शनिबार, वैशाख ८, २०८१
06:07 | १०:५२

बेलायतमा एक महिनायताकै कम संक्रमित

मृतक संख्या बढ्दै

नेपाली लिङ्क जनवरी १६, २०२२

लन्डन । बेलायतमा कोरोना संक्रमित संख्या एक महिनायताकै कम भएको तथ्यांकले देखाएको छ ।

कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ संक्रमण तीव्र रुपमा फैलिएपछि बेलायतमा महामारीयताकै बढी संक्रमित भएका थिए ।

एकैदिन दुई लाख बीस हजार भन्दा बढी संक्रमित हुँदै आएकोमा अहिले यो संख्या घटेर ८१ हजारमा झरेको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले शनिबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा ८१ हजार ७१३ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या गत वर्ष डिसेम्बर १५ पछिकै सबैभन्दा कम हो ।

योसंगै बेलायतमा कुल संक्रमितको संख्या एक करोड ५१ लाख ४७ हजार १२० पुगेको छ ।

यद्धपि कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या भने अझै उच्च छ । यहाँ पछिल्लो एकसातामा एक हजार ८४३ जनाको मृत्यु भएको छ । यो संख्या अघिल्लो साताको तुलनामा ४५ प्रतिशत बढी हो ।

गएको २४ घन्टामा २८७ संक्रमितको मृत्यु भएको छ । बेलायतमा कोरोनाका कारण हालसम्म एक लाख ५ हजार ८९९ पुगेको छ ।

यसैगरी कोरोना संक्रमणका कारण गएको २४ घन्टामा दुई हजार ४२३ जना अस्पताल भर्ना भएका छन् ।

हाल बेलायतका अस्पतालमा १९ हजार ५३९ जनाको उपचार भइरहेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’को तथ्यांकमा उल्लेख छ । त्यस्तै, ७७७ जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ ।

यसैगरी बेलायतमा ९०.५ प्रतिशतले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् भने दोस्रो मात्रा लगाउनेको संख्या ८३.२ प्रतिशत छ । बुस्टर अर्थात तेस्रो मात्रा खोप लगाउनेको संख्या पनि ६३ प्रतिशत भन्दा बढी छ ।

बेलायतमा नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ संक्रमण तीव्र हुँदा स्वास्थ्य क्षेत्र लगायत विभिन्न ठाउँमा कर्मचारी अभाव भएपछि सोमबारबाट कोरोना पोजिटिभ भएका मानिसहरुले पाँच दिन आइसोलेशन बसेर पाँचौ र छैटौं दिनको नेगेटिभ ल्याटरल फ्लो नतिजा आएपछि आइसोलेशनमुक्त हुन सक्नेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू