शुक्रबार, वैशाख १४, २०८१
04:11 | ०८:५६

‘एनआरएनए यूके आर्थिक मुद्दाको सुनुवाइ अदालतकै 
कारण स्थगित’

नेपाली लिङ्क जनवरी १४, २०२२

लन्डन । एनआरएनए यूकेको आर्थिक अनियमितता सम्बन्धि मुद्दाको सुनुवाइ स्थगित हुनुमा अदालतमा समय अभाव प्रमुख कारण भएको प्रतिवादी पक्षले प्रष्ट्याएको छ ।

वादीहरुले प्रतिवादी एनआरएनए यूकेकी निवर्तमान अध्यक्ष पुनम गुरुङले थप समय मागेपछि अदालतको सुनुवाइ स्थगित भएको भन्ने जिकिर गरे लगत्तै गुरुङले त्यसमा केही सत्यता नभएको जनाइन् ।

‘न्यायाधिशले नै समय दिन नसकेपछि स्थगित भएको मुद्दालाई मैले थप समय मागें भनेर हल्ला गरिनु खेदजनक छ’, गुरुङले नेपालीलिंकसंग भनिन्, ‘अदालतमा विचाराधिन मुद्दामा न्यायमूर्तिको फैसला कुर्नुको सट्टा मिडियाबाजी गरेर केही समूह चर्चामा आउन खोजेका छन्, यसमा मेरो घोर आपत्ति छ ।’

गुरुङले सत्य कुरा बोल्न आफूलाई थप समय नचाहिने र जुनै बेला बोलाएपनि अदालत उपस्थित हुने बताइन् । ‘मैले केही अनियमितता गरेको भए पो डराउने वा पन्छने कुरा आउंछ । अर्काको पालामा अरुले तलमाथि गरे भने म किन सजायको भागीदार हुने ?’ उनको प्रश्न छ ।

गुरुङले कसैले आफ्नो व्यक्तिगत प्रतिष्ठा वा इज्जतमा आंच आउने गरि मानहानी गर्छ भने ति व्यक्तिलाई कानूनी कठघरामा समेत उभ्याउने चेतावनी दिएकी छन् ।

गत १२ जनवरीका दिन बिहान १०:३० बजे डार्टफोर्ड काउन्टी कोर्टमा तय भएको सुनुवाइ स्थगित भएको थियो ।

योगकुमार फगामी एनआरएनए यूके अध्यक्ष भएका बेला सन् २०१९ को कार्यसमितिले निर्वाचन गराउने क्रममा व्यापक आर्थिक अनियमितता गरेको दावीसहित संघका ६ जनाले एनआरएनए यूके लिमिटेड र तत्कालिन अध्यक्ष पुनम गुरुङलाई प्रतिवादी बनाइ मुद्दा दायर गरेका थिए ।

एनआरएनए यूके वर्तमान अध्यक्ष प्रेम बहादुर गाहामगर, उपाध्यक्षहरु नारायण कंडेल, मोहन कार्की र रामचन्द्र पोखरेल एवं प्रमुख संरक्षक शेरबहादुर सुनार र एनआरएनए यूके इंग्ल्याण्ड राज्य परिषद अध्यक्ष लालबहादुर गुरुङ (एलबीजेड) ले गत वर्ष ७ अप्रिल २०२० मा मुद्दा दायर गरेका हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू