आइतबार, जेठ ६, २०८१
20:50 | ०१:३५

प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको निधन

रासस/एएफपी फ्रेब्रवरी ६, २०२२

मुम्बइ, २३ माघ- प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । यसै वर्षको जनवरीमा कोभिड–१९ बाट सङ्क्रमित भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । 

स्वास्थ्य अवस्थामा सुधार नआएपछि उनी हप्तौँदेखि सघन उपचार कक्षमा थिइन् । उपचारका क्रममा नै आइतबार बिहान उनको निधन भएको हो ।

मङ्गेशकरको जन्म सन् १९२९ मा भएको थियो । उनले आफ्नो बुबा दीनानाथको तालिममा प्रारम्भिक रूपमा आफ्नो सांगीतिक यात्रा सुरु गरेकी थिइन् । लताले पाँच वर्षको उमेरबाट नै आफ्ना बुवाबाट सांगीतिक तालिम शुरु गरेकी थिइन् ।  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै मङ्गेशकरको निधनले ‘देशमा कहिल्यै पूर्ण नहुने रिक्तता छोडेको’ बताएका  छन् । मोदीले मङ्गेशकरका गीतहरूले विभिन्न खाले भावनाहरू प्रवाह गरेको र उनले दशकौँसम्म भारतीय चलचित्र जगतलाई नजिकबाट नियालेको बताएका छन् ।  

लता १३ वर्षको हुँदा बुबाको मृत्यु भएको थियो । त्यसपछि चार साना भाइबहिनीको लालनपालनको समेत भूमिका खेल्न बाध्य तुल्यायो र अन्ततः १९४५ मा उनको परिवार मुम्बईमा बसाई सार्नु पर्यो । 

सन् १९६२ मा भारत–चीन युद्धमा मारिएका सैनिकहरूलाई देशभक्तिपूर्ण श्रद्धाञ्जली गाउन सन् १९६३ जनवरीमा भारतको गणतन्त्र दिवस समारोहमा सरकारद्वारा उनलाई निमन्त्रणा गरिएको थियो । उनको ‘ओ द पिपल अफ माइ कन्ट्री’ को प्रस्तुतिले तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले आँसु झारेका थिए । 

उनले भक्ति र शास्त्रीय एल्बमहरू रेकर्ड गर्नुका साथै एक हजार भन्दा बढी चलचित्रमा गीत गाएकी छन् । आधा शताब्दी लामो असाधारण साङ्गीतिक यात्राका क्रममा उनले ३६ भाषामा २७ हजार भन्दा बढी गीत गाएकी छन् ।  

सन् २००१ मा उनले भारतमा नागरिकहरूले पाउने सबैभन्दा उच्च तहको सम्मान ‘भारत रत्न’ प्राप्त गरेकी थिइन् । सन् २००४ मा उनको उमेर ७५ वर्ष पुग्दा बलिउडका प्रसिद्ध निर्देशकमध्ये एक यश चोपडाले ‘मैले उहाँको आवाजमा भगवानको आशीर्वाद देखेँ’ भनेर लेखेका थिए ।

मङ्गेशकरले विवाह भने गरिनन् । उनकी बहिनी आशा भोसले पनि चर्चित बलिउड गायिका हुन् । लताले नेपाली भाषामा पनि गीत गाएकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू