बिहीबार, वैशाख १३, २०८१
10:27 | १५:१२

एनआरएनए निर्वाचन नरोकिने दाबी

नेपाली लिङ्क फ्रेब्रवरी १९, २०२२

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ताहरुले मार्च तेस्रो साता तय गरिएको निर्वाचन कुनै पनि हालतमा नरोकिने बताएका छन् । गैरआवासीय नेपाली संघको मार्च २१ र २२ तारिख तय गरिएको निर्वाचन तयारीको लागि टिम बद्री केसीले शनिवार आयोजना गरेको अन्तरकृया कार्यक्रममा बोल्ने वक्ताहरुले संघको निर्वाचन हुन ढिला हुँदा अभियान नै गम्भीर दुर्घटना उन्मुख हुन लागेको भन्दै चिन्ता व्यक्त गरे ।

गैरआवासीय नेपाली संघको गत अक्टोवरको लागि तय भएको १० औं महाधिवेशन पटकपटक रोकिएपछि संघका अभियन्ताहरुले संघलाई विघटनको दिशामा लैजान खोजिएको भन्दै आक्रोश व्यक्त गरे । करिब ४० देशका राष्ट्रिय समितिका अध्यक्षहरुको उपस्थिति रहेको कार्यक्रममा बोल्ने वक्ताहरुले संघको महाधिवेशन प्रतिनिधि विवाद मिलाउन गठित उच्चस्तरीय समितिका संयोजक शेष घलेले ६१ देशका महाधिवेशन प्रतिनिधि कटौती गर्न लागेकोप्रति असन्तुष्टी व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी डा. बद्री केसीले संघको निर्वाचन प्रकृया अघि बढी सकेको बताउँदै उच्चस्तरीय समितिका दुई जना सदस्य निर्वाचन रोक्न लागि परेको आरोप लगाए । उनले उच्चस्तरीय समितिका सदस्यहरुलाई महाधिवेशन प्रतिनिधि विवाद मिलाउने बाहेक अन्य ‘म्यान्डेट’ नभएको बताए ।

उच्चस्तरीय समितिका सदस्यहरु म्यान्डेटभन्दा बाहिर गएर मिलाउन भन्दा समस्या बल्झाउने दिसामा लागेको केसीले बताए । उनले संघको अभियान गिजोलिएको बताउँदै अभियानलाई ‘अन्डरमाइन्ड’ नगर्न अनुरोध गरे । उनले कुल आचार्य समूहले आफ्नो पक्षमा भोट नआउने देशका महाधिवेशन प्रतिनिधिलाई तारो बनाएर हटाउन खोजेको बताए ।

कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माले संघको निर्वाचन प्रकृयामा परराष्ट्र मन्त्रालयले हद भन्दा बाहिर गएर हस्तक्षेप गरेका कारण बाध्य भएर पाटन उच्च अदालतमा जानुपर्ने बाध्यता आएको बताए । उनले अदालतले चुनाव गराउन वर्तमान कार्यसमितिमा पूर्णअधिकार दिएपछि अध्यक्ष कुमार पन्तले सबै पक्षलाई समेटेर चुनाव गराउन चाहंदा ढिलाई भएको बताए ।

उनले संघको विवाद मिलाउन गठित उच्चस्तरीय समितिले समस्या समाधान दिनुको सट्टा चुनाव भाँड्न लागेकोमा आक्रोष पोखे । उनले उच्चस्तरीय समितिले नियमावलीका छिद्रा खोजेर ४ वटा देश बाहेकका अन्य देशका महाधिवेशन प्रतिनिधि कटौतीको प्रस्ताव ल्याएको बताए । उनले संस्थापन पक्षले असन्तुष्ट पक्षलाई समेटेर लैजान हदैसम्मको लचकता अपाएको बताए ।

शर्माले भने, ‘असन्तुष्ट पक्षलाई समेटेर लैजान अध्यक्षले हदैसम्मको लचिलोपन देखाउनु भएको छ ।’ उनले संघका पूर्वअध्यक्ष शेष घलेले संघको आन्तरिक मामिलामा हस्तक्षेप मात्र होइन्, निर्वाचित कार्यसमितिको कार्यकारी अधिकार लिन खोज्नु गलत भएको बताए । उनले संघको निर्वाचन प्रकृया लम्बिदै जाँदा संघका मूल मुद्दाहरु समेत अन्योलपूर्ण बनेको बताए ।

गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीले विभिन्न बाहना बनाएर संघको विवादलाई लम्बाएर चुनाव हुन नदिने षड्यन्त्र भैरहेको बताए । उनले संघभित्र विवाद नीतिको होइन नियतिको भएको बताए । उनले मध्यपूर्व लगायतका देशमा प्रतिनिधि कटौतीको प्रस्तावले विखण्डनको दिसामा गैरआवासीय नेपाली संघको अभियानमा जान सक्ने औंल्याए ।

उनले प्रतिनिधि कटौतीको प्रस्ताव आउनु नै दुर्भाग्यपूर्ण भएको बताए । क्षेत्रीले सहमतिको आधारमा नयाँ नेतृत्व छान्न सकिने तर्क गरे ।

गैरआवासीय नेपाली संघका सल्लाहकार टिबी कार्कीले उच्चस्तरीय समिति गठन प्रकृया नै त्रुटिपूर्ण रहेको बताए । उनले उच्चस्तरीय समितिको सदस्यहरुको चयन गलत तरिकाले भएको हुँदा संघको महाधिवेशन प्रतिनिधि विवाद मिलाउन नसकेको बताए । उनले कुनै उम्मेदवारको पक्षमा लागेका व्यक्तिहरुले निष्पक्ष निर्णय दिन नसक्ने बताए । कार्कीले उच्चस्तरीय समितिका सदस्यहरुले एक गुटको पक्षको पक्षपोषण गरेको प्रति खेद व्यक्त गरे ।

गैरआवासीय नेपाली संघ अफ्रिया क्षेत्रीय संयोजक रोशन थापाले संघको जनमतमाथि प्रहार भएको बताए । उनले संघका पूर्वअध्यक्ष शेष घले समूहले संघको अस्तित्व माथि नै आँच आउने गरि गतिविधि अघि बढाएको बताए ।

उनले अफ्रिका क्षेत्रका प्रतिनिधि कटौतीको प्रस्ताव गरिनु अधिनायकबादको चरण रुप भएको बताए । उनले यस्ता दुष्कर्म नगर्न समेत चेतावनी दिए ।

संघका सचिव गौरी राज जोशी र रामशरण सिमखडाले संचालन गरेको कार्यक्रममा संघका विभिन्न देशका एनआरएनए अध्यक्षहरुले आ-आफ्नो भनाईहरु राखेका थिए ।

कार्यक्रममा केसी प्यानलतर्फबाट उपाध्यक्ष उम्मेदवार रहेका हेमराज शर्मा, महेश श्रेष्ठ, डीबी क्षेत्री, धर्मराज अधिकारी, रोशन थापा र यास्मिन बेगम सैयद, महासचिव उम्मेदवार गौरीराज जोशी, सचिव अजिब गुरुङ ओम, महिला सचिव राधिका गुरुङ टीका, सचिव उम्मेदवार रामशरण सिंखडा र चिरञ्जिवी घिमिरे, सह-कोषाध्यक्ष नारायण सुवेदी, यमुना भट्टराई, युवा संयोजक मिलन छन्त्याल र महिला संयोजक उम्मेदवार संगीता मरहठ्ठा लगायतको उपस्थिति थियो ।

यस्तो छ निर्वाचन तालिका

गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन कार्यतालिका गतसाता नै सार्वजनिक भएको छ । निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत भीमसेन बन्जराका अनुसार मनोनयन दर्ता मार्च ४ र ५ तारिखबाट सुरु हुने भएको छ । कार्यतालिका अनुसार यही फेब्रुअरी १७ देखि २२ सम्म प्रारम्भिक महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन गरिनेछ ।

फेब्रुअरी २३ मा मतदाता नामावली प्रकाशन, फेब्रुअरी २४ देखि २७ सम्म मतदाता नामावलीमाथि दाबी विरोध, आगामी मार्च २ मा दाबी विरोधमाथि निर्णय, मार्च ३ मा अन्तिम नामावली प्रकाशन हुने निर्वाचन समितिले जनाएको छ ।

मार्च ४ र ५ मा उम्मेदवारको मनोनयन पत्र दर्ता, मार्च ६ मा उम्मेदवारको पहिलो नामावली प्रकाशन, मार्च ६ देखि ७ सम्म उम्मेदवारको उम्मेदवारीविरुद्ध दाबी विरोध, मार्च ८ मा उम्मेदवारको मनोनयपत्रको जाँच र उजुरीमाथि निर्णय र मार्च ९ मा उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ ।

यसैगरी मार्च ११ मा उम्मेदवारले मनोनय फिर्ता, मार्च १२ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र मार्च २१ तारिख बिहान १० बजेदेखि २२ तारिख बिहान ९:५९ सम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ । मतदान समाप्त भएलगत्तै मतगणना गर्ने प्रमुख निर्वाचन अधिकृत भीमसेन बञ्जराले जानकारी दिए ।

सङ्घको अध्यक्षका लागि मनोनयन पत्र दर्ता दस्तुर रु १० लाख तोकिएको छ । निर्वाचित पदाधिकारी तथा सदस्यले मनोनयन दस्तुर सपथ ग्रहण अगाडि बुझाउनुपर्नेछ । एक अध्यक्ष, चार उपाध्यक्ष, एक महिला उपाध्यक्ष, एक युवा उपाध्यक्ष, एक महासचिव, एक सचिव, तीन महिला सचिव, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्ष र एक महिला सहकोषाध्यक्ष गरी विभिन्न ५३ पदका लागि निर्वाचन हुनेछ ।

अन्तर्राष्ट्रिय समन्वय परिषद्मा एक महिला संयोजक, एक युवा संयोजक, ६ क्षेत्रीय संयोजक, ६ क्षेत्रीय उपसंयोजक, ६ क्षेत्रीय महिला संयोजक, ६ क्षेत्रीय महिला उपसंयोजक र ६ क्षेत्रीय युवा उपसंयोजकका लागि निर्वाचन हुनेछ । संघको नेतृत्वको लागि वर्तमान उपाध्यक्षद्धय डा बद्री केसी, रविना थापा र कुल आचार्यले आआफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू