शनिबार, वैशाख १५, २०८१
20:48 | ०१:३३

समयमै स्थानीय तह निर्वाचन गर्न सत्तारूढ दल सहमत

रासस जनवरी १८, २०२२

काठमाडौं । सत्तारूढ गठबन्धन दलहरुबीच संविधान र कानूनले तोकेको समय सीमाभित्रै स्थानीय तहको निर्वाचन गर्ने विषयमा सहमति भएको छ ।

सरकारलाई सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा निर्वाचनसँग जोडिएका विषयमा छलफल केन्द्रित रहेको नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले जानकारी दिए ।

बैठकमा नेताहरुले संविधान र कानूनले गरेको व्यवस्थाअन्तर्गत नै रहेर स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्छ भन्ने सुझाव दिएको जानकारी दिँदै उनले कोभिड–१९ को चुनौतीको कसरी सामना गर्ने भन्ने विषयमा पनि छलफल भएको बताए ।

यस बारेमा सत्तारुढ पाँच दलले आ–आफ्नो दलभित्र थप छलफल गर्ने र शीर्ष नेताहरुले एक-दुई दिनमा टुङ्गो लगाउने सहमति भएको नेता गुरुङले बताए । निर्वाचनको मिति भने मन्त्रिपरिषद्ले तोक्ने बैठकमा सहमति भएको छ ।

यसैगरी कोभिड–१९ को सङ्क्रमणको चुनौतीका बाबजुद यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचन कसरी सफल बनाउने भन्ने विषयमा समेत बैठकमा छलफल भएको थियो ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समन्वयमा भएको बैठकमा सत्तारूढ गठबन्धन दल कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्षनेता सहभागी थिए ।

राष्ट्रियसभाका एकतिहाइ सदस्यको निर्वाचन माघ १२ गते हुंदैछ भने कानूनमा स्थानीय तहका पदाधिकारीको अवधि सकिनु अगावै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

सत्तारूढ गठबन्धन दलहरुले सरकार सञ्चालनमा सहयोग गर्न कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू