पोल्याण्ड

पोल्याण्डका सीमा रक्षकहरूको भनाइअनुसार करिब एक लाख ५६ हजार युक्रेनी पोल्याण्डको सीमा पार गरेर भागेका छन् । शुक्रबार मात्रै ५० हजार युक्रेनी पोल्याण्ड पुगेका थिए ।

पोल्याण्डका अधिकारीले ९० प्रतिशत शरणार्थीहरूलाई साथीभाइ वा सम्बन्धले स्थापना गरिरहेको भए तापनि सीमा नजिकै नौवटा स्वागत केन्द्रहरू स्थापना गरिएको बताएका छन् । रूसको आक्रमण अघि पोल्याण्डमा १५ लाख युक्रेनीमुलका नागरिकले बसोबास गर्दै आएका छन् । देशभरिका मानिसहरू नयाँ व्यक्तिहरूलाई आवास, पैसा, लुगाफाटा र काम दिन जुटिरहेका बताइएको छ ।

रोमानिया

बिहीबारदेखि रोमानिया पुगेका ४७ हजार युक्रेनीमध्ये २२ हजार अन्य मुलुकमा गइसकेको सरकारले बताएको छ । अधिकांश मानिसहरू देशको उत्तरमा सिरेट हुँदै यात्रा गरिरहेका छन्, जहाँ मार्माटाई नजिकै दोस्रो शिविर स्थापना गरिएको छ । रोमानियालीहरूले पनि शरणार्थीहरूलाई खाना र लुगाफाटा अनुदान दिन सामाजिक सञ्जालहरूमार्फत् सबैलाई आग्रह गरेका छन् ।

हङ्गेरी

यस आक्रमणपश्चात् लगभग ७१ हजार यूक्रेनी शरणार्थी हङ्गेरी पुगेका यहाँको आन्तरिकमामिला मन्त्रालयले जानकारी गराएको छ । जाहोनी जस्ता धेरै सीमावर्ती शहरहरूले स्वागत केन्द्रको रूपमा सार्वजनिक भवनहरू स्थापना गरेका छन् । साधारण मानिसहरूले खाना र लुगा अनुदान दिएका छन् ।

मोल्दोभा

शनिबारको अन्ततिर कम्तीमा पनि २५,००० युक्रेनी नागरिक मोल्दोभा पार गरेका थिए । संयुक्त राष्ट्रको शरणार्थी एजेन्सीको मध्य यूरोप प्रमुख रोलान्ड शिलिङले ‘हृदयविदारक स्थिति’ प्रति यसको प्रतिक्रियाका लागि सानो राष्ट्र माल्दोभाको प्रशंसा गर्नुभएको छ । उहाँले स्थानीय जनताका साथसाथै मोल्दोभियाली सरकारले कठीन परिस्थितिमा व्यवहार गर्ने तरिकामा ‘साँच्चै प्रभावकारिता’ देखिएको बताउनुभयो ।

प्रधानमन्त्री नटालिया गाभ्रिलिताले शनिबार पलाङ्काको सीमा पार गर्न भ्रमण गर्नुभएको थियो । उक्त स्थानमा पाल गाउँ र चिकित्सा सुविधाहरू स्थापना गरिएका छन् । उहाँले ट्वीट गर्दै भन्नुभयो, “यूक्रेनका लागि यी अन्धकारमय दिनहरूमा हामी यसका नागरिकहरूको पक्षमा उभिन्छौं । “सुरक्षित यातायात वा आवासको खाँचो परेकाहरूलाई मोल्दोभाले मदत गर्नेछ । हामी तपाईंको युक्रेनसँगै छौं !”

आन्तरिक रूपमा विस्थापित

युक्रेनभित्र आइतबार बिहानसम्ममा लगभग एक लाख ६० हजार मानिसहरू आन्तरिक रूपमा विस्थापित भएको अनुमान गरिएको छ । संयुक्त राष्ट्र शरणार्थी प्रमुख फिलिपो ग्रान्डीले यसबारे ट्वीटमा भन्नुभएको छ, ‘यूक्रेनमा विस्थापन बढिरहेको छ तर सैन्य आक्रमणको स्थितिले सङ्ख्या अनुमान गर्न र सहायता प्रदान गर्न कठिन बनाएको छ ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू