बिहीबार, २५ जुन, २०२६
14:11 | १८:५६

ल्होछारका अवसरमा तमु समाज यूकेको ग्रह शान्ति तथा शुद्धीकरण पूजा

नारायण सिङ गुरुङ जनवरी १, २०२२


लण्डन । तमु समाज यूकेले ३० डिसेम्बर (पौष १५ ) बिहिबार तमुहरुको महान पर्व ल्होछार ग्रह शान्ति तथा शुद्धीकरण पूजा गरेर सम्पन्न गरेको छ। 

बरहाम पार्क वेम्बली लन्डनस्थित तमु समाज यूकेको आफ्नै भवनमा गाई वर्गलाई बिदाई र बाघ वर्गलाई स्वागत गर्ने क्रममा ग्रह शान्ति तथा शुद्धीकरण पूजा गरिएको हो ।  

पूजा स्थलमा लामागुरुहरुलाई स्वागत गरेपछि पूजा कार्यक्रम सुरुहुनु गावै महासचिव धरमबल गुरुङले ‘हेल्थ एण्ड सेफ्टि’ बारेमा जानकारी गराएका थिए। 

बिहान ११ बजेदेखि तमु समाज यूके अध्यक्ष शिवकुमार गुरुङ, आमा समूहकी अध्यक्ष श्रीमती उमा देवी गुरुङ, समाजका जेष्ठ नागरिक गुमान सिङ गुरुङ र पूजा कार्यक्रम संयोजक हारिमान गुरुङले संयुक्त रुपमा द्विप प्रज्वलन गरि पूजा कार्यक्रम आरम्भ गरेका थिए। 

उक्त धार्मिक तथा परम्परागत पूजा कार्यक्रमलाई समाजका अध्यक्ष शिव कुमार गुरुङले सर्वाङ्गीण रूपमा नेतृत्व गरेका  थिए भने समाजको खाद्य तथा स्पोर्ट्स संयोजक हरिमान गुरुङले अरू बाँकी सम्पूर्ण व्यबस्थापकीय कार्य संयोजन गरेका थिए। 

त्यस्तै हरिमान गुरुङकै व्यबस्थापन र आग्रहमा बिसीसी यूकेका धर्मगुरुद्वय खेन रिम्पोछे थुप्तेन गुरु र अर्को लामा गुरु सानु लामाले पहिलो पटक बेलायतमा बिसीसी गुम्बा परिसरबाट बाहिर निस्केर तमु समाज यूके नेपलिज कम्युनिटी सेन्टरमा अत्यन्तै प्रभावकारीरूपमा बिधिपूर्वक ग्रह शान्ति र शुद्धीकरण पूजा सम्पन्न गरेका हुन् ।

समाजले बेलायतमा ओमिक्रोन भेरियन्ट एकदम बढेका कारण पूर्व निर्धारित ८ जनवरीको तो ल्होछार कार्यक्रम रद्द गरेपनि  पूजा कार्यक्रम यथावत नै सञ्चालन गरेको थियो। 

पूजा कार्यक्रममा भने स्वतस्फूर्तरूपमा भक्तजनहरूको उल्लेख्य  उपस्थिति थियो । पूजा कार्यक्रम दुई चरणमा भएको थियो। प्रथम पूजा कार्यक्रम स्व. खुशीमान गुरुङ स्वर्गरोहण भएको १ बर्षे पुन्यतिथिको द्विप प्रज्वलन कार्यक्रम थियो। 

उक्त कार्यक्रममा स्वर्गीय खुशीमान गुरुङकी श्रीमति पन्जा गुरुङ र छोरा सुदन गुरुङ तथा विभिन्न ठाउँवाट आएका आफन्तजनहरुको उपस्थितिमा धर्मगुरुहरुले पूजापाठ तथा द्विप प्रज्वलन गरि समापन गरे। 


स्व. गुरुङ तमु समाजका आजीवन सदस्य तथा पाचौं कार्यसमितिका सकृय सदस्य थिए । पहिलो पूजा समापन पस्चात दोस्रो भागमा तमु समाज यूकेले ल्होछारको पावन अबसरमा हरेक बर्ष गरिने ग्रह शान्ति तथा शुद्धीकरण पूजा बिहान झण्डै ११ बजे आरम्भ गरिएको थियो। 

खेन रिम्पोछे थुप्तेन गुरुले दोस्रो भागमा समयमा गरिने पूजाको बारेमा शंक्षिप्त जानकारी तथा प्रवचन दिए पस्चात बिधिपूर्वक  ग्रह शान्ति तथा शुद्धीकरण पूजा दिउँसो झण्डै ३:३० बजेतिर समापन गरिएको थियो ।

पूजा कार्यक्रमको अन्तमा समाजका कोषाध्यक्ष खेम बहादुर गुरुङले स्वतस्फूर्तरुपले नगद तथा जिन्सी प्रायोजन गर्नेको नामावली वाचन गरेका थिए भने समाजका अध्यक्ष शिव कुमार गुरुङले पूजा संचालन गर्ने धर्मगुरुहरु, कार्यक्रम संयोजक तथा आयोजक समितिका सदस्यहरु, आमा समूह, उपस्थित सम्पूर्ण भक्तजनहरुलाई र आफू उपस्थित हुन नसकेपनि पूजा कार्यक्रमलाई आर्थिक सहयोग गर्ने सम्पूर्ण ब्यक्तित्वलाई धन्यवादसहित आभार ब्यक्त गरे ।

 

उक्त पूजा कार्यक्रममा उपस्थित भक्तजनहरूका लागि स्वादिष्ट खाना तथा पेय पदार्थ सम्पूर्ण रूपमा आमा समूहकी  अध्यक्ष श्रीमती उमा देवी गुरुङ, श्रीमती पन्जा गुरुङ र आमा समूहका पूर्व उपाध्यक्ष श्रीमती पुष्पा गुरुङले संयोजन तथा प्रयोजन गरेका थिए।

कार्यक्रममा श्रीमती पन्जा गुरुङले पति स्व. खुशीमान गुरुङको एक बर्षे पुण्य तिथिको स्मृतिमा तमु समाज यूकेलाई ६३५ पाउण्ड दान प्रदान गरेकी छन् ।

पूजा कार्यक्रममा ओमकार गुरुङले फोटोग्राफी तथा भिडियोग्राफी व्यवस्था गरेका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू